मनोनयमा परेका कलाकारको नजरमा कसले जित्छ अवार्ड !



विधा : सर्वोत्कृष्ट पाश्र्वगायक
कामना अवार्डमा नजाँदा
पनि अवार्ड पाएको छु
सुगम पोखरेल

फिल्म ः रामकहानीको तिम्रो लागि र बाँध मायालेको सँगसँगैअवार्ड डिर्जभिङले नै जित्नुहुन्छ। अवार्डको नोमिनेसनमा पर्दा खुसी छु।
सबै जनाको स्वर राम्रो भएका कारण नै नोमिनेसनमा परेका होलान्। म दुई गीतबाट नोमिनेसनमा परेको छु, तर जति धेरै नोमिनेसनमा पर्यो, त्यति अवार्ड पाइँदैन भन्ने लाग्छ।
कामना फिल्म अवार्डमा म नगएको वर्ष पनि अवार्ड पाएको छु। यस कारण विश्वास लाग्छ। सबैजनालाई शुभकामना !
सुगम दाइले जित्नुहुन्छ
प्रतापदास

फिल्म : अनुरागको तिम्रो स्वरमा
पक्कै पनि सुगम दाइले जित्नुहुन्छ। किनभने म उहाँको फ्यान हो। दाइको दुईओटा गीतमध्ये राम कहानीको तिम्रो लागि म छु बोलको गीत राम्रो लागेको छ।
सायद यही गीतबाट जित्नुहुन्छ कि। उहाँको अगाडि मेरो कुरा गर्दा मैले त भर्खरै गायनमा शुरूआत गरेको छु। फेरि आफ्नो बारेमा आफैले कसरी भन्नु?
आफै जित्न पाए हुन्थ्यो
डेविड शंकर
फिल्म ः छक्का पञ्जा ३ को पहिलो नम्बरमा
अफ कोर्स अवार्ड आफैले जित्न पाए हुन्थ्यो भन्ने त मानवीय स्वभाव नै हो। मलाई पनि त्यस्तै लाग्छ। मेरो क्रिएसनलाई सबैले मन पराउनुभएको पनि छ। हेरौं कसले जित्नुहुन्छ?
विधा ः सर्वोत्कृष्ट संगीतकार
जुनबाट जिते पनि ठूलो कुरा होइन
वसन्त सापकोटा
फिल्म ः बोबीको आँखाको नानी र नाइँ नभन्नु ल ५ को तिम्रो आँखामा

मैले देख्दा सबै पाँच गीतको संगीत राम्रो छ। सबै गीतहरू अवार्डका लागि डिर्जभिङ छन्। मेरो दुईओटै गीत उस्तै राम्रो छन्।
यदि अवार्ड जितें भने दुईटामध्ये जुनबाट जिते पनि ठूलो कुरा होइन।
कालिप्रसादले जित्नुहुन्छ कि !
सरोज पोखरेल
फिल्म : अनुरागको तिम्रो स्वरमा
अवार्ड जसले जित्दा पनि हुन्छ। सबैलाई आफूले नै जिते हुन्थ्यो भन्ने त लागिहाल्छ। तर पनि मलाई कालिप्रसाद दाइको गीत मन पर्छ। उहाँले जित्नुहुन्छ कि?
सबै दाबेदार हुनुहुन्छ
आशिष अविरल

फिल्म :ए मेरो हजुर ३ को जिन्दगी नै भन्दिनँ
पपुलारिटी, युट्युब भ्युज र क्रियटिभिटीको हिसाबले भन्ने हो भने जिन्दगी नै भन्दिनँको संगीत उत्कृष्ट छ। यहीअनुसार हेर्ने हो भने उत्कृष्ट संगीतकारको अवार्ड मैले नै पाउनुपर्ने हो। कामना अवार्ड प्रेस्टिजियस अवार्ड भएकाले नोमिनेसनमा पर्दा नै मख्ख पर्या छु। हुन त सबैलाई अवार्ड मैले नै पाए हुन्थ्यो भन्ने लाग्छ। सबै जना अवार्डको दाबेदार हुनुहुन्छ।
विधा : सर्वोत्कृष्ट गीतकार
नयाँ प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ
दिवेश उप्रेती
फिल्म ः यात्राको डुली डुली
नयाँ प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। मनोनयनमा दिग्गज र धेरै प्रतिभावान् गीतकार हुनुहुन्छ। निकै सुन्दर रचनाहरू मनोनित भएका छन्। मूलधारका गीतमा नयाँपन र मीठा प्रयोगहरू भए नौलो किसिमको रमाइलो महसुस हुन्छ।
ताजापन, गाउने सहजता, शब्दचयन र पात्रको चरित्रलाई न्याय गर्ने गरी लेख्न भरपूर प्रयास गरेको छु। एकै धारमा नबगाई नवीनता प्रदान गर्ने रचनाले माया पाएको देख्दा खुसी छु। पुरस्कार र त्यस उपरान्तका लागि सबैलाई शुभकामना दिन चाहन्छु।
भन्न सक्दिनँ
कालिप्रसाद बास्कोटा
फिल्म : साइँलीको बगिरहें (गीतकार र संगीतकार ) 
कामना परिवार र सम्पूर्ण जुरीलाई धन्यवाद सम्झिनुभएकोमा। गीतकार र संगीतकार दुईओटा विधामा नोमिनेसनमा परेको रहेछु।
सबैलाई शुभकामना।अवार्डचाहिँ कसले जित्छ भन्न सक्दिनँ। एकदमै गाह्रो कुरा हो।
मैले भन्न सक्ने कुरा होइन
विप्लव प्रतीक

