‘सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर नै सेवा प्रवाह गरिरहेका र्छौं’ 



छबिलाल सुबेदी 

सहायक प्रमुख जिल्ला अधिकारी, पर्वत

पर्वत जिल्ला प्रशासन कार्यालयमा अहिले नागरिकता लिन जानेहरु फाँटमै बसेर नागरिकतामा सही गरिरहेको देखेपछि छक्क पर्छन । प्रमाण पुगेर आएका नागरिकता पाँच मिनेटमै पाउँदा सेवाग्राही दंग पर्ने नै भए । फाँटमै बसेर एकै ठाउँबाट सेवा दिने देखि विकास आयोजनामा भएका अवरोध र समस्या समाधान गर्न निरन्तर लागि रहने स्वभावका कारण पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीको सेवा प्रबाहलाई सबैले प्रशंसा गर्छन । नागरिकलाई सेवा दिन चित्तबुझो जवाफ र समयमा नै काम गर्ने हो भने सहजै काम गर्न सकिन्छ भन्ने बिश्वास राख्ने सुबेदीसंग नेपाल समाचारपत्रका पर्वत संबादददाता दुर्गाप्रसाद शर्माले गरेको कुराकानीको सम्पादित अंश :

सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पर्वत जिल्लामा काम गर्दा तपाईंले कस्तो अनुभव गर्नुभएको छ ?

म पर्वत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा २०७५ चैत १८ देखि कार्यरत छु । यो जिल्ला साविक धौलागिरी अञ्चलको प्रवेश द्धारका रुपमा रहेको देशकै सानो जिल्ला हो । यहाँ सेवा प्रवाह गर्न चर्चा गरिए जस्तो अफ्ठ्यारो देखिदैंन ।
मैले कामकाज तथा अन्य हिसाबका दृष्टिकोणबाट सहज नै पाएको छु । साथै मेरो गृह जिल्ला भएकोले समेत मलाई कामकाज गर्न त्यति असजिलो महसुस भएको छैन । यस जिल्ला मानव विकास सूचकांकाका दृष्टिले समेत देशकै उच्च तहमा रहेबाट समेत सबै कुरामा अधिकांश नागरिकहरु आफूले लिने सेवाका विषयमा सचेत रहनुभएको मैले महसुस गरेको छु ।
त्यस्तै यस जिल्लामा  २२० केभिको दाना–खुर्कोट कालीगण्डकी करिडोर प्रसारण आयोजना, १३२ केभिको नयाँ मोदी लेखनाथ प्रसारण आयोजना, मिडिल मोदी हाइड्रोपावर क.लि., तल्लो मोदीखोला जलविद्युत आयोजना, उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग लगायतका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना धमाधम निर्माण भईरहेका छन् ।

तपाईंले धेरेै ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्नुभयो ? अरु जिल्ला र आफ्नै गृह जिल्ला पनि भएको पर्वतलाई कसरी मूल्यांकन गर्नुहुन्छ  ? 

मेरो निजामती सेवाको दौरानमा विभिन्न निकाय र संस्थमा रहेर सेवा प्रवाह गर्ने अवसर पाएँ । म गृह मन्त्रालय र अन्तर्गतका विभिन्न जिल्ला प्रशासन कार्यालयमा रहेर सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कामकाज गरें । मैले मुस्ताङ, बागलुङ र पर्वत गरी तीन जिल्लामा सहायक प्रजिअका रुपमा कामकाज गर्ने अवसर पाएँ ।
शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रतिव्यक्ति आय जस्ता सूचक यस जिल्लामा अब्बल रहेकोले यहाँका आम सर्वसाधरण व्यक्तिहरु सचेत हुनुहुन्छ । जसका कारणबाट राज्यका तर्फबाट प्रवाह गरिने दैनिक सेवा तथा अन्य विकास निर्माणका कामकाजमा आफ्नो उपस्थिति खोज्नु स्वभाविक हो ।
कतिपय सबालमा आफ्नो हक अधिकार प्रति बढी सचेत रहँदा छलफल अन्तरक्रिया हुनु स्वभाविक हुन्छ । पर्वत जिल्लालाई जसरी बाहिर काम काज गर्न कठिन जिल्ला हो भनेर चर्चा गर्ने गरिन्छ त्यो यहाँ कामकाज गर्दा भेटिंदैन । मैले हालसम्म सम्पूर्ण सरोकारवाला निकाय, व्यक्ति र संस्थाको तर्फबाट सहयोग पाइरहेको छु । जसरी अन्य जिल्लामा रहँदा सहज तवरबाट कामकाज भएको थियो आफ्नो गृह जिल्ला पर्वतमा समेत मैले सामान्य नै रहेको महसुश गरेको छु ।

