व्यावसायिक च्याउ खेतीसम्बन्धी तालिम



नेपाल समाचारपत्र, जाजरकोट।

जाजरकोट नलगाड नगरपालिकामा किसानलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको छ । नगरपालिका कृषि विकास शाखाको आयोजनामा सबै वडाबाट २६ जना किसानका लागि तालिम सञ्चालन गरेको हो।

नगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि गरेको सर्वेक्षणमा बेरोजगारको संख्या ४ हजार ८ सय रहेकाले थोरै भए पनि बेरोजगार संख्या घटाउन कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

नलगाड नगरपालिकाले एक घर एक किसानलाई व्यावसायिक बनाउन कृषि शाखाको बजेटले तालिम दिएको छ। वडा नम्बर १ देखि १३ का २६ जना किसानलाई व्यावसायिक बनाई आय आर्जनमा वृद्धि ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले बताएको छ।

आधुनिक खेती प्रणालीको विकास गरी किसानलाई छिटो नाफा दिने व्यवसायको पहिचान गरी नगरपालिकाभित्रका किसानलार्ई रोजगारीको सृजना गर्ने कृषि पेसालाई बलियो र दिगो विकास गरी आयआर्जनमा सुधार ल्याउन तालिमको सञ्चालन गरिएको कृषि विकास शाखाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो।

नेपालमा ७ सय ६० प्रकारका च्याउ पाइने बताउँदै तीमध्ये १ सय प्रकारका च्याउ खान उपयुक्त भएकाले किसानलाई छिटोछरितो नाफा दिने कन्या, गोब्रे, पराले, सिताके च्याउ उत्पादन गर्न सकिने भए पनि कन्या च्याउ उत्पादन विधिसम्बन्धी तालिम दिइएको आचार्यले बताउनुभयो।

परिश्रम कम लाग्ने सरल तरिकाबाट किसानले उत्पादन गर्न सक्ने भएकाले कन्या च्याउ उत्पादन गर्ने विधिका बारेमा जानकारी दिइएको व्यावसायिक गर्न सक्ने गरी तालिम सञ्चालन गरिएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो।

किसानलाई च्याउ उत्पादन गर्दा चाहिने सामग्री व्यवस्थापन गरी परीक्षण गरिएको थियो। कन्या च्याउ करिब ३० दिनमा तयार हुने भएकाले किसानलाई व्यावसायिक बनाएर आयआर्जनमा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिएको शाखाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो।

किसानले तालिम मात्र लिएर व्यावसायिक नबन्ने भएकाले तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गरे कार्यक्रमको प्रभाव पर्ने, किसानहरू व्यावसायिक बन्ने, आयआर्जन वृद्धि हुने भएकाले सहभागीहरूले सिकेको कुरा व्यवहारमा लागू गर्न नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो।

‘व्यावसायिक बनाउन तालिम सञ्चालन गरेर मात्रै हुँदैन, घरमा फर्र्र्र्किएपछि उत्पादनको काम शुरु गर्नुपर्छ, उहाँले भन्नुभयो– ‘तालिमबाट घर फर्केपछि सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्