‘नेपाल भ्रमण वर्ष’ को तयारी तिब्र



मोतीराम तिमल्सिना, काभ्रे ।

भ्रमण वर्ष २०२० मनाउन गठन भएको जिल्ला स्तरीय, नगर स्तरीय र गाउँपालिका स्तरीय समितिहरुले तयारी थालेका छन् । जिल्ला समन्वय समिति, १३ वटै स्थानीय तह, विभिन्न संघ संस्थाहरुले नेपाल भ्रमण वर्षको तयारीमा जुटेको बताएका छन् ।

‘एक्सन प्लान सहितको जिम्मेवारी बाँडफाँड गरेर नेपाल भ्रमण वर्ष मनाउने गरी कार्यक्रम र पूर्वाधार निर्माण गरिरहेका छौं’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रत्येक महिना ठुला–ठुला कार्यक्रम हुनेछन् भने हप्ताको तीन दिन शुक्रबार, शनिबार र आईतबार साँझ स्थानीय संस्कृति सहितको सांस्कृतिक कार्यक्रमका साथ फुड फेस्टिबल आयोजना हुनेछ ।’

धुलिखेल नगर क्षेत्र भित्र पर्ने अरनिको र विपी राजमार्गमा १० वटा पार्क प्रतिक्षालय, शौचालय सहितको निर्माण हुँदैछ । १२ वटै वडामा पर्यटकिय पार्कहरु निर्माण भईरहेका छन् । पर्यटक सूचना बोर्ड, नियमित सरसफाई, पर्यटकहरुलाई स्वागत, कोसेली घरलाई अझै समृद्ध बनाउने, साहित्यकुञ्ज सहितका पार्क, मनोरेल, जीपलाईन जस्ता महत्वपूर्ण कार्य भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

इको ट्रेल, धुलिखेलमा निर्माण भएका र हुँदै गरेका होटलहरुमा आउने पर्यटकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुका लागि डेड करोड रकम विनियोजन गरिएको छ भने पूर्वाधार निर्माणका लागि ५/६ करोड रकम विनियोजन भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा पर्यटन ब्यवसायी ज्योत्सना सैजु, मनिष यगोल लगायतले धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन नगरपालिकाले ल्याएका कार्यक्रमहरुमा साझेदारी बन्ने बताउनु भएको थियो ।

बेथान्चोक गाउँपालिकाले नेपाल भ्रमण वर्षको अवसर पारी एकै दिन जिल्लाको अग्लो स्थान बेथान्चोक नारायणस्थानमा २ हजार पर्यटक एकै दिन पदयात्रा गराउने भएको छ । अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले त्यसका लागि पालिका र वडा स्तरीय समितिहरु गठन भई आवश्यक तयारी शुरु गरिएको बताउनु भयो ।

बेथान्चोकमा उत्पादन हुने आर्गानिक खुवा, तरकारी लगायतका अन्य बस्तुहरुको उत्पादनसँगै विक्री वितरण गर्ने गरी पर्यटकहरुको रोजाई र आर्कषक बनाउन कार्य गरिरहेको बताउनु भयो ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले नगरकोटमा आएका पर्यटकहरुलाई इन्द्रावती खोलामा पौडी खेल्न आउने र सुनकोशीको माछा खाने वातावरण बनाउन विभिन्न योजना तयार पारिएको बताउनु भयो । मण्डनदेउपुरका विभिन्न स्थानबाट नगरकोटसम्म हाईकिङ्ग गर्ने तथा नगरकोटका आसपासका नगरपालिकाहरुसँग बसेर थप कार्यक्रम तयार गर्ने प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो ।

जिल्ला स्तरीय कार्यक्रम तय

नेपाल भ्रमण वर्षका लागि जिल्ला स्तरीय कार्यक्रम तय भएका छन् । समन्वय प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेका बैठकमा जिल्लाका सबै तहका जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, स्थानीय संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकले सचिवालय गठन, प्रचार प्रसार समिति, जिल्ला स्तरीय विभिन्न कार्यक्रम तय गरेको छ । यस अघि भेलाले नेपाल भ्रमण वर्षका लागि १ सय ५१ मुल समारोह समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्