अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा कन्सर्ट



नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकत्ता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ मा भएको छ।कोलकत्तास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो।

राराहिल स्कुलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गर्नुभएको हो।

११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनोट भएको ‘करेसा कन्सर्ट’ सँगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्चन भएको थियो। महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरू पनि सहभागी छन्।

राराहिल कीर्तिपुरकै विद्यार्थीले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’ मा हाम्रा करेसाबारीका तरकारी पात्रहरूको कथा छ। नाटकमा विभिन्न पात्रमार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसका लागि आवश्यकता उल्लेख गरिएको छ।

साथै नाटकले अर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्योलता र निर्णयलाई चित्रण गरेको छ। नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ।

रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरू संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन्। राराहिलका सुनील महर्जन र निरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार नेपाल आउँदै छ।

रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पार्नुभएको हो।अरू देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति बेवास्ता छ। बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिबद्ध छ।

 

प्रतिक्रिया दिनुहोस्