जनताबाट अपेक्षा भन्दा बढी सहयोग पाएको छु



गोबिन्द पन्थी
प्रमुख, महानगरीय प्रहरी प्रभाग सांखु

प्रहरी प्रभाग साँखुका प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ प्रहरी निरीक्षक गोबिन्द पन्थी । प्रहरीमा २ दशक भन्दा बढी समय ब्यतीत गर्नु भएका पन्थी एउटा कुशल प्रहरी अधिकृतको रुपमा समेत चिनिनुहुन्छ । अपराध अनुसन्धानमा दख्खल राख्नुहुने प्रहरी निरीक्षक पन्थीसंग नेपाल समाचारपत्रकालागि दीपक रिजालले गरेको कुराकानीको सारसंक्षेप :

तपाई साँखु प्रभागमा कहिले देखि कार्यरत हुनुहुन्छ ?

म प्रहरी प्रभाग साँखुमा भदौ ४ गते हाजिर भएको हुँ म आएको चार महिना भन्दा बढी भयो । अहिले यहां जनताको सुरक्षामा खटिएको छु । जनताबाट अहिले हरेक क्षेत्रमा सहयोग पाएको छु ।

तपाई आफु प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा रहनु भएको व्यक्ति अन्य प्रहरी आकर्षक ठाँउमा जान हानथाप गरेको सुनिन्छ तर तपाई उपत्यकाको कुनामा रहेको कार्यालयमा आउनुको पछाडी कुनै कारण छ कि विभागले खटाउदा यो ठाँउमा परेर आउनु भएको हो ?

हो म कर्मचारी प्रशासन शाखामा करीव १६ महिना वसे । हामी त्यहाँ खटिएर आउदा लामो समय देखि कर्मचारीको सरुवा वढुवा रोकीएको थियो । वर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट कर्मचारीको मनोबल उच्च पार्न भेदभाव रहित तरीकाले कर्मचारीको पायक पर्ने ठाँउमा राईट म्यान राइट प्लेसको अवधारणाले काम कारवाही गर्नु भन्ने निर्देशन दिनु भएको थियो ।

त्यसैले हामीहरुले १६ महिनाको अवधीमा करिव ३१,हजार प्रहरी कर्मचारीको सरुवा भयो । सो अवधीमा करिब १० हजार प्रहरी कर्मचारीको वढुवा भयो । समग्रमा धेरै प्रहरी कर्मचारी अनुकुल स्थानमा सरुवा पाउदा खुसी देखिनु हुन्थ्यो । कर्मचारीको पिर मर्का र गुनासोको यथोचित सम्वोधन गरीएको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनस्तरमा जोडिएर मात्र सही सूचना प्राप्त गर्न सकिन्छ र जनतासंगको सुमधुर सम्बन्धले शान्ति सुरक्षा सहज रुपले गर्न सकिन्छ र अपराध रोकथाम र नियन्त्रणमा सही सूचना प्राप्त गर्न सकिन्छ भन्ने मान्यतामा आधारित भएर नै मैले हरेक स्कुलमा चेतनामुलक कार्यक्रम गर्ने गरेको छु ।

करीव १६ महिनाको बसाई पश्चात फिल्ड मै गई कानुन कार्यान्वयन गर्न, जनतासंग हातमा हात मिलाएर काम गर्नु पर्छ भन्ने मनमा थियो । मलाई अनियमिततामा संलग्न भई धन सम्पति जोड्नु थिएन र मेरो बानी पनि विगत देखि यस्तो थिएन । म गत साल सालिनदी मेला आउदा बाटोको अवस्था देखेर विरक्त लागेको थियो करीव २ घण्टा म साँखु मै बाटो हिलो भएर गाडी जान नसकी जाममा परेको अनुभव थियो।

त्यसैले के कारणले यी बाटा नबनेको रहेछन भन्ने पनि जान्न इच्छा थियो । त्यसमा आफ्नो केही योगदान गर्न पाए हुने थियो भन्ने पनि थियो । वातावरण साह्रै स्वच्छ मनमोहक भएको देखेको थिए र सरुवाको दौडानमा मेरो नाम त्यही ठाँउमा प्रस्तावित भएको देख्दा मैले मेरो भावना अनुसार नै भएकोले यस प्रभागमा आइ पुगे । अहिले यहांको जनतासंग प्रत्यक्ष सरोकार गर्ने मौका पाएको छु ।

तपाइको कार्य क्षेत्र कति छ ? शान्ति सुरक्षा कायम गर्ने क्रममा कुनै अप्ठ्यारा केही छ की छैन ?

