जलस्रोत, कृषि र पर्यटन विकासको अभियानमा छौं



तेजबहादुर डुम्रेल

अध्यक्ष, सायल गाउंपालिका

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष तेजबहादुर डुम्रेलले गर्नु भएको विकास, निर्माणका गतिविधी तथा अन्य विकासका कामका क्रममा उहाँले भोगीरहेका चुनौती र भावी योजनाका बारेमा नेपाल समाचारपत्रका डोटी संवाददाता विमल बिष्टले गरेको कुराकानीको सारसंक्षे:

स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि तपाईले दुई वर्षसम्म काम गर्दा के–के उपलब्धि भएको छ ?

जिल्लाका अन्य स्थानीय तहहरुको तुलनामा हाम्रो गाउँपालिका आर्थिक सामाजिक सबै किसिमले विकट छ । तर विकट भए पनि थुप्रै संभावनमा पनि छन् । पर्याप्त जलस्रोतको उपयोग, कृषिमा आधुनिकीकरण र पर्यटन विकासका माध्यमबाट समृद्ध गाउँपालिका बनाउन सकिन्छ भन्ने अभियानमा छाँै । म अध्यक्षको रुपमा निर्वाचित भईसकेपछि मतदातासँग गरेको बाचा अनुसार नै काम गरिरहेको छु ।

गाउँपालिकाका सबै वडामा स्वास्थ्य संस्था थिएन हाल थप ३ वटा स्वास्थ्य स्वास्थ्य संस्थाको स्थापना गरी सबै वडाका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगेको छ । सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । चार वटा वडामा राष्ट्रिय विद्युत लाइन विस्तार गरी विद्युत सुविधाको पहुँच पुगेको छ ।

बिपन्न वर्ग र निम्न आय भएका व्यक्तिहरुलाई सिपमुलक तालिम मार्फत स्वरोजगार बनाउने योजना ल्याएका छौं । कृषि उत्पादन विशेष गरी आलुको पकेट क्षेत्र बिस्तार, अनुदान र बजारिककरणको माध्यमबाट न्युन आय भएका कृषकको आयस्तर बृद्धिको काम गरिरहेका छौं । घरदैलोमा नै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकामा पहिलो पटक सव–ईन्जिनियर विषयको अध्यायन हुने विषयको शुरुवात गरिएको छ ।

निकट भविष्यमा नै गाउँपालिकामा कामका लागि विदेश जानेहरुको तथ्यांक राख्ने व्यवस्था गर्न गईरहेका छौं । जसबाट उनिहरुले विदेशमा गरिरहेको काम र उनिहरुका लागि स्वदेशमै के कस्ता रोजगार मुलक कार्यक्रम संचालन गर्न सकिन्छ । 

चुनावी प्रतिवद्धता अनुसारका के-कति योजनाहरु पूरा गर्नुभयो, क्रमागत योजना कति छन् के-के हुन् ?

चुनावी प्रतिबद्धता अनुसार हेर्ने हो भने सडक निर्माण, विद्युत सेवा, खानेपानी, सिचाई, कृषि उद्यम, गुणस्तरीय शिक्षा, सामाजिक न्याय, पर्यटन प्रबद्र्धन जस्ता क्षेत्रमा थुप्रै काम भएका छन् । गाउँपालिका मार्फत सुत्केरी महिलाहरुलाई पोषण भत्ता स्वरुप थप पाँचसय उपलब्ध भइरहेको छ ।

दलित समुदायका नागरिकहरुको हकमा पचास वर्ष माथिका एकल पुरुष र गैरदलितको हकमा साठी वर्ष माथिका एकल पुरुषहरुलाई मासिक पाँच सय रुपियाँ निर्वाह भत्ता उपलब्ध भइरहेको छ । आमा बुवा नभएका टुहुरा बालबालिकाहरुलाई शैक्षिक तथा पोषण खर्च स्वरुप मासिक १ हजार ५ सय रुपियाँ प्रदान गरिदै आएको छ ।

जलवायु परिवर्तनका असरहरुलाई मध्यनजर गरी मुहान संरक्षणको लागि आकाशे पानी संकलन पोखरीहरु निर्माण गरेका छांै । राष्ट्रिय विद्युत लाइन संचालनमा आएको छ । प्रत्येक विद्यालयमा विद्यार्थी संख्या र शिक्षक दरबन्दीलाई आधार मानी स्वयं सेवक शिक्षक गाउँपालिकाबाट परिचालन गर्ने निर्णय भएको ।

