महिला हिंसाका घटना बढ्दै 



बैतडी, (नेस)।
बैतडीमा महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। गत आर्थिक वर्षमा प्रहरीमा जबरजस्ती करणीका आठ मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगका चार मुद्दा दर्ता भएका थिए।

यस्तै बहुविवाहका चार, मानव बेचबिखन एक, अपहरण तथा शरीर बन्धक एक, आत्महत्या दुरुत्साहन चार र ८६ ओटा ठाडो उजुरी दर्ता भएका थिए। ८६ ओटा ठाडो उजुरीमध्ये ८३ ओटामा मिलापत्र भएको प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो।

चालू आर्थिक वर्षको पाँच महिनामा जबरजस्ती करणीका पाँच मुद्दा दर्ता भइसकेको महिला सेलमा कार्यरत प्रहरी जवान धनमती धामीले जानकारी दिनुभयो। यसरी हेर्दा महिला हिंसाका घटना समाजमा अझै बढ्दै गएको प्रहरी तथ्यांकले देखाउछ।

यस्तै, जबरजस्ती करणी उद्योगमा एक, बहुविवाहमा एक, आत्महत्या दुरुत्साहन एक, घरेलुहिंसाको १, ठाडो उजुरी ३१ ओटा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि थुप्र्रै प्रयास भएपनि अझै नियन्त्रणमा आउन नसकेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्