शताब्दी पुरुष जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार



यदुप्रसाद भट्ट

[email protected]

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै वाङ्मयका विभिन्न क्षेत्रमा सिर्जना र अन्वेषणका माध्यमबाट गहकिलो योगदान गर्दै आएका स्रष्टा र विद्वान्हरूलाई पुरस्कृत गर्ने उद्देश्यले विभिन्न पुरस्कारको स्थापनासहित समय–समयमा अर्पणसमेत गर्दै आएको छ।

हाल नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत पृथ्वी प्रज्ञा पुरस्कार, नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शन पुरस्कार, नेपाल प्रज्ञा भाषा पुरस्कार, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार र नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार सञ्चालनमा रहेका छन्।

यी पाँचओटा पुरस्कारमा पृथ्वी प्रज्ञा पुरस्कार नेपालभरका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रमध्ये जुनसुकै विषय क्षेत्रका माध्यमबाट राष्ट्र र समाजका लागि विशिष्ट योगदान गरेका वरिष्ठतम र ख्यातिप्राप्त साधकलाई प्रदान गरिन्छ। प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि पनि ४ लाख नै रहेको छ।

प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित र सञ्चालित प्रज्ञा पुरस्कारहरूमध्ये २०७५–२०७८ सालका लागि पृथ्वी प्रज्ञा पुरस्कार साढे सात दशकभन्दा लामो समयदेखि अनवरत वाङ्मय साधना गरी नेपाली संस्कृति, पुरातत्व, कला र साहित्यका क्षेत्रमा अन्वेषण तथा सिर्जनाका माध्यमबाट नेपाली भाषामा ३० ओटा र नेपाल भाषामा ४३ ओटा पुस्तक लेखनसहित गर्नुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ।

नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार नेपालका सामाजिक शास्त्रीय, पुरातात्विक तथा सांस्कृतिक एवं लोकवार्तापरक र दर्शनशास्त्रीय अध्ययन अनुसन्धानमा गहकिलो योगदान गरेका साधकमध्येबाट वरिष्ठतम साधकलाई विषयगतरूपमा यथासम्भव पालैपालो छनोट गरी प्रदान गरिन्छ। प्रत्येक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि १ लाख रहेको छ।

पाँच दशकभन्दा लामो समयदेखि नेपाली इतिहासलगायत सामाजिकशास्त्र विषयसँग सम्बद्ध डेढ दर्जन गहकिला अनुसन्धानपरक पुस्तकको लेखन र सम्पादनका माध्यमबाट गर्नुभएको विशिष्ट योगदानको कदर गर्दै २०७५–२०७६ सालका लागि नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शन पुरस्कार प्राडा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको छ।

नेपाल प्रज्ञा भाषा पुरस्कार नेपालका नेपालीलगायत सबै भाषाका अध्ययन परम्परामा ध्वनि वैज्ञानिक, रूपतात्विक, वाक्य वैज्ञानिक, अर्थ वैज्ञानिक, शब्दकोशीय र परम्परागत व्याकरणात्मक अध्ययन एवं अनुसन्धान गरी विशिष्ट योगदान गरेका वरिष्ठतम साधकलाई प्रदान गरिन्छ। यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ र यसको राशि १ लाख रहेको छ।

प्राडा टंकप्रसाद न्यौपानेले चार दशक लामो समयदेखि साधनारत रही नेपाली भाषाका साथै नेपालका अन्य मातृभाषा र भाषा विज्ञानसँग सम्बद्ध एक दर्जनभन्दा बढी पुस्तकको लेखनसहित नेपालका भाषाहरूको श्रीवृद्धिमा पुर्याउनुभएको महनीय योगदानको कदरस्वरूप २०७५–२०७६ को नेपाल प्रज्ञा भाषा पुरस्कार उहाँलाई प्रदान गरिएको छ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार नेपाली साहित्यका विभिन्न विधामा सिर्जना, समालोचना र अनुसन्धानका माध्यमबाट गुणवत्तापूर्ण योगदान गरेका वरिष्ठतम साधकलाई प्रदान गरिन्छ। प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारको राशि १ लाख रहेको छ।

