पञ्चकर्म विधि प्रभावकारी बन्दै



SONY DSC
 विमल  विष्ट, डोटी ।
दीपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार विधि शुरू गरिएको छ। जिल्ला आयुर्वेद कार्यालय दीपायलले स्वधन चिकित्सा विधि अर्थात पञ्चकर्म पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरू गरिएको हो।

लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो विधिबाट उपचार गर्न शुरू गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको भीड हुने गरेको सो कार्यालयका कविराज विद्या घिमिरे देउवाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए भने रकम भएकाहरू धेरै टाढा गएर महंगोमा उपचार गर्न बाध्य थिए, अहिले हामीले घरैमा सेवा दिन थालेपछि उनिहरूको चाँप बढेको हो।’

जिल्ला आयुर्वेदका कविराज विद्या घिमिरे देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी भएको आफूले पाएको बताउनुभयो। उहाँले थप भन्नुभयो– ‘हामीकहाँ जाँच गराउन आउने अधिकांशमा पत्थरी तथा करिब ३५ देखि ४० प्रतिशत बाथ रोगका बिरामी भेटिन्छन् सालाखाला हेर्दा बाथ रोगी बढी छन्।’

पञ्चकर्म–पुर्णकम विधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिकरूपमा सुधार हुँदै गएको दीपायल सिलगढी नगरपालिका–२ की ७० वर्षीया हिरादेवी कठायतले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बिरामी भएको वर्षौ भइसकेको थियो। उपचार गराउन पाएकी थिएन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको छ। निको भएको महसुस गरेकी छु।’

कठायतजस्तै अर्का बाथ रोगी गणेश साहुले पनि आफूले पञ्चकर्म– पूर्णकम विधिबाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर, ढाड दुख्ने समस्या निको हुन थालेको बताउनुभयो। कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म– पूर्णकर्म विधि भनेको तेल, विभिन्न जडीबुटी, घिउ तथा मह पकायर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो। यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो।

यो प्रविधि प्रयोग भएपछि अहिले बाथरोगीको उक्त कार्यलयमा दैनिक १५ देखि २० जनासम्म आउने गरेको बताइएको छ। बाथरोग वंशााणुगत काराणले सर्ने रोग भएकाले उपचारपश्चात बाथरोग पूर्णतया निको हुने सो कार्यलयका वैद्य विक्रम कठायतको दाबी छ। बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्तादेखि एक वर्षसम्म समय लाग्न सक्नेसमेत उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्