एट्लेटिकोको जित बार्सिलोना रोकियो



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मेड्रिडले खेल जित्दा डिफेन्डिङ च्याम्पियन बार्सिलोना भने बराबरीमा रोकिएको छ। घरेलु मैदानमा एट्लेटिकोले ओसासुनामाथि २–० को सहज जित निकालेको हो। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटा र साउद निग्वेजले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६७औं मिनेटमा अल्भेरो मोराटाले किरियन ट्रिपिएरमा पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

७५औं मिनेटमा साउल निग्वेजले इनजल कोरेराको पासमा गोल गर्दै एट्लेटिको जित सुनिश्चित गरे। जितसँगै एट्लेटिकोको १७ खेलबाट २९ अंक जोडेको छ। लिग तालिकामा एट्लेटिकोभन्दा अघि बार्सिलोना र रियल मेड्रिड रहेका छन्।

शनिबार राति नै भएको अर्को खेलमा अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकियो। बार्सिलोना घरेलु टोली रियल सोसिडाडसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

रियलका मिकेल ओरेजावल र एलेक्सजेन्डर इसाकले तथा बार्सिलोनाका एन्टोइन ग्रिजमनले र लुइस सुआरेजले गोल गरेका थिए। बराबरीसँगै बार्सिलोनाको १६ खेलबाट ३५ अंक पुगेको छ। त्यस्तै सोसिडाडले भने २८ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्