ब्राउन सुगरसहित विराटनगरबाट तीन पक्राउ



नेपाल समाचारपत्र, विराटनगर।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर ओसारपसारमा संग्लन तीन जनालाई पक्राउ गरेको छ। भारतको जोगवनीबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउनेसहित तीन जनालाई विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
रानी भन्सारमा रहेको लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर लिएर नेपालतर्फ आउँदै गर्दा मोरङको केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्री, उनलाई ब्राउन सुगर ल्याउन लगाउने ४१ वर्षीय तेजबहादुर लिम्बू र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
खत्रीले दिएकै जानकारीका आधारमा उनलाई ब्राउन सुगर ल्याउन भारत पठाउने लिम्बू र आलमलाई पनि विराटनगरको बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तीनै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन इलाका प्रहरी कार्यालय रानीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताउनुभयो। भारतको जोगवनीबाट एक ग्राम छ सय मिलिग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा खत्री पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्