महराको क्रीडा र सामाजिक विसंगति 



दामोदर पौडेल,
मानिस पोलिगामी स्वभावको नै हुन्छ। संस्कृति, परम्परा तथा धर्मका कारणले उसको पोलिगामी स्वभाव दबिएर रहेको हुन्छ। यही कारणले गर्दा लाज, डर, सम्मानमा पर्न सक्ने चोट आदिले गर्दा उसले धेरै गलत भनिने कार्य गर्दैन र केही लुकाउँछ। केही यौनकार्यहरू त व्यक्तिगत किसिमले अप्राकृतिकरुपमा गरिने हुँदा प्रचारमा पनि आउँदैनन्।
सम्भवतः पहिलाकी पत्नीलाई कानुनीरुपमा अंश दिएर महराले ती महिलालाई पनि पत्नीको रुपमा स्वीकार गर्ने हो भने समाजले उनलाई कुनै पनि रुपमा अपराधी मान्दैन । महराकै दलमा रहेका ठूला नेतासमेत धेरैले बहुविवाह गरेका घटना देखिएका छन् । समाजमा शतप्रतिशत त्यस प्रकारको नैतिक बन्नुपर्ने बोझ महरामा मात्र थोपर्न मिल्छ होला ?

अहिले पुरुष–पुरुष तथा महिला–महिलाबीच नै विवाह हुने मान्यता आएको तथा तेस्रो र समलिंगी सम्बन्धले पनि मान्यता पाएकोले यौनसँग सम्बन्धित धेरै तथ्यहरू खुल्न थालेका छन्। त्यसको प्रमाण भनेका जनावरदेखि निर्जीवसँग वा तीबाट गरिने यौनसन्तुष्टिका कार्यहरूका सम्बन्धमा र अन्य स्वाभाविकभन्दा फरक लाग्ने तर भइरहेका वा व्यवहारमा देखिने यौनकार्यहरू प्रकटीकरण हुनु नै हुन्।

पोलिगामी प्राणीमा गाई, भैंसी, बाख्रा आदि पर्छन् भने केही चराहरूमा एकै भाले र पोथीसँग नै रमाउने स्वभाव हुन्छ। जुन दिन परिवार, स्वास्थ्य तथा बालबच्चाको लालनपालनजस्ता कार्य सरकारको दायित्वमा पर्छन् त्यो दिनबाट परिवार भन्ने विषय वैकल्पिक बन्नेछ। यसको विकल्पमा विज्ञान र राज्यको भूमिका प्रधान हुनेछ। साथै पुरुष र महिलाको हैसियत जबर्जस्ती करणीमा बाहेक अरूमा समान हुनेछ।

अहिलेको कानुनले यति धेरै स्वतन्त्रता र पीडा महिलालाई दिएको छ कि यसको कुनै पनि तुलना नै हुन सक्दैन। करिब–करिब महिलाले हरेक राजिखुशीले भएको यौनसम्बन्धलाई चाहेमा रेप हो भन्न सक्ने अवस्था छ। यौनसम्बन्धभन्दा पहिला कसैले पनि यो कार्य राजिखुशीले भएको हो भनेर लेखाउँदैन र लेखाए पनि त्यो पनि जबर्जस्ती लेखाइएको हो भन्न सकिन्छ अनि साक्षीहरू राख्न त सम्भव नै हुँदैन।

महिलालाई गलत प्रभावमा पारेको र यौनकार्य गरेको तथा त्रास देखाएको भन्ने आरोप लागेमा खुशिराजीले यौनसम्बन्ध राख्ने पुरुषको सामाजिक नैतिकतासमेत जहिले पनि धरापमा नै पर्ने कानुन हामीकहाँ छ।

पत्नीलाई समेत जबर्जस्ती करणी हुने कानुन छ र त्यसमा समेत कुनै आधार दिइएको छैन। जस्तै– पत्नी बिरामी भएको प्रमाणित भएमा वा उनमा यौनसम्बन्धी वा त्यस्तै रोग भएमा, लागूपदर्थ सेवन गरेर पुरुष आएमा वा शारीरिक चोट पुर्याएर यौनसम्बन्ध राखेमा वा राख्न चाहेको अवस्थामा पत्नीको असहमति भएमा जबर्जस्ती करणी हुने उल्लेख भएको भए पनि केही राहत हुने थियो।

त्यो व्याख्यासमेत छैन। न पुरुषले पारेको गलत प्रभाव र त्रासको व्याख्या नै कतै छ। त्यसैले महिलाले चाहेमा खुशिराजीले यौनसम्बन्ध राख्ने र कुनै बार्गेनिङ गर्न चाहेमा जबर्जस्ती करणीलाई हतियार बनाउने सम्भावना छ। बार्गेनिङअनुसार नभएमा मुद्दा दिन सकिने यो अवस्थालाई कसरी न्यून गर्ने भन्ने नै प्रमुख चिन्ता हो।

