मानव उमेरको फरक परिभाषा



भरत बगाले योगी

भगवान् गौतम बुद्धले एकपटक आफ्ना वृद्ध भिक्षुलाई प्रश्न गर्नुभएछ, ‘तपाईंको उमेर कति भो ?’ भिक्षुले उत्तर दिएछन्, ‘४ वर्ष प्रभु ⁄’ उत्तर सुनेर सम्पूर्ण भिक्षुहरू आश्चर्यचकित भई मुखामुख गर्न थालेछन्। बुद्धले फेरि प्रश्न गर्नुभयो, ‘कसरी ?’ भिक्षुले उत्तर दिए, ‘मैले जीवनको रस, जीवनको महत्व र सार्थकता तपाईंसँग संन्यास लिएपश्चात् मात्र बुझें र आज संन्यास लिएको ४ वर्ष पुग्यो।

उक्त समयभन्दा अगाडिका दिनहरूलाई मैले उमेर भन्न सक्दिनँ, किनकि त्यो मेरो भ्रमपूर्ण र अज्ञानतापूर्ण सिलसिला मात्र थियो।’
मनुष्यको उमेरको मापदण्ड सकारात्मक ज्ञान र अनुभवसँग जोडियो भने मात्र सार्थक हुन्छ, जुन समाज–हितको लागि उपयोगी बनोस्।
किनभने अविवेकी, अज्ञानता र भ्रमपूर्ण उमेर समूहद्वारा किमार्थ समाज असल गोरेटोमा गुड्दैन।

उमेर दिन, हप्ता, वर्षको मात्र सिलसिला होइन। एक चेतना हो, विवेक हो, संस्कार हो अनि व्यवहार हो। यी सबैको पूर्णतामा बल्ल मानिस पूर्ण हुन्छ। त्यसैले समाजको सरोकारको कुरामा संवेदनशील बनौं।

यो आजको प्रमुख समस्या हो। यस अर्थमा ती भिक्षुको उत्तरलाई सम्मानजनक, अर्थपूर्ण अभिव्यक्ति भन्न मिल्छ, उमेरको सही र नयाँ परिभाषा भन्न मिल्छ, अनि प्रेरणादायी उत्तर भन्न मिल्छ। के हरेक मानिसको उमेर ती भिक्षुको जस्तै हुनुपर्ने हो ?

यदि हो भने, सेतै फुलेका डाँडामाथिका जुन छोडौं, जवान युवाहरू जो भोलिको आदर्श बन्न सक्छन्, मार्गनिर्देशक बन्न सक्छन्, चाहे जुनसुकै परिवेशका हुन्, सोही कडीमा निष्पक्ष मापन, मूल्यांकन गर्न शुरु गरौं त आफ्नो असली उमेर कति भो ? यो निकै जटिल तर उति नै महत्वपूर्ण प्रश्न हो। किनकि यसैसँग जोडिएको छ भोलिको सभ्य, चेतनशील र उज्ज्वल भविष्य।

त्यसो भए चेतनाको परिभाषा के त ? अर्को महत्वपूर्ण प्रश्न। हामीले मानव शब्दको परिभाषा गर्यौं भने ‘चेतनशील प्राणी’ भनौंला, यदि जनावरले मानिसलाई परिभाषा गर्यो भने के सोही उत्तर आउला ‘चेतनशील प्राणी’ ?

पक्कै आउँदैन, किनकि उसले मानिसको क्रूरता देखेको छ, मानिसको हिंस्रकता देखेको छ। जहाँ चेतनाको प्रयोग हुन्छ, विवेकको प्रयोग हुन्छ, त्यहाँ मानिसको क्रूरताको ताण्डव किन हुन सक्थो र ? त्यसैले मानिसको उमेर उसको चेतनाको स्तरसँग पनि जोड्न जरुरी छ।

उसले गर्ने विवेकको प्रयोगसँग पनि जोड्न जरुरी छ। त्यसैले चेतनशील, विवेकशील समाजको निर्माणका लागि उमेरको सही परिभाषा खोज्ने कुरालाई जायज मान्नुपर्छ। उमेरको, चेतनाको, बौद्धिकताको स्तर मापन मानिसले गर्ने व्यवहारमा देखिन्छ।

