हिउँ परेपछि सडक निर्माण कार्य अवरुद्ध



नेपाल समाचारपत्र, मुगु।

मुगु र हुम्ला जोड्ने गमगढी–चंखेली हुँदै हुम्लाको दार्म–देउलीसम्मको ६७ किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको छ। भारी हिमपातका कारण निर्माण कार्य एक हप्ता अघिदेखि अवरुद्ध भएको हो।

मुगुका उच्च हिमाली भेगलगायतका क्षेत्रमा भएको हिउँ अझैसम्म नपग्लिएपछि र कठांग्रिने चिसोका कारण कामदार चिसोले भागेपछि अझै कामदार काममा फर्किएका छैनन्।

चंखेलीमा ३ फिट र सातथाप्लेलगायतका स्थानमा दुई फिटसम्म हिउँ जमेका कारण कार्यमा कठिनाइ भएको हो। गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडकमा एकसय तीन समूहले काम गरिरहेका थिए।

अहिले पनि हिउँ नपग्लिएको र चिसो बढेकोले मौसम परिवर्तन भई बाक्लो हिमपात भएपछि कामदार चिसो खप्न नसकि आ–आफ्नो घरमा गएका र सडक निर्माणको काम रोकिएको ग्रामीण पहुँच कार्यक्रम मुगु हुम्ला लिंक रोडका प्रोजेक्ट फिल्ड म्यानेजर विष्णुराम विष्टले जानकारी दिनुभयो।

गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउलीसम्म सडक ६७ किलोमिटर छ। तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहे पनि हिमपातले सडक निर्माणको कामलाई प्रभावित बनाएको फिल्ड म्यानेजर विष्टले बताउनुभयो।

सडक निर्माणको काम २०२० अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। लक्ष्यअनुसार नै धमाधम काम भइरहेकाले मुगुको सिमाना आसपासमा काम तोकिएकै समय सम्पन्न गर्न सकिने र हुम्ला क्षेत्रमा तोकिएको मिति भन्दा केही महिना यस्तै हिमपातलगायत विविध कारणले धकेलिने ग्रामीण पहुँच कार्यक्रम फिल्ड म्यानेजर विष्टको भनाइ छ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सडकको काम अहिलेसम्म ५८ किलोमिटर ट्रयाक खुलिसकेको र बाँकी नौ किलोमिटर ट्र्याक खुलाउन बाँकी रहेको छ। काम गर्ने मेसिन चिसोका कारण थन्किएका छन्।

प्रतिक्रिया दिनुहोस्