मदिरा निषेधित क्षेत्रको रुपमा घोषणा गरी सायल गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सफल भएको छ । सामाजिक सुरक्षा भत्ता बितरण गर्दा जनप्रतिनिधी स्वयं टोल टोलमा जाने गरेका छौं ।

जनप्रतिनिधिको रुपमा काम गर्दा कस्ता–कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ? त्यसलाई कसरी समाधान गरेर अगाडि बढ्दै हुनुहुन्छ ?

नेपालको संबिधान स्थानीय सरकारलाई पनि अधिकारहरु प्रत्यायोजन गरेको छ । धेरै जसोले अहिले पनि स्थानीय तहलाई पहिलाको गाविसको रुपमा नै हेर्ने गरेका छन् । हरेक नागरिकलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुबिधा र क्षेत्राअधिकारको विषयमा जानकारी गराईनै रहेका छौं ।

हाम्रो गाउँपालिका सदरमुकामबाट बिकटमा छ । कर्मचारी अभाव यहाँको मुख्य समस्या छ । सरुवा भएर आएका कतिपय कर्मचारीहरु यहाँ हाजिर नै नगरी अन्यन्त्र सरुवा भएका उदाहरण पनि छन् । कर्मचारी अभावमा नागरिकले सहज प्राप्त गर्नु पर्ने कतिपय सेवा सुबिधाका लागि पनि समस्याको सामना गर्नु परेको छ ।

साना साना कुराहरुमा राजनितिक रुपमा हेर्ने परिपाटी पनि छ । नागरिकले आसा गर्नु स्वाभाबिक हो तर कतिपय समयमा नियमले नमिल्ने विषयमा पनि योजना माग आउने समस्या पनि छ । तर पनि हामीले विभिन्न निकाय सँगको सहकार्य र समन्वयमा सहजै काम गरिरहेका छौं ।

विकास भनेको बाटोघाटो, पुलपुलेसा बनाउने मात्रै हो भन्ने जस्तो गरेर जनप्रतिनिधिले काम गरेको देखिन्छ, तपाईको गाउँपालिकाले बाटोघाटोमात्रै बनाइरहेको छ, कि सामाजिक विकासलाई पनि ध्यान दिएको छ ?

हाम्रो गाउँपालिकामा बाटोघाटो र पुल पुलेसा थुप्रै अझै निर्माण गर्नु पर्ने माग आएको छ, नागरिकको मानसिकता पनि अझै भौतिक विकासलाई नै विकास मान्ने किसिमको छ । तर हामीले बाटोघाटो र पुल पुलेसलाई मात्र विकास मानेका छैनौं ।

बालबालिकालाई दिनु पर्ने गुणस्तरीय शिक्षादेखि बृद्ध अवस्थाका व्यक्तिहरुले पाउनु पर्ने सामाजिक सुरक्षाका विषय हाम्रा प्राथमिकतामा छन् । यस विषयमा योजना बनाएर नै हामी लागेका छौं । युवाहरुलाई स्वरोजगार बनाउनेदेखि, मदिरा निषेधितलगायतका विषयमा काम गरिरहेका छौं । गाउँ गाउँमा नागरिकता टोली पुर्याएर नागरिकता प्रदान गर्ने, स्वास्थ्य शिविर मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने काम गरिरहेका छौं ।

गुणस्तरी शिक्षा र स्वास्थ्य प्रदान गर्नका लागि के कस्ता कामहरु भइरहेका छन् ?

