नेपाल टेलिकमको पीपीएललाई साथ



नेपाल टेलिकमले पोखरामा आइतबारदेखि शुरू भएको पोखरा प्रिमियर लिग (पीपीएल) को सहप्रायोजक बन्नुका साथै खेलाडीलाई सम्मान र उपहार प्याकेज उपलब्ध गराइने भएको छ। आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग खेल, १ क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरूलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउन लागेको हो।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरूलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ। ती खेलाडीलाई पुरस्कारका रूपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ।

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिनेछ। ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ। एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ।

ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ। उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्