वडा कार्यालयमा आगजनी



रुकुम, (नेस)।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० को वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ। वडा कार्यालयमा तोडफोड गरी त्यहाँ रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरालगायत सामान जलाएको प्रहरीले जनाएको छ।

राती वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। वडा कार्यालयका फर्निचर, वडा अध्यक्ष र वडा सचिवको कुर्सीका साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलेको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो। आगजनीबाट वडा कार्यालयको अनुमानित २ लाखबराबरको क्षति भएको उहाँको भनाइ छ।

कार्यालयको सामग्री कोठाबाहिर निकालेर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो। वडा कार्यालयको सामग्री कसले र किन जलाएको हो भन्ने खुलेको छैन। सो विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्