राष्ट्रिय गौरवका आयोजना र खासगरी विद्युत आयोजना तथा प्रसारण लाइनमा पटक पटक समस्या आउँछन, तपाईं वार्तामा जानुहुन्छ,  यस बिचमा समस्याहरु कसरी समाधान गर्नुभयो ?

प्रमुख जिल्ला अधिकारीले विकास निर्माण कार्यमा हुने विवादहरुको व्यवस्थापनका लागि मलाई फोकल पर्सन तोक्नु भएको छ । सोही अनुरुप मेरो पहलमा यस जिल्लामा सञ्चालित विकास आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नका लागि सम्बन्धित पक्षलाई झकझकाउने कार्य गरिएको, अनुगमन निरीक्षण गरी बेलाबखत उत्पन्न हुने विवादलाई तत्कालै यस कार्यालयको खासगरी प्रमुख जिल्ला अधिकारीले मलाई नै फोकल पर्सन तोकी मेरै अगुवाईमा समन्वयकारी बैठक आयोजना गरी निरुपण गर्ने गरिएको छ ।
त्यस्तै यस जिल्लामा  २२० केभिको दाना–खुर्कोट कालीगण्डकी करिडोर प्रसारण आयोजना, १३२ केभिको नयाँ मोदी लेखनाथ प्रसारण आयोजना, मिडिल मोदी हाइड्रोपावर क.लि., तल्लो मोदीखोला जलविद्युत आयोजना, उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग लगायतका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना धमाधम निर्माण भईरहेका छन् ।
कहिले काहीं मुआब्जा लगायत अन्य विषयमा उत्पन्न हुने विवादलाई प्रत्यक्ष रुपमा अनुगमन, निरीक्षण गरी उत्पन्न विवादहरु समाधान गरी अघि बढिरहेको अवस्था छ । जिल्लामा सञ्चालित अन्य विकास निर्माणका कामहरु समेत नियमित भए नभएको विषयमा हाम्रो सूक्ष्म निगरानी र खबरदारी रहिरहेको छ । समग्रमा यस जिल्ला भूगोलले सानो भए पनि विकास निर्माणका हिसाबले राष्ट्रिय रुपमा स्थान पाएको मैले महसुश गरेको छु । यी सबै विकास आयोजनाहरु सहज तवरले निर्माण भइरहेका छन ।

विकास आयोजनाहरु अनुदार हुन कि स्थानीयबासीहरु विकास विरोधी तपाईलाई के लाग्छ  ?

  पर्वत जिल्ला भूगोलले देशकै सानो जिल्ला हो । केही वर्षदेखि यस जिल्लामा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरु जस्तै जलविद्युत आयोजना, प्रसारण लाईन, सडक आदि निर्माणाधीन रहेका छन् । यी आयोजनाहरु निर्माण गर्नका लागि मुआब्जा लगायतका निर्णयहरु गर्नु आवश्यक हुन्छ ।
नागरिकहरुले पुस्तौंदेखि आफूले भोग चलन गर्दै आएको आफ्नो सम्पत्ति राज्यलाई हस्तान्तरण गर्ने सवालमा आफ्नो जग्गाको मूल्यांकन रामैसँग होस भन्ने अपेक्षा रहेको हुन्छ । जुन स्वाभाविक हो र यसको उचित ढंगले समाधान गर्नकालागि विभिन्न सुचकहरुलाई आधार मानेर हामीले नागरिकको पक्ष र आयोजना दुवै पक्षलाई मर्का नपर्ने गरी उचित निर्णयमा पुग्ने गरिएको छ ।