नेपाली कविताका क्षेत्रमा साढे पाँच दशकदेखि प्रयोगपरक शिल्पशैलीका कलात्मक कविता सिर्जनामा साधनारत रहेर गर्नुभएको अमूल्य योगदानको कदर गर्दै २०७५ सालका लागि वरिष्ठ कवि मदन रेग्मीलाई र साढे पाँच दशकदेखि विधागत सचेततासहित कलात्मक कथा र उपन्यासका माध्यमबाट नेपाली आख्यान साहित्यमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै २०७६ सालका लागि वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार नेपालका नेपालीबाहेकका राष्ट्रभाषा/मातृभाषाका साहित्यको सिर्जना, समालोचना र अनुसन्धानमा गहकिलो योगदान गर्ने वरिष्ठतम दुई जना साधकलाई प्रदान गरिन्छ।

१–१ लाख राशिको यो पुरस्कार प्रत्येक वर्ष पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि एक जनालाई र तराई÷मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि एक जनालाई प्रदान गरिन्छ। यी दुई पुरस्कार क्रमशः पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि अमर तुम्याहाङ र तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ।

यसै गरी पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषामध्ये तामाङ भाषा साहित्यमा तीन दशकदेखि सिर्जना र अनुसन्धानका माध्यमबाट तामाङ भाषा साहित्यको गौरव वृद्धिमा पुर्याउनुभएको योगदानको कदरस्वरूप अमृत योञ्जन तामाङलाई र तराई/मधेसमा बोलिने मातृभाषामध्ये दुई दशकभन्दा लामो समयदेखि सिर्जना र अनुसन्धानका माध्यमबाट थारू भाषा साहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको योगदानको कदरस्वरूप अशोक थारूलाई २०७६ सालको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गरिएको छ।

त्यसै गरी हेम प्रभाष (धादिङ) लाई ‘परदेश गएका पतिका नाममा’ शीर्षक कविताका लागि नगद ३० हजार र पदकसहित प्रथम पुरस्कार प्रदान गरिएको छ। सुभाषचन्द्र भण्डारी (डोटी) लाई ‘किनाराका अलिखित संवेगहरू’ शीर्षक कविताका लागि नगद २५ हजार र पदकसहित द्वितीय पुरस्कार प्रदान गरिएको छ। जनही नगद २० हजार, पदकसहित तीन जनालाई तृतीय पुरस्कार प्रदान गरिएको छ।

लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, सोलुखुम्बुका शान्ति शर्माले ‘उज्यालोको गीत’ र काठमाडौंका प्रकाश बस्नेत ‘गफाडी’ ले ‘इन्द्रधनुष’ कविताका लागि तृतीय पुरस्कार पाउनुभएको थियो। पुरस्कृत व्यक्तित्वले कार्यक्रममा आफ्ना रचना वाचन गर्नुभएको थियो।

यी सबै पुरस्कार तथा सम्मान एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको थियो।२०३१ मा स्थापना भएर २०३५ सालदेखि प्रदान गर्न थालिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट यसअघि गणतन्त्रपूर्व कालमा बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लैनसिंह वाङ्देल र गोविन्दबहादुर मल्ल ‘गोठाले’ एवं गणतन्त्र स्थापनापश्चात् मोदनाथ प्रश्रित र डा. तारानाथ शर्मा सम्मानित भइसक्नुभएको छ।

यस्तै गरी गणतन्त्रपूर्व कालमा स्थापना र सञ्चालनमा रहेका पुरस्कारहरूबाट वाङ्मयका विभिन्न विधाका विदेशी ६ जना विद्वान्सहित ९१ जना विद्वान् लेखक र साहित्यकार एवं गणतन्त्रको आगमनपश्चात् स्थापित पृथ्वी प्रज्ञाबाहेकका अन्य पुरस्कारबाट यसअघि २६ जना स्रष्टा तथा लेखक सम्मानित भइसक्नुभएको प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो। उहाँले यसै वर्ष थप विषय र क्षेत्रलाई समेत समेट्ने गरी नयाँ प्रज्ञा पुरस्कारको स्थापना गरेको जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्