गुणस्तरमा अब्बल सामुदायिक क्याम्पस

थप चारले पाए क्यूएए प्रमाणपत्र



ईश्वरराज ढकाल

[email protected]

विश्वविद्यालय अनुदान आयोगले चार सामुदायिक क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यूएए) प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगले ती क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको हो।

क्यूएए प्रमाणपत्र ललितपुर चापागाउँको जनभावना, काठमाडौं कुलेश्वरको जनमैत्री बहुमुखी, काभ्रे बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिरलाई दिइएको हो।

क्यूएएमा छनोट भएकामध्ये जनभावना चार वर्षअघि प्रक्रियामा गएको थियो। जनमैत्री नौ वर्षअघि प्रक्रियामा गएको थियो। उच्चशिक्षा परियोजनाअन्तर्गत सञ्चालित सो कार्यक्रममार्फत क्यूएए प्रमाणपत्र पाएका क्याम्पसले विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा रकम पाउनेछन्।

एउटा विद्यार्थीले ग्र्याजुऐट भए पाँच वर्षभित्र ८० हजारका दरले कलेजले रकम पाउनेछन्।उक्त रकम क्याम्पसको भैतिक, शैक्षिक, प्रशासनिक, पाठ्यक्रम सुधारमा प्रयोग हुनेछ।जनभावना सामुदायिक क्याम्पसका प्रमुख शिवराज सञ्जेलले लामो समयको प्रयासपछि प्रमाणपत्र पाउन सफल भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘आठवटा बेन्चमार्फत सोधिएका १ सय २० इन्डिकेटरमा सोधिएको प्रश्नको उत्तर दिएपछि त्यसको मूल्याङ्कनका आधारमा आयोगको टोलीले अनुगमन गरी प्रमाणपत्र दिन योग्य भएको घोषणा गरेपछि प्रमाणपत्र पाएका हौं।’

सोधिएका प्रश्नमध्ये करिब ५० नम्बर प्राप्त गरेपछि प्रमाणपत्र पाउन योग्य हुने उहाँको भनाइ थियो। आयोगका क्यूएए निर्देशक डा. ऋषिकेश पाण्डेले आयोगको मूल्याङ्कन र क्याम्पसको परिश्रमका आधारमा प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो।

‘हामीले मापदण्ड बनाएका हुन्छौं, सो मापदण्ड पूरा गरेपछि कलेजले प्रमाणपत्र पाउँछन्।’ –पाण्डेले बताउनुभयो। उहाँले हाल करिब ३ सय ३८ क्याम्पस प्रक्रियामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार त्रिविसँग सम्बन्धन लिएका सबैभन्दा बढी सामुदायिक क्याम्पसले क्यूएए प्रमाणपत्र पाएका छन्।

जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाका अनुसार क्यूएए प्रक्रियामा सामेल भएर गुणस्तर परीक्षण कार्य सम्पन्न गरेपछि प्रमाणपत्र पाएको जानकारी दिनुभयो। प्रश्नको उत्तरसँगै आयोगले अनुगमन र निरीक्षण गरेपछि क्यूएए ती क्याम्पसहरूले प्रमाणपत्र पाएका हुन्।

क्यूएए पाएका क्याम्पसले कार्यसम्पादनका आधारमा रकम पाउनेछन्। जनभावना विसं २०७२ र जनमैत्री विसं २०६७ सालमा क्यूएएको लागि प्रक्रियामा गएका थिए।क्यूएए परियोजनाअन्तर्गत हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका २९ वटा सामुदायिक क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्।

तथ्याङ्कअनुसार सामुदायिक र निजी गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन्। आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता छन्। अहिले ११ वटा विश्वविद्यालय छन्। तथ्याङ्कअनुसार ४ संस्थागत, ४ सम्बन्धन क्याम्पस र बाँकी त्रिविको सामुदायिक गरी ४० वटाले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेका छन्।

नेपालमा २०३९ सालबाटै सामुदायिक क्याम्पसहरू सञ्चालन गर्न थालिएको हो। त्रिविअन्तर्गत २९ क्याम्पसले प्रमाणपत्र पाइसकेका छन्। त्रिविबाहेक पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ६ र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत दुईवटा सामुदायिक क्याम्पस छन्।

आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण–पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।

