नेपालमा “क्यानोनिङ”को प्रचुर सम्भावना



प्रा.डा. प्रेम शर्मा

नेपाल एउटा रहस्यमय पर्यटन विकासको सम्भाव्यता बोकेको मुलुक हो। जहाँ सर्वोच्च शिखर सगरमाथा आरोहण मात्रै नभएर हजारौं थुम्काहरू आरोहण गर्न पाइन्छ।साहसी पर्यटकहरूका लागि उक्लन, ओर्लन, डुब्न, गुड्न, उड्न, जंगलका प्राणीहरूसँग हिँडडुल, अवलोकन, सिकार आदि गर्न नेपाल उत्कृष्ट गन्तव्य हुन सक्छ।

गाइड र बलियो नाइलनको डोरीमा विश्वास गर्नेका लागि यो साधारण खेल हो। कल्पना नगरेको छहरा/झरना ओर्लन पाउँदा, जिन्दगीमा कसैले नचढेको वा नझरेको र बाँदरसमेत जान नसक्ने अनि पानीले हरियो लेउ लागेको छहराको चट्टानमा चिप्लिँदै ‘क्यानोनिङ’ गर्दास्पोन्जवाला ड्रेसले चोट लाग्नबाट भने बचाउँछ। पानीको छहराले शरीरमा हिर्काउँदै, तल तहगतरुपमा रोकिँदै–झर्दै गर्दा अति आनन्द आउँछ। 

अर्थात् विश्वको सर्वोच्च शिखर आरोहण, स्काई डाइभिङ, अल्ट्रालाइट फ्लाइ, प्याराग्लाइड, छाँगा (झरना)हरू ओर्लन, चट्टान चढ्न, जिपलाइन, बन्जीजम्प, हात्ती–घोडा चढ्न, र्याफ्टिङ कानुनीरुपमा जंगली जनावरहरूको सिकार, दुर्लभ जंगली जनावर एवं चराचुरुङ्गी अवलोकन गर्न, जंगली जनावरहरू प्रयोग गरेर घुमफिर र अवलोकन गर्न पाइन्छ।त्यसैले नेपालको पर्यटन उद्योगको विकास अपार छ।

यसको बजारीकरण पनि टाढा जानु छैन, छिमेकी दुई मित्र राष्ट्रहरू– चीन र भारतका नागरिकहरू मात्रै पनि काफी हुन्छन्। यो कलमकार गत जेठ २५ र २६ गते सम्पन्न तेस्रो नेपाल क्यानोनिङ महोत्सवमा सक्रिय सहभागी भएको थियो। केही नेपाली (शून्य दशमलव एकभन्दा कम) लाई यो विधाबारे ज्ञान होला।

त्यसै गरी साहसी पर्यटकहरूलाई पनि यसबारे र यसले दिने रोमाञ्चकताबारे कमै थाहा होला।नुवाकोटको ककनी गाउँपालिका, पौवाथोक–५ स्थित बुलबुले झर्नामा सम्पन्न महोत्सवले झन्डै ३ सय जनालाई शिक्षा र जानकारी दिएको थियो। यसले नेपालमा रोजगारका अवसरहरू यत्रतत्र छरपस्ट भेटिन्छन् भन्ने सन्देश दिएको थियो।

किनभने नेपालको राजधानी काठमाडौंबाट मात्र ३० कि.मि.को दूरीमा कुनै खोल्सामा आन्तरिक पर्यटकहरूलाई १ रात पालमा सुताएर ३५ सय ४ हजार लिन पाइन्छ र विदेशी पर्यटकबाट ६–७ हजार कमाउन पाइन्छ भने किन त्यो व्यवसाय नगर्ने ? उग्र गर्मीको समय र सुख्खा समय वैशाख–जेठमा समेत उक्त व्यवसाय चलाउन सकिन्छ।

