अनिवार्य भ्याटले ढुवानी व्यवसायी अन्यौलमा



नेपाल समाचारपत्र, बुटवल।

राज्यको कर नीति व्यवसायीमुखी नहुँदा व्यवसायी करको मारमा परेको ट्रक व्यवसायीले गुनासो गरेका छन्। पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आबद्व व्यवसायीले सरकारले आउँदो पौष १ गतेदेखि ढुवानीमा अनिवार्य भ्याट लागू गर्ने निर्णयले व्यवसायीले यो व्यवस्था बुझ्न नसकेको र व्यवहारमा कसरी कान्र्यानवयन गर्ने भन्ने अन्यौल रहेका बताएका छन्।

एउटा ट्रक सञ्चालन गरेको चालकले कसरी भ्याटको हिसाब राख्न सक्छ अनि हिसाब राख्न थप एउटा दक्ष कर्मचारी राख्दा कसरी व्यवसायले धान्छ भन्दै उनीहरूले सरकारले ढुवानी व्यववसायीको पेसा संकटमा पारेको गुनासो गरेका छन्।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्व व्यवसायीलाई आइतबार आयोजना गरेको करसम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी व्यवसायीले ढुवानी व्यवसायीलाई अनिवार्य भ्याट बिल प्रयोग नगरे व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्थाले नेपालभरिका ढुवानी व्यवसायीले के गर्ने कसरी सञ्चालन गर्ने भनी दुविधा भएको धारणा राखेका थिए।

राज्यको कर नीति ठीक नहुँदा व्यवसायी दोहोरो करको मारमा पर्दा व्यवसाय धरासायी बनेको उनीहरूको भनाइ रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत टेकबहादुर चौधरीले ढुवानी व्यवसायीले कर तिर्ने तरिका, हिसाब राख्ने व्यहोरा, भ्याट र स्थायी लेखा नम्बर लिने तरिकाका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।

कर अधिकृत चौधरीले ढुवानी व्यवसायीले वार्षिक २० लाखभित्रको कारोबार गर्नेले स्थायी लेखा नम्बर र सोभन्दा बढीको कारोबार गर्ने अनिवार्य भ्याटमा जानुपर्ने व्यवस्था रहेको जानकारी गराउनुभएको थियो। कार्यक्रममा व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जिज्ञासा राखेका थिए।

संघका पूर्वअध्यक्ष लोक राज पोखरेलले सरकारले ढुवानी व्यवसायीको पेसा नै संकटमा पारेको बताउँदै अनिवार्य भ्याटमा जानुपर्ने व्यवस्थाले मुलुकभरि नै अन्यौल सृजना भएको धारणा राख्नुभयो ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले व्यवसायीको भावनाअनुरुप समिति अगाडि बढने बताउँदै व्यवसायीका हकहित र लगानीको सुनिश्चित हुने सवालमा सरकार जिम्मेवार हुन आग्रह गर्नुभयो। कार्यक्रममा समितिका महासचिव जितबहादुर भाट वरिष्ठ उपाध्यक्ष प्रताव बहादुरकार्कीलगायतले ढुवानी व्यवसायीको पेसा संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्