सीमा विवादको समाधान कूटनीतिक पहलबाट



नेपाल समाचारपत्र, पाल्पा।

सीमा विवादका रूपमा रहेको नेपालको भू–भागलाई क्ूटनीतिक पहल गरी सीमा विवाद छिटो टुंग्याउन आयोजित कार्यक्रममा सरकारलाई आग्रह गरिएको छ।

पछिल्लो समय नेपाली भू–भाग लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारतले सीमा मिचिएको विषयलाई छिटो टुंग्याउन सरकारलाई आग्रह गरिएको हो।

तानसेनमा नागरिक समाजले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले सबै एकताबद्ध भएर लाग्न र कूटनीतिक पहल गरी सीमा विवाद छिटो टुंग्याउन सरकारलाई आग्रह गरेका हुन्।

सीमा विवादमा भारतीय पक्षले गरेको हस्तक्षेपका ज्यादतीका विरुद्ध लाग्ने बेला आएको बताउँदै उनीहरूले सरकारले कूटनीतिक पहलको माध्यमबाट समस्या समधान गर्न नसकेको गुनासोसमेत गरेका छन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको विषय कुनै दुविधा नरहेको भन्दै भारतसँग वार्तामा बस्दा ठोस प्रमाणसहित प्रस्तुत हुनुपर्नेमा उनीहरूले जोड दिए। सीमा विवाद आवेश र उत्तेजनाबाट समाधान हुने विषय नभएकाले त्यसलाई राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने सहभागीहरूले बताए।

कार्यक्रममा नेकपाकी नेतृ तथा नारायणी घिमिरेले राष्ट्रियताका सवालमा सबै पक्ष गम्भीर बन्नुपर्ने र कूटनीतिक पहल गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गैरेले सरकार कूटनीतिक पहलमा कमजोर बनेको बताउँदै तुरुन्तै सर्वपक्षीय पहल गरेर भारतीय पक्षसँग समस्या समधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रिय प्रजातन्त्र संयुक्तका केन्द्रीय सदस्य डुलबहादुर कुँवरले दुई तिहाइको सरकार किन सीमा विवादका विषयमा मौन रहेको छ।आफूले बुझ्न नसकेको बताउनुभयो।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले विगतका सरकारका कमजोरी र वर्तमान सरकारका लाचारीले नेपाली भूमि अतिक्रमण भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष देवी भट्टराई, पत्रकार महासंघका सचिव किरण कौशल, शिक्षक संगठन प्रदेश पाँचका अध्यक्ष विष्णुप्रसाद पोखरेल, रामप्रसाद ढकाल, सोमनाथ अर्याल, प्राध्यापक टंक भट्टराई, सन्तोष खनाल, पुष्कर आचार्य, पदम घर्ती, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले सीमा अतिक्रमणका विरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

संकलित राय सुझावहरूलाई सरकारसमक्ष पठाउने समाजका अध्यक्ष बासुदेव अर्यालले जानकारी दिए। अध्यक्ष अर्यालको अध्यक्षता, उपाध्यक्ष मीनबहादुर केसीको स्वागत, सचिव भेषराज सुवेदीको सञ्चालनमा कार्यक्रम भएको थियो।

प्रतिक्रिया दिनुहोस्