शून्य लगानीको पूर्वाधार– प्राकृतिक बनावटमा साधारण सीप, डोरी, पाल र पोशाक मात्र भए पुग्ने, वनजंगल, खोला, पहरा बासका लागि जहाँ बसे पनि हुने, भाडा तिर्न नपर्ने।स्थानीय सांस्कृतिक कार्यक्रम एवं खानपान उपलब्ध गराउँदा स्थानीयवासी र यसका व्यवसायीहरूले हजारौंको कमाइ गर्न सक्ने र स्थानीय रोजगार प्रवद्र्घन गर्न सक्ने सम्भावनाहरू यो निधिसँग छ।

नेपालमा यस खाले खोला, झरना र गन्तव्यहरू अथाह छन्। नेपालको पर्यटन गन्तव्य (उत्पादन) वस्तुहरूलाई सघनरुपमा अन्य वस्तु(निधि) हरूसँग समावेश र जोड्न अर्थात् सँगसँगै विकास गर्न सकेमा धेरै राम्रो प्रतिफल हुनेछ।

नेपालमा पर्यटकीय वस्तुहरू/गन्तव्यहरूलाई इन्टरडिसिप्लिनरी र एकीकृतरुपमा विकास गर्ने योजनाहरू क्रमशः विकास गर्दै लान उपयुक्त हुन्छ।

अष्ट ‘ज’ होस् वा इलाम जिल्लाको आठ ‘अ’ अवधारणालाई मानिसको ५ ज्ञानेन्द्रियहरूसँग फ्युजन गराउन सके नेपाल थोरै समयमा आर्थिक वृद्घिको अग्रस्थानमा पुग्न सक्छ। अनि प्रगति र समृद्घिको अगुवाइ गर्न सफल हुनेछ।

जस्तै– जल, जमिन जनशक्ति र जडीबुटीलाई अधिकतम उपयोग गरी नेपाललाई सम्पन्नशाली मुलुक र नेपालीलाई धनी एवं समृद्घशाली नागरिक बनाउन सकिन्छ।

त्यस लक्ष्य र उद्देश्यतर्फ क्यानोनिङविधिबाट साधारण लगानीमा नेपालभित्रै बाह्य साहसी पर्यटक र आन्तरिक पर्यटकहरूलाई रोमाञ्चकारी खेल खेलाउन सकिन्छ। त्यसैले यसको प्रविधि र प्रक्रियाबारे चर्चा गरौं। 

सन् २००७ मा नेपाल क्यानोनिङ एसोसिएसन विधिवत् सम्पन्न भएयता तेस्रो महोत्सव २०१७ सम्पन्न भयो। यो खेल सन् २००२ देखि खेल्न शुरु अर्थात् एक्स्प्लोर गरिएको हो तर व्यावसायिकरुपमा सन् २००५ बाट शुरु भयो। हालमा एसोसिएसन बढी सक्रिय भएकोले यसको प्रचारप्रसार व्यापक हुन थालेको छ।

यसमा हाल ६–७ कम्पनीहरू संलग्न छन्। एसोसिएसनका वर्तमान अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार यो क्रीडामा खासगरी युरोप, फ्रान्स, स्पेन, इटली, पोर्चुगिज, अमेरिकन बढी आउने गरेका छन्। यो व्यवसाय प्रवद्र्घन गर्न नेपाल सरकारले वार्षिकरुपमा नेपाल पर्यटन बोर्डमार्फत २–३ लाख खर्च गर्ने गरेको र यसबारेमा सन् २०११ मा यो व्यवसायमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याउनमा सक्रिय रहने कम्पनीलाई ५ लाख पुरस्कार प्रदान गरेको थियो।

तर यसमा संलग्न व्यवसायीहरूले अपेक्षा गरेअनुसारको सहयोग, नीतिगत र आर्थिक सहयोग प्राप्त हुन नसकेको गुनासो छ। यो हुनु स्वाभाविक पनि देखिन्छ। किनभने यसका उपभोक्त/प्रयोगकर्ता पर्यटकहरू सीमित छन्। त्यसै गरी यसमा संलग्न कम्पनीहरू मुस्किलले आधा दर्जन मात्रै छन्र प्रविधिक/गाइड पनि झन्डै ३ दर्जन मात्र छन्।