यस प्रभागले शंखरापुर नगरपालिका पुरै र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ यस कार्यालयको मुख्य कार्यक्षेत्र हो भने कागेश्वरी मनोहराका वडा नं. ३,४ र ५ थली प्रभागले हेर्दछ त्यो पनि हाम्रै मातहतमा पर्ने हुँदा अप्रत्यक्ष निगरानी त्यसमा समेत गर्नु नै पर्छ । भौगोलिक हिसावमा करिव १ सय बर्ग किलो मिटर यस प्रभागको जिम्मेवारी क्षेत्रमा पर्दछ ।

यस ईलाका प्राकृतिक रुपले जति सुन्दर छ यस क्षेत्रमा रहने स्थानीय बासिन्दा साह्रै असल हुनुहुदो रहेछ । यँहाका राजनैतिक दलमा पनि समन्वय र सहकार्यको संस्कृति रहेछ । गलत कार्य गर्ने लाई प्रोत्साहन गरेको मैले पाईन । तसर्थ शान्ति सुरक्षा कायम गर्न सजिलो भएको छ । हामीले यहांका जनतालाई जति सुरक्षा दिनुपर्ने हो त्यो दिइराखिएको छ ।


तपाईको ईलाकामा घट्ने मुख्य अपराध के के रहेछन ? अपराधको प्रबृत्ती कस्तो पाउनु भयो ?

यस इलाकामा मुख्यतया नेवार र तामाङ जातिको बाहुल्यता रहेको र अन्य जातजातिका समुदाय पनि उल्लेखनीय संख्या भएकाले समाज मिश्रित रहेको छ । वडा नं. ६,७ र ९ शहरी क्षेत्र नै मान्नु पर्छ । अन्य वडाहरु उपत्यकामा भए पनि विकट छन । यस कार्यालय बाट पैदल ३ घण्टा समेत लाग्ने ठाँउ छन ।

बाटोको पहुँच पुगे पनि सार्वजनिक गाडी नियमित नचल्ने हुँदा कहिले काहि ठुला घटना घट्दा पुग्न समय लाग्ने नै भयो । अपराध खासै छैनन भन्दा पनि हुन्छ । म आए देखि यस एरियामा कुनै चोरीका घटना भएको छैनन । उपत्यकाको मुख्य समस्या चोरी हो तर यहा त्यस्तो भएको छैन । मादक पदार्थको सेवन गर्ने, आपसमा झै–झगडा बाहेक ट्रेनको रुपमा स्पेसीफिक कुनै अपराध घटेको देखिदैन ।

तपाईले यहा आए पछि गरेका उल्लेखनिय काम कारवाहि के के छन त ?

म आए पछि मुख्यरुपमा वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ल्याउनु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनस्तरमा जोडिएर मात्र सही सूचना प्राप्त गर्न सकिन्छ र जनतासंगको सुमधुर सम्बन्धले शान्ति सुरक्षा सहज रुपले गर्न सकिन्छ र अपराध रोकथाम र नियन्त्रणमा सही सूचना प्राप्त गर्न सकिन्छ भन्ने मान्यतामा आधारित भएर नै मैले हरेक स्कुलमा चेतनामुलक कार्यक्रम गर्ने र जनस्तरमा समेत विभिन्न आमा समुह, टोल सुधार समिति,क्लव लगायतका संघ संस्था संग अन्तरकृयाहरु गर्दै आएकोमा हाल सम्म त्यस्ता ४० वटा कार्यक्रमहरु भइ सकेका छन भने अपराध नियन्त्रणको सन्दर्भमा ३ वटा जबरजस्ती करणी मुद्धा चलाएकोमा हाल पुर्पक्षको लागि थुनामा छन भने विगत १७ बर्ष देखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका धादिङ घर हुने गोम लामालाई पक्राउ गरिएको छ ।

गैरकानुनी तरीकाले वन्यजन्तुको शिकार गर्ने जीवनकुमार तामाङ लाई हातहतियार खरखजना मुद्धा चलाइएकोमा उनी पनि पुर्पक्षका लागि थुनामै छन । लागू औषधको कारोवारमा संलग्न भारतीय नागरिक राकेश शाह र दीपक तामाङ लाई मुद्धा चलाइएकोमा दुवै जना पुर्पक्षकालागि थुनामै छन ।

म हाजिर भएको एक हप्तामै मध्यरातमा चोरीको योजना वनाउदै गर्दा ४ जनालाई पक्राउ गरी कारवाहि गरिएकोले चोरी घटना हाल सम्म शुन्य नै छन । अवैध काठको कारोवार गर्ने २ वटा अवैध काठ बोकेका गाडी समेत नियन्त्रण गरी कारवाहीको लागी पठाइएको थियो ।

अवैध वालुवाको गाडी ६० वटा पक्राउ गरी नगरपालिकालाई बुझाइएकोमा करीव ७,लाख जरीवाना गराई स्थानीय निकायको आयस्रोतमा समेत टेवा पुर्याइएको छ । म आए देखि ४१ वटा मुद्धा बुझाइएकोमा कारवाही प्रक्रियामा नै छन ।

आज सम्म कुदै दलका नेता तथा कार्यकर्ताले यो हाम्रो मान्छे हो हेरिदिन पर्यो भनेर सिफारिस गरेका छैनन । म यहां सबै दलका नेता तथा कार्यकर्तासंग मिलेर नै अगाडि बढेको छु ।

यस क्षेत्रमा पनि राजनीतिक दलका नाममा गुण्डागर्दी गर्ने गिरोह सक्रिय छ भन्ने सुनिन्छ नि ?

