मिर्गौला पीडितलाई दक्षिण कोरियाबाट सहयोग



शिक्षा पन्त, लमजुङ।

बेंसीसहर नगरपालिका–९ डिहिथोक डुडेकी मृगौलापीडित सन्तकाशी गुरुङलाई तमु धि दक्षिण कोरिया थेगु शाखाले सहयोग गरेको छ। दुई वर्षदेखि दुवै मृगौला फेल भएकी ३६ वर्षीय गुरुङलाई शाखाले सहयोग गरेको हो।

शाखा अध्यक्ष हर्क गुरुङ र वरिष्ठ सल्लाहकार गुमानसिंह गुरुङको नेतृत्वमा कोरियामा रकम संकलन गरी नेपालमा पठाउनुभएको थियो।

कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग संकलन गरिएको १ लाख ६७ हजार रुपियाँ मंगलबार बेंसीसहर नगरपालिकामा एक कार्यक्रमका बीच पीडित गुरुङ र उहाँको श्रीमान् सेरबहादुर गुरुङलाई प्रदान गरिएको छ।

तमु धि दक्षिण कोरिया थेगु शाखाका वरिष्ठ सल्लाहकार गुमानसिंह गुरुङको श्रीमति इन्दिरा गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारीलगायतले रकम प्रदान गर्नुभएको हो।

गुमानसिंहकी श्रीमति इन्दिराले आफ्नो श्रीमानले विदेशमा सहयोग खोजेर पठाएको सबै रकम पीडितलाई प्रदान गरेको बताउनुभयो। ‘विदेशमा जम्मा भएको रकम पीडितलाई प्रदान गरेका छौं, उहाँले भन्नुभयो– ‘यो सानो सहयोगले बिरामीको उपचारमा सहज हुन्छ भन्ने आशा छ।’

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले विदेशमा रहेर पनि जिल्लाको विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि सहयोग गर्नु राम्रो काम रहेको बताउनुभयो।

पीडित गुरुङलाई नगरपालिकाले विपन्न नागरिक सहायता कोषमार्फत १ लाख रुपियाँबराबरको सेवा निःशुल्क गर्न सम्बन्धित अस्पतालमा सिफारिससमेत गरेको बताउनुभयो।

‘डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भने पनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकिएको उहाँले भन्नुभयो। तत्काल डाइलसीस गर्न नपर्ने भनेपछि घरमै राखिएको थियो।

६ महिनापछि गण्डकी अस्पताल पोखरामा भर्ना गरिएको थियो। बेड अभावपछि फिस्टेल हस्पिटल हुँदै चरक मेमोरियल हस्पिटलमा लगिएको उहाँले बताउनुभयो।

श्रीमतिको हप्तामा २ पटक डाइलसीस गर्नुपर्ने र १ पटकमै ५/६ हजार रुपियाँ खर्च हुने उहाँको भनाइ छ। घरजग्गा बैंकमा राखेर श्रीमतिको उपचारमा लागेको र हालसम्म ८/९ लाख खर्च भइसकेको उहाँले बताउनुभयो।

उहाँका अनुसार यसअघि अमेरिका, जापान, स्थानीय समूह तथा बेंसीसहर बजारबाट आर्थिक सहयोग प्राप्त भएको थियो। श्रीमतिको उपचारमा समस्या भएपछि उहाँले सबैसँग सहयोगको अपिल गर्नुभएको छ।

‘भएका सम्पत्ति सबै सकियो। अब केही बाँकी छैन, उहाँले भन्नुभयो–‘मृगौला फेर्नुपर्छ भनेको छ। मेरो रगत समूह मिलेन। दिने मान्छे पाउँदैन।’ अब कसरी श्रीमतिको मृगौला फेर्ने ?

प्रतिक्रिया दिनुहोस्