अनुदान आयोगले गुणस्तर सुनिश्चिता प्रत्यायन समितिको निर्णयपछि आयोगले चार सामुदायिक क्याम्पसलाई क्यूएए प्रमाणपत्र दिएको हो।

क्यूएए प्रक्रियामा जाने स्वीकृति

एलओआई पाइसकेका दोस्रो चरणमा प्रवेश गरेका क्याम्पसले विश्वविद्यालय अनुदान आयोगमा स्वाध्ययन प्रतिवेदन (एसएसआर) बुझाउनुपर्छ। आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यु टिम (पीआरटी)ले गरेको निर्णयको आधारमा प्रमाणपत्र दिने प्रावधान छ।

एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ। आयोगले सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर बढ्दै गएपछि केही वर्षयता सरकारले सामुदायिक क्याम्पसलाई अनुदान आयोगमार्फत सहयोग गर्दै आएको छ।

आयोगले सामुदायिक क्याम्पसहरूलाई नियमित अनुदान र भौतिक अनुदान दिँदै आएको छ। नियमित अनुदान क्याम्पसको उपलब्धिका आधारमा ३ लाखदेखि १२ लाख रुपियाँसम्म हुने गरेको छ। भौतिक अनुदानतर्फ भवनलगायत पुस्तकालय, उपकरण खरिद, इन्टरनेट जडान, फर्निचर खरिदजस्ता शीर्षकमा खर्च हुँदै आइरहेको छ।

नयाँ शैक्षिक योजना बनाउँछौं

शिवराज सञ्जेल
क्याम्पस प्रमुख
जनभावना क्याम्पस

सञ्चालक समिति र सम्पूर्ण शिक्षकलगायत क्याम्पसलाई गुणस्तरीय बनाउन योगदान दिने सबैका कारण क्यूएए प्रमाणपत्र पाएका हौं। प्रमाणपत्र पाएमा हामी खुसी हुनु स्वाभाविक हो, तर हाम्रासामु त्यतिकै चुनौती थपिएका छन्।

अब क्याम्पसमा कसरी गुणस्तरीयता कायम गर्ने, विद्यार्थीको संख्या कसरी वृद्धि गर्ने, सूचना प्रविधिमा आधारित प्रणालीलाई कसरी अघि बढाउनेलगायतका चुनौती हामीसामु देखिएका छन्।

विश्वविद्यालय अनुदान आयोगले प्रमाणपत्र दिएलगत्तै हामीले क्याम्पसलाई अब कसरी अघि बढाउने भन्ने विषयमा सोच्नु आवश्यक छ। २०७२ सालदेखि निरन्तररूपमा प्रयास गरेपछि प्रमाणपत्र पाएका हौं।

दक्षिण ललितपुरका विद्यार्थीलाई लक्षित गरी खोलिएको यो क्याम्पस विद्यार्थीको चाहना पूरा गर्न सफल भएको छ। क्यूएएको प्रमाणपत्र पाएपछि नयाँ विषय थप गर्ने, आफै पाठ्यक्रम बनाउने र पठन पाठन गर्ने योजना अघि सारेका छौं।

जहाँसम्म हामीलाई आयोगले दिएको प्रमाणपत्रले शिक्षा क्षेत्रमा थप विकास गर्ने ऊर्जा मिलेको छ। अब नयाँ ढंगले क्याम्पसलाई अघि बढाउने र क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक सुधार गर्ने प्रण हामीले गरेका छौं।

क्याम्पसमा शैक्षिक सुधार गर्छौं

भोला ओझा
क्याम्पस प्रमुख
जनमैत्री क्याम्पस
कुलेश्वर

क्यूएए प्रमाणपत्र पाएकामा हामी पूर्णरूपमा खुसी भएका छौं। क्याम्पस सञ्चालक समिति, विद्यार्थी र सम्पूर्ण शिक्षक तथा कर्मचारीको अथक मेहनतपछि हामीले पाएको यो प्रमाणपत्रको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा थप सक्रिय भएर अघि बढ्ने योजना बनाएका छौं।

ग्र्याजुएट पूरा गरेका विद्यार्थीबाट पाँच वर्षका लागि पाउने रकमले क्याम्पसको शैक्षिक सुधारमा प्रयोग गर्नेछौं। अब हामी स्वायत्ततामा जाने बाटो खुलेको छ। अब हामी नयाँ विषय थप गर्न त्रिविलाई दबाब दिनेछौं। क्यूएए प्रमाणपत्र पाइसकेपछि विश्वविद्यालयले विषय थप गर्न दिनुपर्छ।