म यस क्षेत्रमा सरुवा भएर आएको ४ महिना भयो अहिले सम्म मेरो अगाडि कुनै पनि गुण्डाहरु दलका नेताको नाम लिएर म कहां आउने हिम्मत गरेका छैनन । मलाई आज सम्म कुदै दलका नेता तथा कार्यकर्ताले यो हाम्रो मान्छे हो हेरिदिन प¥यो भनेर सिफारिस गरेका छैनन ।

म यहां सबै दलका नेता तथा कार्यकर्तासंग मिलेर नै अगाडि बढेको छु । कसैले पनि नाजायज कामकालागि सिफारिस आएको छैन र आए पनि म नाजायज रुपमा आउने सिफारिसको काम गर्ने छैन । मैले यहां आएदेखि नै भनेको छु कसैले नाजायज फाइदा उठाउने किसिमले कुनै हर्कत गरेको भए खवर गर्न आम नागरिकलाई पनि आग्रह गरेको छु ।

यहां बालुवाखानी धेरै छन बालुवाको तस्करी गर्ने गिरोह सक्रिय छ भन्ने सुन्निछ नि । तपाईलाई प्रभाव पार्न आउछन होला नि ?

यहां बालुवाखानीहरु नभएका होइनन । बालुवाखानीहरु थुप्रै छन । सबै स्थानीय निकायबाट स्वीकृती लिएर संचालनमा आएका छन । गैर कानुनी रुपमा संचालनमा आएका बालुवाखानीलाई हामीले उत्खनन गर्न रोक लगाएका छौ ।

गैर कानुनी ढंगले बालुवा निकाल्ने ६० वटा सवारी साधनलाई हामीले समतेर स्थानीय निकायमा बुझाएका छौ । स्थानीय निकायले ती ६० वटा सवारी साधनबाट ७ लाख भन्दा बढी राजश्व स्थानीय निकायले संकलन गरेका छन । मलाई आज सम्म बालुवाको बारेमा कोही कसैले पनि केही भन्ने हिम्मत गरेका छैनन ।

फरक प्रसंग २४ सै घण्टा डिउटीमा रहने प्रहरी कर्मचारीले के –कसरी परिवारलाई समय दिन्छन ?

हामी प्रहरीहरु जागिरमा प्रवेश हुँदा र हाम्रो तालिम ले नै हामीलाई हाम्रो समय सम्पुर्ण जनताको सुरक्षाको लागि हो र नेपाल सरकारको कानुन कार्यान्वयनमा दत्तचित्त रहनु पर्छ भन्ने कुरामा हामी मानसिक रुपले तयार भएका हुन्छौ ।

परिवार पनि आफ्नो मान्छे प्रहरीको जागीरे हो भने पछी २४ सै घण्टा जनताको सेवामा समपित हुनु पर्छ भन्ने भए पछी खासै घरायसी कार्यमा हामीलाई खोज्ने गरिदैन । अन्य कुरात विशेष परिस्थिती वाहेकको अवस्थामा पाईने विदाबाट मिलाउने हो । बिगत देखि त्यसरी नै मिलाईदै आएको छ ।

तपाईको पारिवारमाको को हुनुहुन्छ ? तपाईले साथ दिएर २ जना बच्चा भए पनि तपाईको श्रीमती उदाहरणिय महिला भन्दै शाखा अधिकृतमा नाम निकाल्ने क्रममा समाचार आएका थिए ? २४ सै घण्टा डिउटीमा रहदा के कसरी साथ दिन सक्नु भयो र त्यत्रो सफलता मिल्यो ?

हाम्रो परिवारमा मेरो वुवा हुनुहुन्छ । आमाको स्वर्गवास भै सक्यो । हामी ३ भाई २ दिदीवहिनी हो । मेरो माईलो दाजु नर्बेजियन युनिभर्सिटी अफ साईन्सएण्ड टेक्नोलोजीको प्रोफेसर हुनुहुन्छ । अहिले नर्बेमा नै हुनुहुन्छ । जेठो दाजु नेपाल सरकारको अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । २ दिदीहरु घर गृहस्ती मै हुनुहुन्छ ।

