पोखरा पल्टनको सहज जित



विजय नेपाली, पोखरा ।

डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगअन्तर्गतको पहिलो खेलमा सहज जित हात पारेको छ।
पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वारियर्सलाइ ९ विकेटले हराउँदै उपाधि रक्षा गर्न तयार रहेको संकेतसमेत दियो। उद्घाटन खेलमा काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १५औं ओभरको पहिलो बलमा भेटाएको हो।

टोलीको जितमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै अद्र्धसतकसमेत पूरा गरे। अर्का ओपनर ब्याट्सम्यान आसिफ शेख भने १४ रन बनाउँदै आउट भएका थिए।

१० बल खेलेका उनले एक चौका प्रहार गर्दै १४ रन बनाएका उनी एलबीडब्ल्यू हुन पुगे। यसपछि तेस्रो नम्बरमा आएका ब्याट्सम्यान रविइन्द्र सिंहले कुशललाई राम्रो साथ दिए। यी दुई खेलाडीबीच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।

३२ बलको सामना गरेका सिंहले १ छक्का र ५ चौका प्रहार गरेका थिए। काठमाडौंका लागि बलिङमा आएका सुशान भारीले तीन ओभरमा एक मेडन राख्दै १८ रन खर्चेर एक विकेट लिएका थिए। सुशानबाहेक अन्य बलरले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्सले १ सय १५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि सुवोध भाटीले सर्वाधिक ४५ रनको योगदान दिए। २९ बलको सामना गरेका भाटीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए।

टोलीका अन्य ब्याट्सम्यान भने चल्न सकेनन। ओपनर व्यटसम्यान जयकिसन कोलसावाला ९ रनमा क्याच आउट हुन पुगे। उनले २ चौका मात्रै प्रहार गरेका थिए। त्यस्तै सुवास खकुरेलले १२ बलमा १ चौका प्रहार गर्दै ६ रनमा पवेलियन फर्केका थिए।

यस्तै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका थिए। ६ बल खेलेका मल्ललाई रसिद खानले आउट गरेका थिए। काठमाडौंका लागि २ छक्का प्रहार गरेका गौरव तोमर ललितनारायण राजवंशीको बलमा क्याच आउट हुन पुगे। तोमरले दुई छक्का प्रहार गरे पनि १३ रनमै आउट हुन पुगे।

त्यस्तै पवन शरार्फ ६ रनमा, पृथु बास्कोटा ७ रन, वसन्त रेग्मी ८ रन र सुशान भारी १० रनमा आउट भएका थिए। पोखराका लागि रसिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले समान दुईदुई विकेट लिए। प्लेयर अफ दि म्याच पोखरा पल्टनका केशल भुर्तेल घोषित भए।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्