मल्लको जन्मजयन्तीमा निःशुल्क स्वास्थ्य शिविर



साहित्यकार एवं कुशल प्रशासक स्व.प्रा. खड्गमान मल्लको १०९औं जन्मजयन्तीका अवसरमा गोदावरी नगरपालिकाको छम्पीस्थित छम्पी उच्च मावि हातामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो।

खड्ग–प्राण स्मारक सांस्कृतिक गुठी ललितपुरको आयोजनामा भएको सो शिविरमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा आएका सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको गुठीले जनाएको छ।

शिविरमा गुठीका सदस्य सचिव, वरिष्ठ शल्य चिकित्सक सहायक रथी डा. मदनमान मल्ल, फिजिसियन डा. किरण मानन्धर, स्त्रीरोग विशेषज्ञ डा. उन्नति अमात्य र डा. राम गुरुङसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले निःशुल्क स्वास्थ्य जाँच गरेका थिए।शिविरमा आएका अधिकांशको हाडजोर्नी र छाती दुख्ने समस्या भेटिएको गुठीका सदस्य सचिव डा. मल्लले बताउनुभयो।

यसअघि आयोजित कार्यक्रममा गुठीका सदस्य सचिव डा. मल्लले स्व.प्रा. खड्गमान मल्लको योगदानबारे चर्चा गर्नुभएको थियो भने स्थानीय वडाध्यक्ष आत्माराम थापा क्षेत्री र छम्पी माविका प्रधानाध्यापक सुरथ गौतम केसीले शिविरका सहभागी चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्