काठमाडौँ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कृषि विकासका लागि सहयोगार्थ अन्तर्राष्ट्रिय कोष (आइफ्याड) ले मुलुकका साना किसानको उत्पादन बढाउन जोड दिइरहेको बताएका छन् । यी दुई निकायले आज संयुक्तरूपमा ‘मुलुकको रणनीति र कार्यक्रम मूल्याङ्कनका लागि राष्ट्रिय कार्यशाला’ नामक एकदिने कार्यशालाको आयोजना गरी उक्त कुराको जानकारी दिएका हुन् ।
मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले साना किसानको क्षमता अभिवृद्धि गरी कृषिमा आर्थिक वृद्धिदर गराउने मुलुकको योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको अतिग्रामीण भेगमा रहेका किसानले उत्पादनको सही मूल्य पाउन सकेका छैनन् । देशमा खाली रहेको जग्गालाई कसरी प्रयोग गर्ने, किसानलाई कसरी अघि बढाउने भनेर हामीहरु अघि बढिरहेका छौँ ।”
समयअनुसार कुन किसिमको बाली उत्पादन गर्ने र कुन बाली उत्पादन गर्दा बढी मुनाफा कमाउन सकिन्छ भनेर त्यसमा किसानले जोड दिनुपर्ने नेपालले औँल्याउनुभयो । मुलुकमा बसाइँसराइको प्रभावले कृषि उत्पादनमा बढी नै प्रभाव परिरहेको भनी नेपालले दुःख व्यक्त गर्नुभयो ।
देशमा रहेका सीमान्तकृत जातिमा कृषिप्रतिको आकर्षण बढेको बताउँदै नेपालले भन्नुभयो, “बाख्रा उत्पादनमा ग्रामीण भेगका किसानले निकै सफलता पाएका छन् ।” आइफ्याडका उपसभापति डोनल ब्राउनले ग्रामीण परिवारमा खाद्य र पोषणको अवस्था सुनिश्चित गराउन आफूहरुले सरकारलाई निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “किसानबीच रहेको एकलौटीपन र समयअनुसार घट्दै गएको बाली उत्पादनले किसानमा थप नैराश्य बढाएको छ ।” किसानलाई कृषिमा प्रोत्साहन गर्न आफूहरुले मसला, बेमौसमी तरकारी र फलफूल अनि गेडागुडी र दुग्धजन्य उत्पादनमा जोड दिइरहेको ब्राउनले बताउनुभयो । कर्णाली प्रदेशका हिमाल र पहाडमा बस्ने ८३ प्रतिशत साना किसानलाई आइफ्याडले ठूलो मूल्यको उत्पादन रोज्न सहयोग गरिरहेको ब्राउनको तर्क छ ।
आइफ्याडका स्वतन्त्र कार्यालय र मूल्याङ्कन निर्देशक असकार गार्सियाले नेपालमा आफूहरुले भविष्यमा गर्ने मूल्याङ्कनले एउटा महत्वपूर्व प्रश्न खडा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफैँमा प्रश्न गर्नेछौँ कि आइफ्याडले ग्रामीण भेगका किसानको जीवन उकास्न के कति सफल भयो त ।” आइफ्याडका सहनिर्देशक फाब्रिजियो फेलोनीले साना किसानले उपभोक्ता र खुद्रा व्यक्तिसँग सहकार्य अघि बढाउँदा उनीहरुको आर्थिक अवस्था सुदृढ हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय सरकारले ग्रामीण विकास, स्थानीय पूर्वाधार र आर्थिक अवसर प्रदान गर्नुपर्ने मूल्याङ्कन हामीले गरेका छाँै ।” अविकसित पूर्वाधार प्रयोग गरेर ग्रामीण क्षेत्रमा एक्लै काम गर्ने समुदायको प्रवृत्ति बढेको देख्दा आज नेपालको कृषिमा उत्पादनमा चुनौती देखिएको फेलोनिले बताउनुभयो । आइफ्याडले ग्रामीण किसानको जीवनस्तर उकास्ने, खाद्य सुरक्षा र पोषणसम्बन्धी काम गरिरहेको बताइएको छ ।