‘राजधानीको छायाँले गर्दा ललितपुरको विशेषता ओझेलमा’



कृष्णलाल महर्जन
अध्यक्ष

ललितपुर उद्योग वाणिज्य संघ

ललितपुर सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला हो । नेपाल भ्रमण वर्ष शुभारम्भ हुने दिन नजिकिँदै गरेको छ । ललितपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितसंगै ललितपुरको सांस्कृतिक, सम्पदा विकासमा कार्यहरुमा पनि आफ्नो उपस्थिति देखाउँदै आएको छ । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा गठित भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भिमसेन मन्दिर पुनःनिर्माण कार्य गरिरहेको छ । यसै सन्र्दभमा संघका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अशं:

अहिले लगानीमैत्री वातावरण बनेको छ त ?

दुई तिहाईको सरकार बनेपछि लगानीमैत्री वातावरण बन्नेमा निजी क्षेत्र निकै आशा गरेको थियो, तर यस दिशामा मुलुक अपेक्षाकृत तवरले अघि बढिरहेको अनुभूत गर्न सकिरहेको छैन । शासन व्यवस्था फेरिएपनि काम गर्ने शैलीमा कुनै सुधार भएको पाइएन । नयाँ सरकारले काममा पनि नयाँपन दिनुपथ्र्यो र जसरी पनि निजी क्षेत्रको मनोबल बढाउने कार्य गर्नुपथ्र्यो ।

तर, त्यसो भएन । कर्मचारी प्रशासनको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । यसले गर्दा निजी क्षेत्र संकटको परिस्थितिबाट उम्किन सकिरहेको छैन । सुखी नेपाली र समृद्ध नेपालको नारा राम्रो भएपनि त्यसले सार्थकता पाउने आशा निराशामा परिणत हुँदै गएको छ ।

निजी क्षेत्रले अहिले के के समस्या व्यहोर्नुपरिरहेको छन् ?

देशमा शासकीय प्रणालीको परिवर्तन सँगसँगै नयाँ नयाँ ऐन कानूनहरु बन्नु र भएका ऐन कानुन परिमार्जन हुनु स्वभाविक हो । तर नयाँ ऐन कानुन बनाउने क्रममा व्यवासायीहरुलाई अनावश्यक रुपमा कस्ने कानुन बनाउने प्रयास गरेको छ । ऐन कानुन बनाउँदा र एक वर्गको सुरक्षाको लागि अर्को वर्गको हक अधिकार कुण्ठित हुनु हुँदैन ।

उपभोक्ता संरक्षणको नाममा उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवसायीहरुको हक हितको हनन त भएकै छ भने यो ऐन बनाइदा व्यवसायीहरुलाई अपराधीको नजरले हेरेर बनाइएको छ । यो त एक उदाहरण मात्र हो ।

थुप्रै ऐन कानुनहरु आएका छन् तर धेरैमा व्यवसायीहरुको हक अधिकारको हनन भइरहेको छ । अर्कोतर्फे अनावश्यक करहरु थपिएर संघीयताको मर्मलाई बदनाम गर्ने प्रयासहरु भइरहेको छ । स्थानीय तहहरु करका दर उच्च राखेर कर जसरी भएपनि कर असुल्ने ध्याउन्नमा छन् ।

 होईन, कर तिर्नुपर्ने व्यवसायीको दायित्व होइन र ?

तीन तहको सरकारलाई प्रत्येक पाइला पाइलामा कर तिर्नुपर्दा लागतमात्र बढेको छैन, झन्झट पनि उत्तिकै थपिएको छ । जरिवाना र सजायको भार यति धेरै छ कि भोलि त्यसको भार चुक्ता गर्न व्यवसाय नै छाड्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

तसर्थ, संघीयताले अवसरभन्दा बढी बोझ थपेको महशुस निजी क्षेत्रले गरिरहेको छ । यो संघीयताको मर्म विपरीत रहेको छ । वास्तविक संघीयताको उद्देश्य त राज्यको सेवा प्रवाहलाई जनताको घरदैलो सम्म पुर्याउनु हो । ललितपुरकै कुरा गर्ने हो भने संघीयता लागू भएसँगै थपिएका विभिन्न शीर्षकका करले यहाँका व्यवसायीहरु आफ्नो थातथलो नै छाडेर जानुपर्ने पो हो कि भन्ने चिन्तामा रहेका छन् ।

हामी दिनहुँ जसो हाम्रो संघको कार्यालयमा बसेर यसमा छलफल गछौं, जनप्रतिनिधिहरुसँग विचार विमर्श गरिरहेका छौ ं। करको आर्थिक भारले स्थानीय व्यवसायीहरुमा उद्यमशील हुनु कतै अभिशाप त हैन भन्ने भावना विकास भइरहेको छ ।

यतिमात्र होइन, पुख्र्यौली सम्पत्ति नै बेचेर सरकारलाई कर तिर्नुपर्ने अवस्था आउँछ कि भन्ने मानसिक त्रास आम व्यवसायीमा रहेका छन् । यस विषयमा संघ, प्रदेश र स्थानीय तहलाई संघले ध्यानाकर्षण गराउँदै आएका छौं ।

अहिले ललितपुर उद्योग वाणिज्य संघ के के कामहरु गरिरहेको छ ?

ललितपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितसंगै व्यवसायमा टेवा पुर्याउने कर शिक्षा, व्यवसायीलाई चेतना लगायत कार्यक्रमहरु गरिरहेका छौं । संघको नेतृत्वमा भिमसेन मन्दिर पुनःनिर्माण कार्य भइरहेको छ ।

संघले जिल्लाका दुवै नगरपालिका र ३ वटै गाउँपालिकासम्म विधानले दिएको म्यान्डेट अनुसार हाम्रो उपस्थिति र गतिविधि विस्तार गर्ने तयारी गरिरहेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको मेला गर्ने कार्यक्रमलाई यस पनि निरन्तरता दिने नै छौं ।

 अहिले तपाईको नेतृत्वमा भिमसेन मन्दिर पुनर्निर्माण गर्ने तयारी भइरहेको छ । मन्दिर पुनर्निमाण तपाईहरुको संलग्न हुनुको मुख्य कारण के हो ?

भिमसेन मन्दिरलाई नेवार समुदायका उद्यमी, व्यवसायीहरुले आराध्य देवताको रुपमा पुजिन्छ । भिमसेन मन्दिरको दर्शन र पुजाआजा गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास रहेको छ । भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो ।

जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल सो मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको थियो । मन्दिरको माथिल्लो तलामा गाह्रो थाम्ने थाम, दलिन र बिम भाँच्चिएको थियो । भित्ताहरू चिराचिरा परेका थियो ।

उत्तरपट्टि ढल्केको अवस्था थियो । युनेस्कोबाट आएका इटालियन विशेषज्ञले मन्दिर अत्यन्त जोखिमपूर्ण रहेको भन्दै तत्काल पुनःनिर्माण गर्न विभागलाई सुझाव दिएको थियो । प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको सँची चिन्ह लगाइएको छ ।

भूकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणका जिम्मा दिन ललितपुर उद्योग वाणिज्य संघले पुरात्तत्व विभागलाई घचघच्याउँदै आएको थियो ।सोही विषयमा संघले स्थानीयवासिन्दा, टोल सुधार समिति र जातीय समाज लगायत सरोकारवालाहरुसंग राखेर पटक पटक भेला आयोजना गर्दै आएपछि संघल पुनःनिर्माणको जिम्मेवारी पाएको हो ।यस कार्यमा स्थानीय तहले सहजीकरणको भूमिका निर्वाह गरेको थियो ।

मन्दिरको पुनःनिर्माणको लागत खर्च कसरी जुटिरहेको छ ?

पुनःनिर्माणमा चार करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । ‘सीड मनि’ को रुपमा संघले १० लाख रुपैयाँ राखेर काम शुरु गरेको थियो । अहिलेसम्म एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठबाट १ करोड रुपैयाँ प्राप्त भइसकेको छ । त्यसैगरी ललितपुर महानगरपालिका पनि १ करोड रुपैयाँ प्राप्त भइसकेको छ ।

प्रदेश नं ३ ले चालू आर्थिक वर्षमा १ करोड र ५० लाख रुपैयाँ विनियोजित गरेको छ ।विभिन्न दाताहरुबाट ५० लाख रुपैयाँ लाख रुपैयाँ जुटिसकेको छ । त्यस्तै मन्दिरको छानाको जिम्मा नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका कल्याणकृष्ण ताम्रकार, दाँची इँटा उपलब्ध गराउने जिम्मा दक्षिण बाराही इँटा उद्योगका तर्फबाट तीर्थलाल महर्जन र हिराकाजी महर्जनले जिम्मा लिएकोे छ । अब रकम अभावले मन्दिर पुनःनिर्माण कार्य रोकिने अवस्था अन्त्य भएको छ ।

तीन वर्ष कार्यकालको बाँकी एक वर्षको अवधिमा के लाई प्राथमिकतामा राख्नुहुन्छ त ?

ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको भिमसेन मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गर्नेलाई प्राथमिकतामा राखेका छौं । त्यसैगरी हस्तकलाको ३५ औं नगरीको घोषणा अनुरुप कामहरु अघि बढाउन सशक्त भूमिका निर्वाह गर्ने छौं ।

लुभुमा रहेका टेक्सटायल उद्योगलाई पनि एकीकृत गरेर अघि बढ्न सकियो भने यसबाट पनि मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । टेक्सटायल उद्योग आफैंमा ठूलो क्षेत्र भएकाले यसको संरक्षण, प्रवद्र्धन र प्रविधिगत रुपान्तरणका लागि ललितपुर उद्योग वाणिज्य संघले स्थानीय व्यवसायीहरुसँग सहकार्य गर्नेछ ।

चालू आर्थिक वर्षको बजेटमा पनि यस क्षेत्रमा प्याकेजको घोषणा गरिएकाले यसबाट व्यवसायमा पक्कै पनि केही न केही सकारात्मक प्रभाव पर्नेछ भन्ने हाम्रो विश्वास छ । ललितपुरको भौगोलिक विविधताका कारण कृषि क्षेत्रमा यसको अझै प्रचुर सम्भावना रहेको छ ।

ललितपुरमा उत्पादित दूध तथा तरकारीको अझै राम्रोसँग बजारीकरण गर्न सकिएको छैन भने आगामी दिनमा ललितपुर मै तरकारी बजार स्थापना गरेर हाम्रा गाउँ गाउँबाट सिधै कालिमाटी जाने र फेरि ललितपुरले नै त्यही तरकारी किन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

 हस्तकलाको घोषणा अनुरुप काम त खासै अघि बढेको पाइएन, किन होला ?