यो व्यवसाय सिजनल हुने भएकोले बाह्रै महिना ७५ जिल्लामा पहुँच पुर्याउन सम्भव हुँदैन। किनभने प्रथमतः यसको सम्भाव्यता अध्ययनविना चलाउन सकिन्न। स्थानीयहरू कहिलेकाहीँ व्यवसायीहरूलाई अवरोध सिर्जना गर्न सक्छन्।

तराई र जाडो समयमा यो खेल हिमाली र पहाडी क्षेत्रमा सम्पादन गर्न कठिन पर्छ। मध्यमनसुनमा पनि खोलानालामा बढ्दो बाढी–पहिरोका कारण अप्ठ्यारो हुन सक्छ। खेलाडीहरूको जीवन बिमा गर्नुपर्दछ।

स्थानीय लाभांशकारीहरूलाई यसबारे ज्ञानको अभाव छ। साथै सरकारको तर्फबाट मन्दरुपमा प्रवद्र्घन भएको महसुस हुन्छ। जे होस्, नेपालभित्र नै बाह्य पर्यटकहरूलाई आन्तरिक पर्यटकहरूमार्फत प्रचारप्रसार गर्न सके र अन्य पर्यटकीय विधासँग यसलाई समानरुपमा जोड्न/सञ्चालन गर्न सके राम्रो हुनेछ।

क्यानोनिङ खेलका लागि तयार हुन स्पन्जयुक्त ट्रयाकसुट, हेल्मेट र क्यान्भास जुत्ता वा स्यान्डल (स्ट्रिप वाला) उही र्याफ्टिङमा लगाउने खालको भए पुग्छ। यो खेल खेलाउने गाइड दक्ष, अनुभवी र सीपयुक्त हुन आवश्यक छ। उनीहरूले खेलाडीलाई केही ब्रिफिङ र निर्देशन दिन्छन्। पौडी खेल्न जाने÷नजानेको, पुरानो अनुभव भएको/नभएको पत्ता लगाइन्छ।

दुवै हातमा राम्रो नरम पञ्जा लगाई नाइलनको डोरी समात्ने–छाड्ने विधि र शरीरलाई ६० डिग्रीमा ढल्काउने अनि डोरीमा भर पर्ने, पानीको फोहरामा रमाउने र आत्तिन सक्ने सम्पूर्ण मनोवैज्ञानिक जाँच गरिसकेपछि यो खेल छहरा/झरनाको शिरबाट शुरु गराइन्छ।

झट्ट हेर्दा डोरीलाई ढुंगा (रक)मा कीलाले बाँधेको भेटिन्छ। मनमा कुरा खेलाउने काँतरका लागि यसले केही खुलदुली गराउला तर गाइड र बलियो नाइलनको डोरीमा विश्वास गर्नेका लागि यो साधारण खेल हो।

कल्पना नगरेको छहरा/झरना ओर्लन पाउँदा, जिन्दगीमा कसैले नचढेको वा नझरेको र बाँदरसमेत जान नसक्ने अनि पानीले हरियो लेउ लागेको छहराको चट्टानमा चिप्लिँदै ‘क्यानोनिङ’ गर्दास्पोन्जवाला ड्रेसले चोट लाग्नबाट भने बचाउँछ।

पानीको छहराले शरीरमा हिर्काउँदै, तल तहगतरुपमा रोकिँदै–झर्दै गर्दा अति आनन्द आउँछ।गाइडले हामफाल्न भन्दा डोरी हातले कन्ट्रोल नगरी छोड्दा, पानीको दहमा ड्राइभ हान्दै, घुटुघुटु पानी निल्दै दहबाट उत्रिँदा र गाइडले दिएको ब्याग वा डोरीमा समाउँदै पानीभित्रबाट बाहिर निस्सासिँदै उत्रँदा ठूलो साहसी खेलसम्पन्न गरेँ भन्ने महसुस हुन्छ।