अर्कोतर्फ पद, प्रतिष्ठामा रहेकी महिलाले कुनै यौनेच्छा पूरा गर्न चाहेर कुनै पुरुषलाई पैसा दिन्छु वा जागिर लगाइदिन्छु भनेर यौनकार्यमा लगाएमा त्यो कार्य महिलाले गरेको जबर्जस्ती करणी हुन्छ कि हुँदैन ? भन्नेमा सरल जवाफ छैन। अहिलेसम्मका तथ्यहरूले कृष्णबहादुर महराले उनलाई यौन अपराधको आरोप लगाउने महिलासँग यौनसम्पर्क राखेको हुन सक्ने धेरै सम्भावना देखाएका छन्।

महराले उनलाई धेरै पहिलादेखि काम लगाएका र नजिक भएका बारेमा जानकारी आएका छन्। उनले ती महिलालाई रक्सीसमेत पठाउने गरेका समाचारहरू बाहिरिए। प्रमाणहरूले उनीहरूबीच यौनसम्बन्ध रहेको भन्ने तथ्यलाई पुष्टि गर्न सक्ने देखिएका छन्। भौतिक मतभेद भएको अवस्थामा बाहेक यौनक्रियाकलापका प्रमाण अपवादबाहेक थाहा हुँदैनन् वा दखिँदैनन्।

महराकै कारणले उनीसँग नजिक भएको भनिएकी महिलाको विवाह अर्को व्यक्तिसँग भएर पनि पतिले उनीहरूको सम्बन्ध थाहा पाएकोले ती महिलालाई तनाव भएको हुन सक्छ। महराको बारम्बारको इच्छा पूरा गर्नुपर्ने र त्यो समाजको अगाडि बेइज्जतको विषय बन्न सक्नेसमेत ती महिलालाई पीडा र चिन्ता भएको हुने आधार हो।
तिनै पीडा र चिन्ताको कारणले उनलाई डिप्रेसन हुन सक्नु अर्को पक्ष हो। उनलाई डिप्रेसन हुनुमा महरासँगको सम्बन्ध र त्यसबाट भएको तनाव कारक तथ्य हुने सम्भावना छ।यस अर्थमा महराको गैरवैवाहिक यौनसम्बन्धमा उनको पदको त्रास र परिबन्धले काम गरेको हुन सक्छ। तर महरा मात्र गल्तीका कारक तत्व मान्न सकिँदैन। महराका जस्ता गल्तीहरूलाई अपराधको आधार वनाउने हो भने समाजमा यस्ता अपराधहरू धेरै हुन सक्छन् भन्ने मापन तयार होला।

महिलाले नै ठूलो पदकाबाट फाइदा लिनको लागि यौनसम्बन्ध राखेमा महिला दोषी हुने कि नहुने ? र, फरक तथ्यहरू कसरी प्रमाणित गर्ने ? के महिलाको बोली नै प्रमाण होला ?कानुनको आसयको उचित सम्बोधन नभएसम्म खुशिराजी र ती महिलाको चाहनाको कारणले नै महरा र महराजस्ता अरूले विवाहइतर सम्बन्ध राखेको भए पनि त्यस्तामा पुरुषले सजाय पनि पाउन सक्ने हन्छन्।

यस्ता गैरवैवाहिक यौनसम्बन्धको सम्बन्धमा पहिलादेखि नै यौनसम्बन्ध भएकोमा किन त्यस समयमा जबर्जस्ती यौनसम्बन्ध गरिएको हो ? तथा पहिलादेखि नै यौनसम्बन्ध भएको हो र यसपटकसमेत विवादको कुनै चिह्न छैन भने ऐनको हदम्यादभित्र मुद्दा दिइएन भन्ने सवाल उठ्न सक्ला।

तर खुशिराजीले यौनसम्बन्ध हुने गरेकासँग कुनै दिनमा मञ्जुरीविना नै यौनसम्बन्ध भएमा जबर्जस्ती करणी हुँदैन भन्ने पनि छैन। पत्नीसँग हुने जबर्जस्ती करणी त्यसकै सार हो। ती महिलाले सधैँ खुशीले यौनसम्बन्ध हुने गरेको तर त्यो दिन जबर्जस्ती करणी भएको भन्न सक्छिन्।

अर्कोतर्फ विवाह गर्नको लागि अभिभावकले उचितरुपमा दबाब दिन नसक्ने र २० वर्षको उमेरभन्दा पहिला विवाह पनि हुन नसक्ने अवस्थामा १३ वर्षदेखि यौनेच्छा जाग्न सक्ने देखिन्छ। महिलाले जहिले पनि खुशीले यौनसम्पर्क गर्दा गराउँदासमेत उनको सम्बन्ध र परिणाम धराप र जोखिममा रहिरहने हुन्छ।

महिलाको कुनै सम्बन्ध भयो तर उनको २० वर्ष उमेर पुगेको छैन भने विवाह हुन सक्दैन। तर सम्बन्ध बाहिरिएपछि उनको अवस्था सहज हुँदैन। यो प्रकारको पीडा पुरुषलाई भन्दा महिलालाई धेरै बढी हुन्छ। यसको निराकरण विवाहको लागि उमेर कमसे कम १८ वर्ष राख्न सकेमा केही समस्या समाधान हुन सक्छ।