घोषणालाई उचित कार्ययोजना बनाउनुपर्ने मुख्य दायित्व ललितपुर महानगरपालिका हो । महानगरपालिकाले कार्ययोजना बनाउन एक कार्यदल गठन गरेको छ । चालू आर्थिक वर्षमा बजेट पनि विनियोजित पनि गरेको छ ।

तर पनि अब कसरी बढ्ने भन्ने विषयमा सरोकारवाला विशेषतः ललितपुर उद्योग वाणिज्य संघ, नेपाल हस्तकला महासंघ र ललितपुर जिल्ला शाखा र ललितपुुर महानगरपालिका लगायत अन्य सरोकारवालाबीच ठोस छलफल भएको छैन ।

घोषणा त भयो ? अब के गर्ने ? घोषणापछिको दायित्व के हो ? के कस्ता अवसर ल्याएको छ भन्ने विषयमा विषयमा सरोकारवालाहरु सबै बसेर गहन छलफल हुनुपर्ने हो । छलफल नभएका पनि होइन । ठोस रुपमा काम अघि बढ्न नसेको भने सही नै हो ।

ललितपुरलाई पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य बनाउन के गर्नुपर्ला त ?

हामी नेपाल भ्रमण वर्ष २०२० को पूर्वाद्धमा छौं । हामी आफैं पनि पर्यटकीय सहरवासी भएकाले पर्यटनलाई अझ बढी महत्व दिइरहेका छौं । यसै सन्दर्भमा हामीले भर्खरै मात्र हाम्रो सम्पदा हामी आफै बनाऔं भन्ने मुल उद्देश्यका साथ ललितपुरका ऐतिहासिक सम्पदाहरुको सरक्षण र पर्यटन प्रवद्र्धनका लागि बृहत पदयात्रा कार्यक्रमको सफलतापूर्वक आयोजना गर्यौं ।

करिब २ हजार सहभागी सो पदयात्रा कार्यक्रमले भ्रमण वर्षको जागरणलाई अघि बढाएको हामीले महशुस गरेका छौं । पर्यटनकै कुरा गर्नुपर्दा हामीले दुःखका साथ भन्नुपर्छ कि ललितपुर आउने पर्यटकलाई हामीले औसत २ घन्टाभन्दा बढी रहने वातावरण बनाउन सकिरहेका छैनौं भने काठमाडौं उपत्यकावासीलाई लक्षित गर्दै बिदा पर्यटनका लागि हामीले सम्भावना भएर पनि पूर्वाधारको अभावमा आकर्षित गर्न सकिरहेका छैनौं ।

राजधानीसंगै जोडिएको जिल्ला भएकोले हो, कि ललितपुरको मौलिकता, विशेषता सधै ओझेलमा पर्ने गरेको छ । यहाँको विशेषतालाई उजागर गर्ने कार्यहरु गर्नुपर्ने खाँचो छ । संघले यसैमा जोड दिईरहेको छ ।
विदेशी पर्यटकलाई ललितपुरमै राख्न हामीले यस क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।

ललितपुरका अन्य पर्यटकीय स्थलमा लगानीका लागि पनि हामी आह्वान गर्दछौं । यस्तै, होमस्टे लगायतको अवधारणालाई अझ प्रभावकारी रुपमा अघि बढाउने छौं । भूकम्प पछि सबैभन्दा सुरक्षित सहरका रुपमा रहेको यस ललितपुर जिल्लाको प्रचार प्रसारलाई थप तीब्रता दिनुपर्ने आवश्यकता रहेको छ ।

यसैक्रममा विज्ञहरुको सल्लाहमा ‘ललितपुर म्हसिका’ अर्थात ललितपुर चिनारी कार्यक्रम गरी लगानी भित्र्याउने पहल गर्नेछौं । स्वदेशी लगानीकर्ता र गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

ललितपुरको असीमित विकासका सम्भावनाहरुलाई उजागर गर्दै त्यसमा लगानीका लागि हामीले नै ‘ललितपुर लगानी सम्मेलन’ आयोजना गर्ने भनेका थियौं तर देशमा लगानीको वातावरण नबनी ललितपुरमा मात्र बन्न सक्ने अवस्था नभएकोले सो कार्यक्रम तय गरिएको हो । यसलाई पनि प्राथमिकतामा राखेका छौं ।

प्रतिक्रिया दिनुहोस्