पूर्वी पहाडी जिल्लाको एकमात्र बहुउद्देश्यीय कर्वडहलको उद्घाटन



न्युज अफ नेपाल, दिक्तेल, खोटाङ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल उद्घाटन गरिएको छ ।

करीब आठ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको बहुउद्देश्यीय कवर्डहल मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक उद्घाटन गर्नुभएको हो ।

जिल्लाको केन्द्र मानिने दिक्तेलबजारमा निर्माण गरिएको बहुउद्देश्यीय कवर्डहल नगरपालिकाको रु एक करोड तीन लाख तीन हजार १०९ तथा जनसहभागिताबाट जम्मा भएको रु ३७ लाख ३३ हजार ८२० र रु २० लाख बराबरको श्रमदानगरि रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

चन्दा सङ्कलन र श्रमदानबाट निर्माण शुरु गरिएको कवर्डहल ८१ फिट लम्बाई, ५७ फिट चौडाई र ३५ फिट उचाईको रहेको जनाइएको छ ।

वि.सं. २०६८ सालमा निर्माणको काम थालेलगत्तै बजेट अभाव भएपछि अलपत्र बनेको कवर्डहलका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । जिल्लामा खेल क्षेत्रको विकास गर्न एउटा बहुउद्देश्यीय कवर्डहल अति आवश्यक रहेकाले लामो समयसम्म अलपत्र अवस्थामा रहेको कवर्डहल निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।

बहुउद्देश्यीय कवर्डहलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबर्दी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दो लगायतका प्रतियोगिता गर्न सकिने जनाइएको छ । खेलकुदका कार्यक्रमसँगै जिल्लामा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने आमसभा, गोष्ठी तथा सेमिनार, बैठक समेत गर्न मिन्नेगरी एक हजार बढी मानिस अट्ने क्षमताको बहुउद्देश्यीय कवर्डहल निर्माण गरिएको हो ।

खेल सञ्चालन भएको समयमा कम्तिमा पनि ४०० दर्शक अट्न सक्ने क्षमताको हवर्डहलको बाहिरपट्टी पुरुष तथा महिला सौचालय, वाथरुम, ड्रेसिङरुम लगायतका संरचना निर्माण गरिएको छ ।

तत्कालीन प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा संकलनबाट निर्माण शुरु गरिएको कवर्डहलका लागि तत्कालीन जिल्ला विकास समितिले दश लाख बजेट उपलब्ध गराएको थियो ।

जिल्ला खेलकुद विकास समितिको जग्गामा निर्माण गरिएको कवर्डहलका लागि तत्कालीन समयमा करीब १२ लाख चन्दा संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्