सम्भवत महरासँग ती महिला नजिक हुनाको कारणमा महिलाको यौन आवश्यकता तर विवाहको उमेर नपुगेकोे पनि पर्दछ कि ? यौन इच्छा छ र त्यो प्राकृतिक हो, यसलाई कानुन बनाएर नै जवानीमा रोक्न पनि सकिँदैन। २० वर्षभन्दा कम उमेरका युवतीले खुशीले नै यौनसम्बन्ध राखेमा सामाजिक परिवेशसमेतले पुरुषले विवाह नगरेमा उनीहरू पछि दोस्रो दर्जाको जस्तो बन्ने वातावरण अहिले पनि छ।

महिलामा यौन स्वच्छन्दता वा स्वतन्त्रताको कुरा गरेर पति–पत्नीको प्रगाढ सम्बन्धलाई अत्यन्त सामान्य र मात्र भौतिक सुखमा परिणत गर्नेमा महिलावादी भनिनेहरूको पनि ठूलो हात हुन्छ। त्यसैले होला महिलाहरूले भन्ने गरेका पनि छन् कि लोग्ने नभएको समयमा घरमा किन बस्ने ? माइतीमा बस्छु।

मैले सासू–ससुराको सेवा गर्नलाई विवाह गरेकी हुँ र ? यी सवाल समान्य हुँदै छन्। पति रोगी भएमा वा दुर्घटनामा परेमा महिलाहरूले पतिसँग अंश लिएर सम्बन्ध विच्छेद गर्ने चलन समान्य बन्दै छ। यसले समाजमा दिँदै जान लागेको सन्देश भनेको नै पति र पत्नीको सम्बन्ध यौनकार्यको लागि मात्र हो।  तर महिला कुनै कारणले रोगी भएमा पतिले आफ्नो अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेमा पनि पति सामाजिकरुपमा नैतिकताहीन देखिने गरेको छ।

कानुनहरू नै समाज र परिवारको संरचना खुकुलो पर्ने आधार बनेका छन्। शायद महरासँग सम्बन्ध भएकी भनिएकी महिलासँग सामाजिक, सांस्कृतिक एवं धार्मिक ‘अदव’ भएको भए या त विवाहबाहिरको यौनसम्बन्ध राख्न तयार हुने नै थिइनन्, त्यस्तो भएमा पनि गोप्य राख्ने थिइन्। बरु महराले आफ्नी इमानदार पत्नीमाथि गरेको घातलाई सबैभन्दा ठूलो नैतिक अपराधजस्तो लागिरहेको छ।

कानुनले बनाएको व्यवस्थाका आधारमा महराको राजनीतिक अवसान भएको छ र उनकी पत्नीको लागि उनी तासको घर बनेका छन्। उनी राजनीतिकरुपमा अयोग्य भएका छन्। उनले राजनीतिक हैसियत पाउने भनेको उनको दलको पनि तेजोवध हुने नै हो। तर कुनै पनि नैतिक पतन हुने अपराध उनले गरेका छैनन्। उनले भौतिकरुपमा पीडा दिएर यौन अपराध गरेको देखिँदैन।

उनले र ती महिलाले राखेजस्ता विवाहबाहिरका यौनसम्बन्ध धेरै महिला र पुरुषहरूले राखेका छन् भन्ने त सबै छातीमा हात राखेर सम्झेमा प्रस्ट हुनेछ। अन्यथा विद्यार्थीका सम्मेलनमा समेत युवा–युवतीहरूले फालेका परिवार नियोजनका साधनहरू नेताहरूले बटुलेर फाल्नुपर्ने हुँदैन।

अबको सुरक्षित अवतरण भनेको महराले ती महिलाबाट सत्यतथ्य बोल्न लगाउनु नै हो। आफूले पनि सौम्यरुपमा सत्य बताउने नै हो। यो कार्यलाई यौन अपराधभन्दा विवाहबाहिरको प्रकाशमा आएको कार्य हो र यसको पीडा महराकी पत्नी र ती महिलाका पतिसंँग नै सम्बन्धित हो भन्नेमा केन्द्रित गर्न सक्नुपर्दछ।

यो कार्यले उनलाई जबर्जस्ती करणीको सम्भावनाबाट टाढा राख्न सक्नेछ। अझै ती महिलाका पतिलाई त कानुनीरुपमा कुनै असर परेको छैन, किनभने हरेक महिलाले चाहेमा पतिसँग सम्बन्ध विच्छेद गर्न सक्छिन्।

सम्भवतः पहिलाकी पत्नीलाई कानुनीरुपमा अंश दिएर महराले ती महिलालाई पनि पत्नीको रुपमा स्वीकार गर्ने हो भने समाजले उनलाई कुनै पनि रुपमा अपराधी मान्दैन। महराकै दलमा रहेका ठूला नेतासमेत धेरैले बहुविवाह गरेका घटना देखिएका छन्। समाजमा शतप्रतिशत त्यस प्रकारको नैतिक बन्नुपर्ने बोझ महरामा मात्र थोपर्न मिल्छ होला ?

प्रतिक्रिया दिनुहोस्