सामाजिक सुरक्षा योजना स्पष्ट पार्न दबाब



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरेको हो।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यसअनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यान पुग्नुपर्ने बताउनु भयो। सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो।

सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताउनु भयो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालय गम्भीर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउदै जान पहल भइरहेको जानकारी गराउनुभयो।

श्रमसचिव केसीले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न परिसंघसँगको सहकार्य बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्