हिमपातले बन्द गमगढी सडक खुल्यो



बीरबहादुर बम, मुगु।

भारी हिमपातका कारण बन्द भएको कर्णाली राजमार्ग पुनः संचालनमा आएको छ। भारी  हिमपातका कारण बन्द भएको सडक ३ लगातार दिनको प्रयासले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय मुगु, जिल्ला प्रहरी कार्यालय जुम्ला, उद्योग वाणिज्य संघ, सडक डिभिजनको सक्रियतामा पुनः सञ्चालनमा आएको हो।
वर्षाले ठाउँठाउँमा हिल्लाम्मे भएको र केही ठाउँमा हिउँ जमेर भत्केको हुँदा नेपालगन्ज, सुर्खेत, जुम्लादेखि मुगुको सदरमुकाम गमगढी बजारसम्म आउने मालबाहक गाडी सडकमा फस्र्ने गरेको गाडीचालकले बताएका छन्।

२०६९ सालबाट सदरमुकाम गमगढीसम्म राष्ट्रिय सडक सन्जालमा जोडिएको भएपनि सडक मर्मतसम्भार नहुँदा हिउँदमा २ महिना बन्द हुने वर्षामा २ महिना बन्द हुने गरेको छ। समयमै सडकमर्मत नहुँदा स्थानीयवासी स्वास्थ्य उपचारलगायत दैनिक उपभोग्य वस्तु सहजै पाउन सकेका छैनन्। स्थानीय सरकारदेखि केन्द्रीय सरकारको नजर नपुगेको स्थानीयवासीको गुनासो छ।
नाग्म–गमगढी सडकखण्ड सञ्चालनमा आएको १६ वर्ष बितिसक्दा पनि वर्षको ८ महिनामात्रै सडक सञ्चालनमा आउने गरेको गाडीचालक गणेश न्यौपानेले बताउनुभयो।

अहिले २ महिनाभन्दा बढी सडक बन्द हुँदा गमगढी बजारमा दैनिक उपभोग्य वस्तुदेखि औषधीसम्म गमगढी बजारमा अभाव हुँदै गएको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले जानकारी दिनुभयो।

घुच्चीदेखि गमगढी बजारको सडकखण्ड मर्मत सुधारका लागि वर्षेनी लाखौं रकम छुट्याएपनि त्यो रकम बालुवामा पानी खन्याए सरह भएको स्थानीय जयबहादुर मल्लले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्