कडा सजाय नहुँदा भ्रष्टाचार मौलायो



गोविन्दप्रसाद कडेल

परिश्रमविनाको सम्पत्तिमा लोभ गर्नाले आज दिन–प्रतिदिन नेपालमा भ्रष्टाचार बढ्दै गइरहेको छ। संसारको नजरमा इमानदारको देश भनेर चिनिने नेपाल आज भ्रष्ट देशको सूचीमा अग्रता हासिल गर्दै छ। मलाई लाग्छ, राजनीतिक संक्रमणको आडमा हाम्रो देशमा गैरकानुनी सम्पत्ति आर्जन गर्नेहरूको संख्या दिन–प्रतिदिन् बढिरहको छ।

राज्य संयन्त्र र राजनीतिक वृत्तबाटै भ्रष्टाचारीलाई संरक्षण दिने गरिएकाले देशमा भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन। जबसम्म हाम्रो देशमा भ्रष्टाचारीलाई राजनीतीकरण गर्ने संस्कार चलिरहन्छ तबसम्म यो देशमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्न।

देशमा भएका ठूला–साना भ्रष्टाचारका मुद्दाहरूलाई राजनीतिक दलका नेताहरूले राजनीतीकरण गरिदिने भएकाले पनि भष्ट्राचारीहरूको मनोबल झनै बढ्दै गएको देखिन्छ। राज्य संयन्त्र र राजनीतिक वृत्तबाटै भ्रष्टाचारीलाई संरक्षण दिने गरिएकाले देशमा भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन। जबसम्म हाम्रो देशमा भ्रष्टाचारीलाई राजनीतीकरण गर्ने संस्कार चलिरहन्छ तबसम्म यो देशमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्न।

समकालीन समाजमा अल्पविकसित देशहरूको प्रमुख समस्या भ्रष्टाचार हो। आज नेपालमा पनि भ्रष्टाचार नियन्त्रणको कार्य झनै जटिल बन्दै गैरहेको छ। भ्रष्टाचार एउटा आर्थिक र सामाजिक अपराध हो। यसले समाजलाई नैतिकताहीन र समृद्धिको बाधक बनाइरहेको छ।सार्वजनिक पदमा रहेर देश निर्माणको लागि काम गरिरहेका व्यक्तिहरूले नै आफूमा रहेको शक्ति र अधिकारलाई दुरुपयोग गरी आफ्नो व्यक्तिगत हित र फाइदाको लागि भ्रष्टाचार गरिरहेको देखिन्छ।

प्रशासनिक संयन्त्र चुस्त र राजनीतिक इमानदारिता नभएको कारणले आज देशको कुना–कुनासम्म भ्रष्टाचार संक्रमण बढिरहेको देखिन्छ। सिंहदरबारमा मात्र भ्रष्टाचार हुँदैन। शिक्षा, स्वास्थ्य, नेपालको आयात–निर्यात, सार्वजनिक सेवा, ठेक्कापट्टादेखि गरिबको झुपडी निर्माण कार्यसम्मै भ्रष्टाचारको गन्ध भेटिन्छ। राष्ट्र निर्माणको लागि हुने हरेक काममा दलालहरूको खिचातानी र राजनीतिक भागवण्डाले गर्दा देशमा झनै भ्रष्टाचार बढेको देखिन्छ।

विकास निर्माणको काम भइरहँदा कामको अनुगमन गर्न खटिएका अधिकारीहरूले पैसाको प्रलोभनमा परेर गलत कामलाई पनि सही छ भन्दै घुस खाएर आफ्नो पद र जिम्मेवारीलाई दुरुपयोग गरिरहँदा देश विकासको काममा निकै बाधा पुगेको देखिन्छ। विकसित र समृद्ध मुलुकहरूमा भ्रष्टाचारलाई समाज र कानुन दुवैले दण्डित गर्छ तर हाम्रो देशमा त्यस्तो देखिन्न।

देशको लागि बनेको नियम कानुन कुनै व्यक्तिगत हितको लागि मात्र नभई राष्ट्र समृद्धिका निम्ति लागू हुन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनले जारी गरेको करप्सन इन्डेक्सनअनुसार नेपालमा राजनीतिक भ्रष्टाचार बढी हुने गरेको देखाउँछ। राजनीति र प्रशासनमा कर्मचारीतन्त्रको भ्रष्टाचारले देश धमिराले खाएको काठजस्तो भइसकेको छ। हाम्रो देश नेपालमा संविधान, कानुन, नीति, कार्यक्रम, योजना सबै छ तर हामीमा सुशासन छैन।

हामी आफ्नो कामको जिम्मेवारी निर्वाह गर्दैनौँ। एक–अर्कामा दोषारोपण मात्र गर्छौं।हामी सबैले देश समृद्ध भएको हेर्न चाहन्छौँ तर देश निर्माणको लागि भ्रष्टाचार हुनुहुँदैन भन्ने ज्ञान हामी आफैँमा हुन जरुरी छ। भ्रष्टाचार गर्नु राष्ट्रिय अपराध हो भन्ने कुराको नैतिक शिक्षा सबैमा हुनुपर्छ। कसैले पनि घुस नदिने र नलिने समाज सिर्जना गर्नुपर्छ। 

नेपाल सरकार, नागरिक समाज, सञ्चारमाध्यमहरू सबै मिलेर भ्रष्टाचारविरुद्धमा आवाज निकाल्नुपर्छ। समन्वयात्मक प्रयासले मात्र भ्रष्टाचार कम गर्न सकिन्छ। बिस्तारै भ्रष्टारविरुद्ध जनचेतना जगाउँदै नियन्त्रणमा ल्याउन सकिन्छ। अर्को कुरा, हरेक व्यक्तिले लोभ र व्यक्तिगत स्वार्थ भुल्न जरुरी छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो अनुसन्धानलाई परिस्थितिअनुसारको छानबिन गर्ने शैलीमा समकालीन समयअनुसार परिवर्तन तथा परिमार्जन गर्न जरुरी छ। भ्रष्टाचार नियन्त्रणलाई संविधानमा उल्लिखित कानुनभन्दा पनि अझै कडा कानुन बनाई देशको सम्पत्ति गैरकानुनी तरिकाले आर्जन गर्ने राष्ट्रघाती भ्रष्टलाई कानुनले सीधै गोली ठोक्नेदेखि सारा जनताको अगाडि सुलीमा चढाएर फाँसी दिनेसम्मको कानुन बन्नुपर्छ अनि कसले गर्छ भ्रष्टाचार ?

 

प्रतिक्रिया दिनुहोस्