भ्रमण बर्षको नयाँ गन्तव्यः पहराको एउटै ढुङ्गामा सात कुण्ड



चिरञ्जीवी मास्के, दोलखा ।

सु्न्द्रावतीका खड्गबहादुर शिवाकोटीले ६० बर्ष अघिको एउटा घट्ना सम्झिए । सुन्द्रावती सेतिदेवीको महिमा बर्णन गर्दै उनले भने – म त्यस्तै १२ बर्षको थिए, हाम्रो ६० वटा खसी बोका (बस्तु) जङ्गलमा चराएर फर्कदै गर्दा तीन वटा हराए अनि बुबाले सुन्द्रावती सेतिदेवीको कुण्डमा धुप बत्ति गरेपछि हराएको चौथो दिनमा बस्तु त गोठमै आईपुगेछ !

दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीमा रहेको सुन्द्रावती सेतीदेवीको महिमा त्यतिमै सकिदैन ।

पहराको एउटै दुङ्गामा सात वटा कुण्ड रहेको सुन्द्रावती सेतिदेवीको खड्कुले कुण्डबाट उहिले उहिले गोठाला तथा गाँउलेहरुलाई केहि चाँडपर्व वा केहि कार्य गर्नुपर्दा भाँडा वर्तन आवश्यक प¥यो भने माग्ना साथ निकाल्न सकिन्थ्यो ।

त्यसरी निकालिएको भाँडावर्तन काम सकिएपछि सफा गरेर त्यहि कुण्डमा राखिदिनु पथ्र्यो । तर एक पटक एक जनाले काम सकिएपछि भाँडा वर्तन सफा नगरी कुण्डमा राखिदिएको र त्यसपछि भाँडावर्तन निस्कन छोडेको स्थानिय गणेश सेढाईले बताउनु भयो ।

कुण्डबाट भाँडावर्तन निस्कने किम्वदन्तिको बारेमा वडा नम्बर ९ सुन्द्रावतीका वडा अध्यक्ष रामप्रसाद मैनालीले आफ्नो समुदायको कथा थप्दै भने – त्यस्तै १८६० सालतिर मैनालीहरु सुन्द्रावती आएका रहेछन् । उनीहरुले सुन्द्रावती आएर कालिकामाई भगवतीको गुठी चलाए । गुठीको बिभिन्न कार्यगर्दा आवश्यक पर्ने भाँडावर्तन यहि खड्कुले कुण्डमा मागेर लाने गरेका थिए रे ।

एउटा ठूलो पहरामा रहेको सुन्द्रावती सेतिदेवी ठूलो क्षेत्रमा फैलिएको छ । दुई सय बर्ष भन्दा अघिदेखि यहाँको कुण्डहरुमा पुजा हुदै आएको स्थानिय बताउछन् । उहिल्य उहिल्य गाँउलेहरु खड्गमा गोठ लानु अघि सुन्द्रावती सेतिदेवीको पुजा गर्ने र त्यसो गर्दा बस्तुहरुलाई कुनै नोक्सानी नहुने खड्गबहादुरले बताउनु भयो ।

कुण्ड आसपास चारवटा आकर्षक पाहा बस्ने गरेको स्थानिय बताउछन् । चारवटा पाहामा एक जोडि सुनौलो रङ्गको र अर्को जोडि चाँदी रङ्को निक्कै आकर्षक रहेको खड्गबहादुरको भनाई छ ।

सुन्द्रावती सेतिदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा तलदेखी माथिसम्म सुन्द्रावती सेतिदेवी भगवती कुण्ड, खड्कुले कुण्ड, गणेश कुण्ड, दूध कुण्ड, कामलुङ पोखरी लगायत सात वटा कुण्ड रहेका छन् ।

मुख्य कुण्ड सुन्द्रावती सेतिदेवी भगवती कुण्डमा पुजा हुने स्थानियको भनाई छ । भगवती कुण्ड आसपास ढुङ्गाको मूर्ति र त्रिशुलहरु समेत रहेको छ । भगवती कुण्डमा सुद्धमनले पैसा या दुध चढाउदा पानी भित्र जाने तर मनमा पाप भएकाहरुले चढाउदा बाहिर निस्कने जनविश्वास समेत रहदै आएको छ ।

झण्डै २३ सय मीटरको उँचाईमा रहेको भगवती कुण्डको गहिराई अहिलेसम्म कसैले पनि नाप्न सकेका छैनन् । एउटा लामो बाँस कुण्डमा डुबाउदा पनि फेद नभेटिएको स्थानिय रोमन थामीले बताउनु भयो । सुन्द्रावती सेतिदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णीमा आदी पर्वमा ठूलो मेला लाग्ने गरेको छ ।

प्राकृतिक रुपमा अद्भुत र आकर्षक कुण्डहरु रहेको, धार्मिक एवं ऐतिहासीक महत्व रहेको सुन्द्रावती सेतिदेवी कुण्ड भ्रमण बर्ष २०२० को महत्वपूर्ण गन्तव्य हुने भएकोले यसको प्रवद्धनको लागि सबैले सहयोग गर्नु पर्ने दोलखाका युवा व्यवसायी एवं स्थानिय गणेशबिक्रम शाहि बताउनु हुन्छ ।

सुन्द्रावती सेतिदेवी कुण्ड पुग्न चरिकोटबाट कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ को कटुवाचौरसम्मको १८ किलोमीटर पिच सडक तथा कटुवाचौरबाट सात किलोमीटर कच्ची सडकमा यात्रा गरेपछि झण्डै एक किलोमीटर सिढी चढ्नु पर्छ ।

कुण्डसम्म पुग्ने सडकलाई १२ रै महिना सञ्चालन गर्न वडाले आवश्यक स्तरोन्नतीको काम गरिरहेको र कुण्डको प्रवद्धनको लागि सप्ताह लगाउने तथा कुण्ड आसपास थप व्यवस्थापन गर्ने तयारी समेत गरिरहेको वडा अध्यक्ष रामप्रसाद मैनालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्