शिक्षा क्षेत्रमा विद्यार्थी संख्या र पुर्वाधारको अवस्था विश्लेषण गरी विद्यालयमा शिक्षण सहजकर्ता परिचालन गरिरहेका छौं । गुणस्तरीय शिक्षाका लागि गाउँपालिका स्तरमा शिक्षक तालिम तथा नियमित अनुगमन गरिदै आएको छ । त्यसै गरी स्वास्थ्य चौकीदेखि टाढा भएको क्षेत्रहरुमा घुम्ती शिविर संचालन गर्ने गरेका छांै । यसै वर्ष प्राविधिक विषयको अध्यायनको शुरुवात गरिएको छ ।

एईइमा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिका भित्रको विद्यायललाई पुरस्कृत गर्ने योजना बनाएका छौं । यसै वर्ष स्वास्थ्य संस्थामा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका छौं । बिपन्न वर्गका व्यक्तिहरुलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदै आईएको छ ।

तपाईको गाउँपालिकाबाट कामका लागि धेरै जसो युवाहरु भारत गएर जोखिमयुक्त काम गर्न बाध्य छन् । रोजगारी सृजना, कृषि, उद्योगधन्दा विकासका लागि गाउँपालिकाले कस्ता खाले नीति अबलम्बन गरेर काम गरिरहेको छ ?

कामका लागि भारत जाने परिपाटी पुरानै हो । अहिले नै एक दुई दिनमा यो अन्त्य त हुदैन तर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मानसिकताको विकासका लागि कृषि अनुदान दिने व्यवस्था गरिएको छ । सीप मुलक तालिमहरु सञ्चालन भईरहेका छन् । आधुनिक कृषि प्रणालीमा यान्त्रिक प्रबिधि मार्फत युवा उद्यमीलाई अनुदान सहयोग गरी १ सय ५० भन्दा बढी युवाहरु स्वरोजगार कार्यमा सहभागी भएका छन् ।

बेमौसमी र मौसमी तरकारी खेतीका लागि अनुदान र प्राबिधिक सहयोगको व्यवस्था गरिएको छ । सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न गईरहेका छौं । निकट भविष्यमा नै गाउँपालिकामा कामका लागि विदेश जानेहरुको तथ्यांक राख्ने व्यवस्था गर्न गईरहेका छौं । जसबाट उनिहरुले विदेशमा गरिरहेको काम र उनिहरुका लागि स्वदेशमै के कस्ता रोजगार मुलक कार्यक्रम संचालन गर्न सकिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । तपाईको गाउँपालिका यस क्षेत्रकै महत्वपुर्ण पर्यटकीय क्षेत्र खप्तडसँग जोडिएको छ । पर्यटन प्रबद्र्धनमा के गरिरहनु भएको छ ?

संघीय सरकारले भ्रमण वर्ष २०२० घोषणा गरिसके पछि यसलाई सफल पार्न हामी पनि लागि नै रहेका छौं । सायल गाउँपालिका देशकै महत्वपुर्ण पर्यटकीय गन्तब्य खप्तडसँग जोडिएको छ । खप्तडसँग जोडिएर मात्र नभएर गाउँपालिका भित्र पनि थुप्रै धार्मिक र पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको प्रचार प्रसार हुन सकेको छैन ।

पर्यटकीय गुरुयोजना निर्माण र प्रचार प्रसार मार्फत काम गरिरहेका छौं । खप्तड भएर बग्ने सायलीगाड नदीमा पाईने माछा, यस क्षेत्रमा फल्ने आलु जिल्लामा नै प्रसिद्ध छन् । खप्तडसँगै जोडिएको भेल्छडा झरनासम्म सडक निर्माण भईरहेको छ ।

अश्द्धवाला मंदिमा आफैमा अद्भुत छ, सो क्षेत्रको विकासको काम भईरहेको छ । खप्तड घुम्न आउने पर्यटकहरुलाई गाउँपालिका भएर आउने किसिमको पूर्वाधार निर्माण गरिरहेका छौं । यस क्षेत्रका धार्मिक स्थलहरु अशुद्वाला, कालाढुंगा, मालिका, भेल्छडा आदिको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माण गर्ने र प्रचार प्रसार भइरहेको छ ।

काम गर्ने सन्दर्भमा प्रदेश सरकारसँग के कति समन्वय भइरहेको छ ?

अझै पनि कतिपय विषयमा प्रदेश सरकारले कानुन निर्माण गरि सकेको छैन, कानुन अभावमा स्थानीय तहर प्रदेश सरकारका बीचमा कतिपय विषयमा विवाद आउने गरेको छ ।

तर पनि आपसी समझदारी समन्वय त गर्नै पर्यो । गाउँपालिकाले आर्थिक रुपले निर्माण गर्न नसक्ने योजनाहरु निर्माणका लागि पनि प्रदेश सरकारसँग समन्वय गरी निर्माण हुदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्