कहिले काहीं सेवा सुविधा र अवसरका विषयलाई लिएर आयोजना पक्ष र नागरिकहरु बीच सामान्य विवाद हुने गर्दछ । यसलाई समेत हामीले दुवै पक्षलाईसँगै राखी छलफल गराई निष्कर्षमा पुग्ने गरिएको छ ।
नागरिकता, राहदानी, विविध सिफारिस लगायतका काम जिल्ला प्रशासन कार्यालयबाट वितरण गर्दा कसरी सेवाग्राही मैत्री काम भएका  छन् ?
 मलाई प्रमुख जिल्ला अधिकारी  ज्यूबाट अधिकार प्रत्यायोजन भए अनुसार यस कार्यालयबाट वितरण गरिने नागरिकता प्रमाण पत्रको हकमा सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सदरमुकासम्म आई सेवा लिन नसक्ने सेवाग्राहीहरुलाई मध्यनजर गरी कार्यालयबाट स्थलगत रुपमै वार्षिक रुपमा कम्ती २ पटक एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
राहदानीको हकमा हाल सेवाग्राहीले राहदानी दस्तुर राजश्व बैंक मार्फत भुक्तानी गर्ने प्रणालीलाई यस कार्यालयबाट छुट्टै राजश्व काउण्टर खडा गरी राजश्व लिने व्यवस्था मिलाइएको छ । साथै कार्यालयबाट प्रदान गरिने अन्य शाखागत कार्यहरुका लागि आवश्यक निवेदनहरु निशुल्क रुपमा नागरिक सहायता कक्षबाट प्रदान गरी सेवा प्रवाहका क्रममा विचौलियाहरुको प्रवेशलाई निरुत्साहित गरिएको छ ।
साथै प्रत्येक शाखाबाट हुने सेवाप्रवाहका लागि आवश्यक कागजातहरुको विवरण तयार पारी संक्षिप्त नागरिक बडापत्र तयार गरी सम्बन्धित शाखामा टाँस गरिएको छ । समग्रमा हामीले सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर नै सेवा प्रवाह गरिरहेका र्छौं ।

धेरै स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभयो, स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको काम गर्ने शैली कस्तो हुनुपर्छ ? कसरी प्रभावकारी रुपमा उत्कृष्ट काम गर्न सकिन्छ ?

  मैले यस भन्दा अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेर छिमेकी जिल्ला म्याग्दीका बेनी नगरपालिका र मालिका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रहेर कार्य सम्पादन गर्ने अवसर पाएँ ।
देश संघीयतामा भर्खर गएको अवस्थामा त्यहाँ विकास निर्माणका कामसँगै विभिन्न कानून तर्जुमा गर्नु पर्ने थियो ।यस्तो संक्रमणकालीन अवस्थामा न्यून कर्मचारीको उपलब्धता र साधन श्रोतको अभावका बावजुद पनि मैले उपलब्ध समयको अधिकतम उपयोग गरी व्यवस्थापनमा खटिएँ ।
निर्वाचित भएका जनप्रतिनिधिहरुको महत्वकांक्षा स्वभावतः बढीनै हुने गर्दछ, किनभने निर्वाचनका समयमा जनतासँग गरेको कबुल पूरा गर्ने लक्ष्य उहाँहरुको हुने र कर्मचारीले एउटा निश्चित विधि र कानुन अनुसार काम गर्नु पर्ने हुनाले कता कता टकराव र बेमेल जस्तो स्थिति देखिने गर्दछ, यद्यपि मैले प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा कर्मचारी साथीहरु र जनप्रतिनिधिबीचमा समन्वयकारी भूमिका निर्वाहा गरी कामकाजलाई अगाडि बढाउने काम गरेँ ।

प्रतिक्रिया दिनुहोस्