मंसिर महिनामा मात्रै सवारी दुर्घटनामा १० जनाको मृत्यु



नेपाल समाचारपत्र, लहान।

प्रदेश २ को सिरहा जिल्लामा सवारी दुर्घटना बढेको छ। मंसिर महिनामा मात्रै आठ वटा सवारी दुर्घटना हुँदा १० जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सिरहा मुद्दा फाँटका प्रहरी जवान अर्जुन विकका अनुसार सवारी दुर्घटनामा सदरमुकाम सिरहामा १, लहानमा ३, मिर्चैयामा २ र गोलबजारमा ४ जना गरी जम्मा १० जनाको मृत्यु भएको छ।

सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ च ६९३ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला ट्राफिक कार्यालयलाई संवेदनशील हुन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिँदै भन्नुभयो– ‘दुर्घटना बढेकाले ट्राफिक अधिकारीलाई सचेत गराएका छौँ।’

प्रतिक्रिया दिनुहोस्