पुनः अर्को झर्नामा पनि त्यही क्रियाकलाप दोहार्याउन पाए हुने थियो भनेझैँ महसुस हुन्छ। यो खेल एकपटक सम्पन्न गरिसकेपछि बारम्बार दोहार्याऊँ जस्तो लाग्छ। मानिसको आत्मबल बढ्छ। यो खेलमा पुरुष–महिला दुवैलाई एकैनासको अवसर र परिश्रम पर्दछ। पुरुषले मात्रै गर्नुपर्छ भन्ने छैन।

यो खेल महिला, युवा, बूढाखाडा सबैलाई सुलभ र सजिलो हुन्छ। सिर्फ निर्देशन पालना र आँट गर्नुपर्यो, सहज र खतरामुक्त छ। थोरै समय आधा घन्टादेखि १ घन्टामा सम्पादन गर्न सकिने खेल कम खर्च र लागतमा सञ्चालन गर्न सकिन्छ। एकै दिनमा २–३ सय व्यक्ति/पर्यटकहरूलाई यो रोमाञ्चकारी खेल एकै ठाउँमा खेलाउन सकिन्छ।

नेपालमा क्यानोनिङ खेलको एउटा व्यापक सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गर्न आवश्यक छ। कलमकारको अनुभवमा एउटा सानो सम्भाव्यता– पर्वत जिल्लाको महाशिला गाउँपालिकाको वडा नं. २, भोगसिंगमा मात्रै झन्डै ३ दर्जन झर्ना/छाँगाहरू छन्। जहाँ १० ठाउँमा यो खेल खेलाउन सकिन्छ। खोलैको नाम काफी छन्।

चिसापानी, छरछरे, दोभान खोला, छहरेखोला र ती खोलाहरूमा ठूला–ठूला झर्नाहरू जलाशययुक्त छन्, जहाँ सान्दार क्यानोनिङ खेल खेलाउन सकिन्छ।

अझ यो गाउँमा विश्वकै उत्कृष्ट रक क्ल्याम्बिङ गराउन सकिने– ओल्प्रोको रातो भिर, लुग्दीको पहरो, चिसापानी र घोप्टेको भीरले अर्को साहसी खेल सम्पन्न गर्न पाइन्छ र ओल्प्रो, चिसापानी र लुग्दीबाट प्यारालाग्लाइडिङ पनि गराउन सकिन्छ।

सिर्फ एउटा गाउँपालिकको एक वडामा यति धेरै साहसी पर्यटकीय खेलहरू जोड्न र खेलाउन सकिन्छ भने ७४४ स्थानीय तहका क्षेत्रमा (६६८३ वडाहरूमा) कति होलान् ? त्यहाँ अन्य निधिहरू (विधाहरू) पक्कै छन्।

त्यसैले क्यानोनिङलगायत अन्य साहसी खेलहरूको अपार सम्भाव्यता रहेको नेपालमा पर्यटकीय वस्तुहरूको अध्यययन, अनुसन्धान, प्रचारप्रसार र देश–विदेशमा वर्तमान सूचना प्रविधिका माध्यमहरूमार्फत चिनाउन जरुरी छ।

यस कार्यमा नवनिर्वाचित जनप्रतिनिधिहरूको स्थानीय सरकार, प्रदेश र संघीय सरकारले साझा सूची–९ अन्तर्गत एउटा बृहत् गुरुयोजना तयार गरी विदेशिएका युवा शक्तिलाई नेपाल फर्काउने र रोजगार दिने योजना आजभोलिको आवश्यकता हो। यसतर्फ सरकार, उद्यम व्यवसायी र स्थानीय व्यक्ति, समुदायको सक्रिय पहल एवं सहभागिता अनिवार्य छ।

 

प्रतिक्रिया दिनुहोस्