पारिवारीक वातावरण दिने र सम्बन्धित ले गर्छु भन्ने ईच्छा शक्ति राख्ने हो भने असंम्भव केही हुदैन । मैले २०६० सालमा प्रविणता प्रमाणपत्र पढदै गरेकी शारदा जीसँग द्धन्दकालमै गुल्मी सदरमुकाम मै गएर विवाह गरेको हुँ । त्यती खेर द्धन्द्ध भएकोले घर समेत लैजान सकिन । पछी श्रीमतीलाई सँगै काठमाडौ ल्याए । उनि पढनमा रुची राख्थीन ।

हाम्रो परिवार पनि शिक्षीत नै भएकोले पढ्ने प्रेरणा मिल्यो, उनले पढदै गईन वावु गौरव र नानी स्मृती जन्मिए । पालन पोषण सँगै उनले मास्टर डिग्री पास गरिन । साथ साथै लोक सेवा तयारी गरिन । सुरुमा नासुमा २०७० सालमा पास गरिन त्यती खेर म अर्घाखाँची जिल्लामा खटिएको थिए । पछी २०७५ सालमा उनी शाखा अधिकृत बनिन । त्यतिखेर अली भिन्नै परिस्थिती थियो ।

म प्रहरी प्रभाग पुल्चोकमा रहदा एक महिला लाई न्याय दिने क्रममा एक भारतिय नागरीकलाई कारवाही गरेकोमा भारतिय नागरीकका काल्पानिक कुराको भरमा मलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । मलाई त्यतिखेर खासै जिम्मेवारी नदिइएकोले त्यो समय मैले पुरापुर घरमा समय दिन सके । बच्चा बच्ची को हेरचाहा देखि सम्पुर्ण घरको काम गर्ने मैले समय पाए ।

त्यही समयको सदुपयोग शारदाले गर्न सकेको कारण उनलाई सफलता मिल्यो । त्यस बखत हरेक चुनौतीले अवसर लिएर आउछ भन्ने उक्ती हाम्रो सन्दर्भमा साच्चिकै यर्थार्थतामा परिणत भएको थियो । तसर्थ काल्पनिक आधारमा अभियुक्तको कुरा सुनेर एक व्यवसायिक अधिकृतलाई हठात तानिएको भएपनि तत्कालिन प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई यस मामिलामा बिशेष धन्यवाद दिनै पर्छ किनकी उहाँले गर्दा नै मैले समय पाए र त्यो समय घर परिवारमा उपयोग गर्न पाईयो परिणाम स्वरुप मेरो श्रीमती शारदा मरासिनी शाखा अधिकृत बन्न सफल भईन ।

अन्त्य तपाईको भन्नु केही छ की ?

प्रहरीको जागीर भनेको जनतामा समर्पित सेवा नै हो, हामी २४ सै घण्टा जनताको सुरक्षामा खटिएका हुन्छौ । हाम्रो सम्पुर्ण चाडवाड परिवारमा नभै जनता सँगै हुने गर्दछ । त्यसैले जनताको खुसीनै हाम्रो खुसी हो ।
हाल म शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको केही भागको शान्ति सुरक्षा र अपराध रोकथाम नियन्त्रण तथा कारवाही मेरो मुख्य जिम्मेवार भएकोले यस एरियाका जनसमुदायमा प्रहरीबाट भए गरेको कमीकमजोरी पनि औल्याई दिनु हुन समाजमा रहेका घटेका अपराधिक घटना एंव क्रियाकलाप र शंकित व्यक्तिहरु आई आफ्नो टोल छिमेकमा शंकास्पद गतिबिधि गरेको जानकारी भएमा प्रहरीलाई १००, अथवा यस एरियाको हकमा साँखु प्रभागको ९८५१२८३००५, ९८५१२८८००५ मा खवर गर्नु भई असल नागरिकको भुमिका निर्वाह गर्न अनुरोध गर्दछु ।

तपाई हामी मिलेर सहकार्यले अगाडी बढ्यो भने अपराध रहित समाजको निर्माण हुन सक्छ । त्यही अवधारणा अन्तर्गत यस एरियामा रहेको सडक विस्तार एंव निर्माण कार्यमा समेत हामीले जनहितलाई मध्यनजर राखी आवश्यक सहयोग गरेका छौ ।

प्राकृतिक रुपले यति सुन्दर, सास्कृतिक बिबिधताले भरीपुर्ण र ऐतिहासिक बज्रयोगीनी मन्दिर र सालिनदी जस्ता धार्मिक स्थल भएको यो ठाऊ र यस ठाऊमा रहेका जनताको भविष्य उज्वल छ । सम्पुर्णमा विकास र समृद्धी सहितको अपराध रहित समाज निर्माण अभियानमा एक आपसमा हातेमालो गरी अगाडि बढ्न हामी प्रतिबद्ध छौ र यहाँहरुलाई समेत त्यही आग्रह गर्न चहान्छु ।

प्रतिक्रिया दिनुहोस्