नयाँ विषय थप गरी नयाँ ढंगबाट पढाउने योजना बनाएका छौं। अटोनोमिमा जाने बाटो खुलेसँगै अब हामीले आफै पाठ्यक्रम बनाउने र परीक्षा लिने योजना बनाएका छौं। परीक्षाफल प्रकाशित गर्ने अधिकार विश्वविद्यालयलाई मात्रै भएकाले पाठ्यक्रम बनाएर स्वीकृत गर्ने र आफैले परीक्षा लिने तयारी गरेका छौं।

क्याम्पसको टिमले मेहनत गरी पाएको यो प्रमाणपत्रको सदुपयोग गर्नेछौं। यो खुसीको क्षणमा हामीले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न थप नयाँ योजना बनाउने तयारी गरेका छौं।

क्याम्पसमा हाल करिब १ हजार ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन्। नयाँ विषय थपेर विद्यार्थी संख्यामा वृद्धि गर्ने योजना अघि सारेका छौं।

हाम्रो प्रयास सफल भयो

हरिसिंह खाती
क्याम्पस प्रमुख
कञ्चन विद्या मन्दिर
कञ्चनपुर

लामो समयको मिहेनत सफल भएको छ। हाम्रो कलेजको प्रयासको मूल्याङ्कन हो। अब हामी कलेजलाई उत्कृष्ट बनाउनेछौं। महाकाली अञ्चलकै नमुना सामुदायिक क्याम्पसका रूपमा कहलिएको हाम्रो क्याम्पस यो स्थानमा आउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको विशेष सहयोग रहेको छ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग अपरिहार्य छ। वर्षौंदेखिको सपना साकार भएको छ। अब क्याम्पसको शैक्षिक गुणस्तरलाई माथि पुर्याउन थप मेहनत गर्छौं।क्यूएए प्रमाणपत्र पाउने महाकाली अञ्चलमै पहिलो सामुदायिक क्याम्पसको हैसियतमा भन्नुपर्दा म यो भन्न चाहन्छु कि अब हामीले अवसर पाएका छौं, सो अवसरलाई उचाइमा पुर्याउन थप मेहनत गर्नेछौं।

करिब १ हजार विद्यार्थी रहेको यो क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्नेछौं। त्यसमा सबै कञ्चनपुरबासीको हात पनि रहेको हुन्छ। उहाँहरूको सहयोगको अपेक्षा राखेको छु।

जिम्मेवारी बढ्यो

केजी बैदवार
क्याम्पस प्रमुख
काभ्रे बहुमुखी क्याम्पस बनेपा

क्यूएए प्रमाणपत्र पाउने प्रक्रियामा जान करिब पाँच वर्ष लाग्यो। सबै शिक्षक, व्यवस्थापन समिति, सञ्चालक शिक्षकहरूको मेहनतको कारण यो स्थानमा आएका छौं। प्रमाणपत्र पाउँदा अत्यन्तै खुसी लाग्यो। अब थप जिम्मेवारी बढ्यो।

नयाँ शैक्षिक काम गर्न र शैक्षिक गुणस्तर कायम गर्ने काम शुरुआत गर्नेछौं। सरकारले जारी गरेको शिक्षा नीतिमा सबै क्याम्पसलाई क्यूएए प्रमाणपत्र लिनैपर्ने व्यवस्था गरेको छ। हामीले त सरकारको नीतिमा उल्लेख भएभन्दा पहिला नै प्रमाणपत्र पायौं।

१ सय २० वटा इन्डिकेटर पूरा गर्दा धेरै कुरा सिक्यौं। क्याम्पसलाई कसरी सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा दिन कस्तो योजना अवलम्बन गर्नेलगायतका विषयमा जानकारी पायौं। सीमित स्रोत र साधनको बाबजुद हामीले प्रमाणपत्र पाएका छौं।

अब क्याम्पसलाई नमुना क्याम्पसका रूपमा अघि बढाउँछौं। नयाँ नीति निर्माण गर्छौं। अहिले कक्षा ११ र १२ सहित उच्च शिक्षासमेत गरी करिब १ हजार ३ सय विद्यार्थी छन्। उनीहरूलाई थप गुणस्तरीय शिक्षा प्रदान गर्नु कलेजको लक्ष्य हो।

प्रतिक्रिया दिनुहोस्