हरेक क्षेत्रमा राख्ने धारणा या गर्ने व्यवहारमा देखिन्छ, चाहे त्यो धर्मप्रति होस्, चाहे राजनीतिप्रति, चाहे विकासप्रति, समाजको प्रत्यक्ष सरोकारको क्षेत्रमा उसको उपस्थिति कस्तो छ भन्ने महत्वपूर्ण विषय हो।

उदाहरणका लागि जन्मदा स्वतन्त्र जन्मेको मानिस, विल्कुलै स्वतन्त्र अचानक जब धार्मिक कुरा आउँछ, हत्तपत्त चासो बढ्छ, एक प्रकारले खोज्छ उसलाई आखिर किन, कसरी ? स्वतन्त्र जन्मेको मानिसको समाज आखिर कसरी धर्मको नाममा विभाजित हुन्छ ?

आखिर के हो धर्म ? त्यो आडम्बर कसरी उत्पन्न हुन्छ ? वास्तवमा भन्ने हो भने, शरीरमा संकलित बल र बौद्धिकताको ‘फ्युजन’बाहेक केही होइन मनुष्यको धार्मिक आडम्बर। त्यसैले त धर्म व्यक्तिगत ठीक हुन्छ।

बाबुको धर्म, आमाको धर्म, छोराछोरीको धर्म, मानवधर्म वास्तवमा यही जिम्मेवारीलाई नै धार्मिक दायरा बनाए पुग्यो नि ! किन आवश्यक छ साम्प्रदायिक धर्म ? के यी मानवजातका दुश्मन होइनन् ? के यही पर्खाल हैन र मानिसहरूबीच लगाइएको ?

के यी मानवताका दुश्मन होइनन् ? निश्चित नै यसले मानिस–मानिसबीच फाटो ल्याउनेबाहेक थप उन्नति भित्र्याउँदैन। यो त एकप्रकारको व्यापार हो, धर्मिक नाममा कथित व्यापारीले नाफाका लागि गरेको व्यापार।

यिनीहरूले नै मनुष्य जातिबीच ठूलो पर्खाल निर्माण गरी विभाजित गरेका छन्। तर आममानिस सर्वसक्तिमान् हुन्छन्, जुन दिन यिनले यो बुझ्छन् कि हामीमाथि धर्मको नाममा व्यापार हुँदै छ, बस् सकियो खेलो, धन्दा चौपट !

त्यसैले सही उमेरको अनि विवेकी मानिसले ढिलो–चाँडो बुझ्छ नै बुझ्छ एकदिन। यो अर्थमा मानिसको उमेरलाई सही परिभाषित गर्न जरुरी छ। धारणामा परिवर्तन आउन जरुरी छ। 

भैरहेको धार्मिक गतिविधिको प्रसंगलाई नियाल्ने हो भने पनि धार्मिक ग्रन्थ वा भगवान्को वाणी अनि प्रार्थनाले मानिसलाई अनुशासनमा ल्याउनुपर्ने। तर मनुष्य औपचारिकता मात्र निर्वाह गरेको छ, जस कारण उसको जीवनमा कुनै सुधार देखिँदैन।

किनकि वाणी सुनेर जीवन परिवर्तन हुने होइन ती वाणी त सहायक बन्ने हुन्, तिनको अनुसरण गरेर या दैनिक जीवनमा, व्यवहारमा उतारेर न त हो जीवनमा परिवर्तन आउने। अनि मात्र ग्रन्थ पढेको सार्थकता देखिन्छ।

मन्दिरमा घण्टी बजाउँदै कसैलाई सत्यसराप गरेको छ, मस्जिदमा नवाज पढ्नुपूर्व र पढेलगत्तै पाप गरेको छ, मानिसलाई दुःख दिएको छ, चर्चमा प्रार्थना नामको लागि मात्र गरेको छ, यस्तो प्रकारको पूजा, नवाज र प्रार्थना गर्नुमा कुनै तुक छैन।पूजा त एक प्रक्रिया मात्र हो, मनको शान्तिको लागि।

