आवधिक योजना निर्माण गर्दै छेडागाड



नेपाल समाचारपत्र, जाजरकोट ।

छेडागाड नगरपालिकाले पञ्चवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ। आगामी वर्ष नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनामा सहयोग पुर्याउने उद्देश्यले पञ्चवर्षी आवधिक योजना निर्माण गर्न लागेको हो।

सरोकारवालाहरूको उपस्थितिमा शुरु भएको पञ्चवर्षीय आवधिक योजना निर्माणको कार्यक्रममा नगरपालिकाले सञ्चालन गर्ने विकास निर्माणलगायत योजनाहरूलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्नका लागि गोष्ठीको आयोजना गरिएको हो।

विकास निर्माणलगायत कार्यक्रमहरूलाई योजनाबद्ध रुपमा सञ्चालन गर्दा पहिलो कुरा योजना आवश्यकता पर्ने भएकाले पाँच वर्षभित्र नगरपालिकाले गर्न सक्ने, गर्न नसक्ने योजनाहरू समावेश गरी समृद्ध नगर निर्माणका लागि चाहिने आवश्यक विषयवस्तु पहिचान गरी नगरपालिकाभित्रका योजनालाई अगाडि बढाउनका लागि आवधिक योजना निर्माण गर्न लागेको नगरप्रमुख लालबहादुर महताराले बताउनुभयो।

जुनसुकै काम योजनाविना अधुरो हुने भएकाले नगरपालिकाभित्र रहेका मसिना मसिना कुराहरू समावेश गर्न गोष्ठीका सहभागीहरूलाई प्रमुख महताराले आग्रह गर्नुभयो। छेडागाड नगरपालिकाको विकास नै हाम्रो विकास र समृद्ध भएकाले पाँच वर्षभित्र गरिने क्रियाकलापहरू आवधिक योजनामा समावेश गर्न सरोकारवालालाई जोड दिनुभयो।

नगरपालिकाले निर्माण गर्न लागको आवधिक योजनाले पाँच वर्षसम्म काम गर्ने भएकोले आ–आफनो क्षेत्रमा विकास निर्माणलगायत सम्भावनाका कुराहरूको पहिचान सरोकारवालालाई गर्न आग्रह गर्नुभयो। सबै क्षेत्रबाट प्रतिनिधित्व गरेर सञ्चालन गरिएको गोष्ठीले छेडागाड नगरपालिकाको भाग्यरेखा निर्माणमा सहयोग पुग्ने विश्वास गर्नुभयो।

नगरपालिकाको पहुँच नपुग्ने पालिकाभित्रका सम्भावना भएका ठूला योजनाहरू पनि आवधिक योजनामा समावेश गर्ने र संघीय सरकार, प्रदेश सरकारसमक्ष पेश गर्न सहयोग पुग्ने नगरपालिकाको विकास निर्माण छिटो छरितो हुने भएकोले पालिकाभित्र सम्भावना भएका योजनाहरूको उठान गर्न सरोकारवालालाई प्रमुख महताराले सुझाव दिनुभयो।

छेडागाड नगरपालिकाले आयोजना गरेको आवधिक योजना निर्माणमा हेल्भेटास नेपालले सहजीकरण गरेको छ। नगरपालिकाले दिने सेवा सुविधाप्रति नागरिकको सन्तुष्टि मापनका लागि सिटिजन रिर्पोड कार्ड सीआरसी, कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग सेवा प्राप्त गरी सकेपछि सन्तुष्टी मापनका लागि बर्हिगमन अभिमत संकलन गरी नागरिकहरूको सन्तुष्टी सर्वेक्षण गरि सरोकारवालासँग सार्वजनिक गरिएको थियो।

छेडागाड नगरपालिकामा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको आन्तरिक राजश्वको परिचालन कसरी भएको छ ? लक्षित वर्गलाई विनियोजन गरेको बजेट सम्बन्धित वर्गसँग पुग्यो पुगेन, खर्च कसरी भएको छ, भन्ने उद्देश्यले सार्वजनिक खर्च सोधखोज गरी नगरपालिकाले खर्च गरेको बजेटको सार्वजनिकीकरण गरिएको थियो।

नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले आगामी वर्ष समावेशी तरिकाले बजेट विनियोजन गर्नका लागि नगरपालिकाले आवधिक योजना निर्माण गरी सवै पक्षलाई समेटेर विनियोजन गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्