इस्लिङटन कलेजले दियो तीन विद्यार्थीलाई बेलायतमा छात्रवृत्ति



काठमाडौं कमलपोखरीस्थित इस्लिङटन कलेजले स्नातक तहमा उत्कृट छनोट भएका तीन विद्यार्थीलाई लन्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सूचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पूर्ण छात्रवृत्ति घोषणा गरेको छ। कलेजको दीक्षान्त समारोहमा कलेज र आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले छात्रवृत्ति घोषणा गर्नुभएको हो।

छात्रवृत्ति पाउने विद्यार्थीहरूमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन्। उनीहरूले विश्वविद्यालयमा थप अध्ययन गर्न छात्रवृत्ति पाएका हुन्। अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट तथा अध्ययनका लागि तीन जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिनुभयो।

सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ। ‘छनोटमा परेका विद्यार्थीले पूर्ण अध्ययनका लागि कलेजबाट ३३ हजार पाउन्डको छात्रवृत्ति पाउनेछन्।’ –कलेजका अध्यक्ष बुढोथोकीले भन्नुभयो।

इस्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको सूचना, प्रविधिको पढाइ उत्कृष्ट रहेकाले थप अध्ययन गर्न छात्रवृत्ति दिइएको जानकारी उहाँले गराउनुभयो। उहाँले भन्नुभयो– ‘छात्रवृत्तिसँगै थप अध्ययन पूरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्ति दिएका हौं।’

त्यसै गरी सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृत्ति दिइएको छ। छात्रवृत्ति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन्।

उनीहरूलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृत्ति दिएको कलेजले जनाएको छ।यसैबीच कलेजमा स्नातक तह पूरा गरेका गरेका ४ सय ४५ विद्यार्थी दीक्षित भएका छन्। काठमाडौंमा आयोजित समारोहमा लन्डन मेट्रोपोलिटन  विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

दीक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्स अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गर्नुभएको थियो। उहाँले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ट दर्जामा रहेको दाबी गर्नुभयो। भन्नुभयो– ‘इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ।

विश्वको आवश्यकता सूचना प्रविधिमा आधारित शिक्षा हो, सूचना प्रविधिसहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ।’ उहाँले दीक्षित विद्यार्थीलाई शुभकामना दिँदै भन्नुभयो– ‘तपाईंहरू लन्डन मेट्सका सफल विद्यार्थी हुनुभएकामा बधाई छ। तपाईंहरूको अबको यात्रा सुखमय रहोस्।’

कार्यक्रममा बोल्दै आईएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन सफल विद्यार्थीले सोहीस्तरको प्रगति हासिल गरेको बताउनुभयो। उहाँले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो। भन्नुभयो– ‘थप शिक्षा हासिल गर्न विदेश जानुहोला तर उच्च शिक्षा पूरा गरेपछि नेपालमै फर्कनुहोला।’

इस्लिङटन कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी, गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउँदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘अब नेपालमै विश्वस्तरको रोजगारसहितको शिक्षा हामीले दिनेछौं।

अध्ययनसँगै नयाँ काम खोज्न अमेरिका, अस्ट्रेलिया, जापानलगायत मुलुकमा भौंतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोहीस्तरको शिक्षा पाउने पठन पाठन गर्न कलेज सफल भएको उहाँको भनाइ थियो।

विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ट रोजगारी हासिल गर्न सूचना र प्रविधियुक्त शिक्षा उपलब्ध गर्न आईएनजी ग्रुपको कलेज सफल भएको बताउँदै उहाँले भन्नुभयो– ‘पढाइको सिलसिलामा तपाईंहरूको यात्रा शुरू भएको छ, अब तपार्इंहरूले पहिला आफूलाई सोच्नुस्, त्यसपछि परिवार, आफन्त, समाज देश र विश्वका लागि केही गर्नुस्।’

सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको नामबाट सम्बन्धन लिएको हो। हाल कलेजमा बीबीएमा कम्प्युटिङ, नेटवर्किङ एन्ड आईटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षे कोर्सअन्तर्गत सञ्चालन भइरहेको छ।

व्यवस्थापनअन्तर्गत चार वर्षे बीबीएमा इन्टरनेसनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन्। तथ्याङकअनुसार इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थीमध्य ९८ दशमलव ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्