बाध्यता हैन, जिम्मेवारी हैन, न त बोझ नै। तसर्थ पनि उमेर मात्र नभई वजनदार उमेर, विवेकशील उमेरको परिभाषा खोजिएको हो।
यहाँ नाङ्गै हिँडेने एक मान्छेले अर्कोलाई देखाउँदै हाँस्छ र भन्छ– हेर–हेर नाङ्गै हिँडेको ! धर्मको नाममा हामीले सधैँ गरेको यही नै हो।

समस्या धर्ममा छैन, हामीमा छ, त्यसैले त सधैँ अरूलाई गाली गर्न छोडौं, म राम्रो छु भन्नलाई अरू नराम्रा छन् भन्न जरुरी छैन यो धर्ममा। यो त्रुटि, यो भ्रामक, त्यो त्रुटि, त्यो भ्रामक भन्न छोडौं, सम्पूर्ण जगत्को हितमा लागौं।

कुन धर्म उत्कृष्ट भनेर परिभाषित गर्ने बेला हैन, मानव धर्मलाई कसरी स्थायित्व दिने प्रमुख हो। त्यसैले विवेकशील बनौं। ओशो भन्छन्, ‘धर्म वैज्ञानिक हुनुपर्छ र विज्ञान धार्मिक हुनुपर्छ।’ धर्मको नाममा तर्क गर्न छोडौं, हामी सबै मानव जाति एक हौं।

सामाजिक सद्भाव कायम राख्ने एकमात्र उपाय भनेको चेतनाको भरपूर सदुपयोग मात्र हो। यसबाहेक अर्को कुनै बाटो छैन। किनकि मानिस चेतनशील प्राणी हो, ऊसँग चेतना छ। त्यसैले सम्भावना छ, सकारात्मक ऊर्जा चेतनाबाटै उत्पन्न हुने गर्छ।

त्यसैबाट ऊ बुद्धजस्तो शान्त र ज्ञानी बन्न पनि सक्छ अनि हिटलरजस्तो क्रूर र घमण्डी पनि बन्न सक्छ। बुद्धको वैराग्य र हिटलरको क्रूरताको पछाडि पनि ठूलो कारण छ, जसले प्रेरणास्वरुप बुद्ध र हिटलर बन्न सके।

मस्तिष्कमा उत्पन्न हुने विचार त्यही बीज हो, जसलाई जस्तो माटोमा रोप्यो त्यस्तै उम्रन्छ, हुर्कन्छ, बढ्छ र फुल्छ। तसर्थ हरेक मानिसको सकारात्मक ऊर्जा र सकारात्मक विचाररुपी बीजलाई सही ढंगले अङ्कुरित गरी उचित वातावरण प्रदान गर्न सक्नुपर्छ, तब न सभ्य समाज निर्माण हुन्छ।

चुरो कुरो के भने, उमेर दिन, हप्ता, वर्षको मात्र सिलसिला होइन। एक चेतना हो, विवेक हो, संस्कार हो अनि व्यवहार हो। यी सबैको पूर्णतामा बल्ल मानिस पूर्ण हुन्छ। त्यसैले समाजको सरोकारको कुरामा संवेदनशील बनौं।

जस्तै– धर्मले मानिसलाई एक अर्कोसँग मित्रता सिकाउँछ, जोड्न सिकाउँछ, मनुष्यसँग मात्र हैन सजीव प्राणीसँग पनि एक हुन र आत्मीय हुन सिकाउँछ। धर्म अनुशासन, जिम्मेवारी, प्रेमबाहेक अरू केही हुन सक्दैन।

यति फराकिलो शब्दलाई सङ्कुचित गरी साँघुरो घेराभित्र नराखौं। प्राणी जगत्को हितमा लागौं। रक्षा गरौं। मानिसको उमेरको गरिमा भावी पुस्तामा हस्तान्तरण गरौं।
(लेखक योगी हाल यूएईमा हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्