कास्कीमा दुई सहकारी गाभिए



नेपाल समाचारपत्र, पोखरा।

कास्कीका दुई सहकारी संस्था गाभिएका छन्। बैंक तथा वित्तीय संस्थाहरू मर्ज भइरहेका बेला सोमबार अन्नपूर्ण गाउँपालिका कास्की र पोखरा महानगरपालिकामा सञ्चालित दुई सहकारी संस्थाबीच मर्जर प्रक्रिया सकिएको हो।

पोखरा महानगरपालिका–२ मिरुवामा रहेको ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था र अन्नपूर्ण गाउँपालिका– २ सेराचौरमा रहेको सेराचौर कृषि सहकारी संस्थाबीच मर्ज भएको हो।

दुई सहकारी मिलेर अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सोमबारबाटै एकीकृत कारोबार शुरू भएको मर्जर समितिका संयोजक एवम् ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो।

४ सय २ सेयर सदस्य, दुई करोड ४५ लाख २० हजार कारोबार गर्ने ढिकुरपोखरी र २ सय ९ शेयर सदस्य ४८ लाख ५० हजार कारोबार गर्ने सेराचौर कृषि सहकारीबीच मर्ज भई २ करोड ९३ लाख ४७ हजार कारोवार गरेको छ।

एकीकृत कार्यदलका संयोजक एवम् ढिकुरपोखरी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष पौडेल र सेराचौर कृषि सहकारीका अध्यक्ष शोभाखर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभामा प्रमुख अतिथि भूमि तथा सहकारी मंत्रालयका अधिकृत गुरुदत्त पौडेलले सहकारीको संख्या घटाउँदै लगेर सहकारी सदस्यको संख्या बढाउँदै लैजाने स्थानीय सरकारको नीति अनुसार सहकारी मर्ज भएर एकीकृत कारोबार गरेकोमा धन्यवाद दिनुभयो।

जब सहकारी बलिया हुन्छन् त्यसपछि मात्र उसले आफ्नो क्षेत्रमा सेवा दिन सक्छ, काम देखाउन सक्छ,’ उहाँले भन्नुभयो–‘यस हिसाबले पनि नेपालमा पनि सहकारी मर्जमा जानुपर्छ ¬भनेर कुरा उठेको हो।’

उहाँले एक घर एक सहकारी सदस्यको नारा साकार पार्न यस्ता कार्यक्रमले सहकारी मार्फत आयआर्जन वृद्धि र स्वरोजगारी सिर्जना गर्नमा टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं २ का वडाध्यक्ष चुडामणि अधिकारी, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष बिष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष लोकराज भण्डारी, समाजका सल्लाहकार आशबहादुर गुरुङ, कृषक मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन पौडेल, ढिकुरपोखरी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष लालबहादुर कुँवरलगायतले सहकारीमा आवद्ध भएर काम गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्