फिल्म ः गोपीको तेरो आफ्नो भन्नु
त्यो त मैले भन्न सक्ने कुरा होइन। कुनै पनि गीत कुनैभन्दा कमजोर हँुदैन। सबैभन्दा खुसीको कुरा मनोनयनमा पर्नु हो। सबै गीतलाई शुभकामना !
दर्शक स्रोताबाट उत्कृष्ट हुन्छ
दिनेश थपलिया
फिल्म :नाइँ नभन्नु ल ५ को तिम्रो आँखामा
सबै गीतहरू निश्चित परिभाषा, पृष्ठभूमि र विषयवस्तुमा बनेको फिल्मको आधारमा लेखिएका छन्। फिल्मको कथाले के मागेको छ, त्यहीअनुरूप गीत लेख्नुपर्ने हुन्छ। मलाई लाग्छ सबै गीतहरू फिल्मको कथामा आधारित रहेर लेखिएको हुन्छ।

गीत भनेको फिल्मको केन्द्रविन्दु हो, जसले कथालाई प्रतिबिम्बित गर्छ। यस कारण मैले यो गीत उत्कृष्ट छ भन्नु भन्दा पनि दर्शक स्रोताको बुझाइ र धारणाबाट कुनै पनि गीत उत्कृष्ट हुन्छ।

मैले जिते पनि खुसी हुन्छु
एकनारायण भण्डारी

फिल्म ः ए मेरो हजुर ३ को जिन्दगी नै भन्दिनँ
कामना फिल्म अवार्ड प्रतिष्ठित अवार्ड हो। यसमा मनोनयनमा पर्दा खुसी छु। यो गीत धेरै अवार्डमा नोमिनेसनमा पर्दै आइरहेको छ, कुनैमा अवार्ड जितिन्छ, कुनैमा जितिँदैन। यसलाई मैले ठूलो विषयको रूपमा लिन्न।
मनोनयनमा परेका सबै गीत राम्रा छन्। यसमा मैले अवार्ड जिते भने खुसी नै हुनेछु। मेरो काम चलेछ भन्ने लाग्नेछ। अग्रज दाइहरूले पाउनुभए पनि खुसी नै हुनेछु। सबैलाई शुभकामना⁄
विधा : सर्वोत्कृष्ट संवाद
हाम्रै फिल्मले जित्छ
यमन श्रेष्ठ
फिल्म : छक्का पञ्जा ३ (दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालका साथ संयुक्त)
सबै फिल्म राम्रा छन्। सबै जनाले आआफ्नो फिल्ममा उत्तिकै मेहनत गरेका हुन्छन्।
तर आवर्डचाहिँ छक्कापञ्जा ३ बाट हामीले नै पाउँछौं कि जस्तो लाग्छ। हुन त सबैले मेहनत गरेका हुन्छन्। तर आफ्नो मेहनत आफूले देख्ने हुनाले आफ्नो फिल्मले जित्छ कि जस्तो लाग्छ।
विधा : सर्वोत्कृष्ट पटकथा
नतिजाको पर्खाइमा छु
सुशील पौडेल
फिल्म : प्रसाद (संवादमा समेत)
पटकथाको मनोनयनमा पर्नुहुने सबैलाई बधाई दिन चाहन्छु। वर्षभर रिलिज भएका फिल्मबाट उत्कृष्ट पाँचभित्रमै पर्नु पनि उपलब्धि हो भन्ने लाग्छ। सबै प्रतिस्पर्धी एकसे एक हुनुहुन्छ।
यीमध्ये कुनले अवार्ड जित्छ र सर्वोत्कृष्ट ठहरिन्छ भन्ने मेरा लागि पनि प्रतीक्षाको विषय हो। कसले र कुन फिल्मले जित्छ भन्ने क्षेत्राधिकार निर्णायकको हो र उहाँहरूको नतिजाको पर्खाइमा छु। म संवादको मनोनयमा पनि परेको रहेछु।
संवादले फिल्मको पटकथालाई अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। पछिल्लो समय जबरजस्ती हसाउनकै लागि कथा र पटकथाको गतिलाई अघि नबढाउने तर तात्कालिक दृश्यलाई रमाइलो पार्न ठट्यौली र द्विअर्थी संवादको प्रयोग गर्ने चलन बढेको छ।
निर्णायक मण्डल यस कुरामा सचेत नहुने कुरै हुँदैन। त्यसैले सम्मानित जुरीले संवाद विधामा जसलाई उत्कृष्ट ठान्नुहुनेछ, त्यो मेरा लागि मान्य हुनेछ। मैले मेरो कर्म गरिसकेको छु। अब यसको मूल्यांकनको सबै जिम्मा र अधिकार जुरीमै छोड्न चाहन्छु।
योग्य फिल्मले पाउँछ
सामिप्यराज तिमल्सिना
फिल्म ः नाइँ नभन्नु ल ५
मनोनयनमा पर्ने सबै फिल्मको सम्भावना उत्तिकै छ। तर, कता कता आफ्नै फिल्मले पाउँछ जस्तो लाग्छ। पाएन भने पनि कुनै योग्य फिल्मले नै पाउँछ भन्ने लाग्छ।

प्रतिक्रिया दिनुहोस्