निराशाले जेलिएका छापामारका सिर्जना



नरेन्द्र केसी, दाङ।
युद्ध भन्नेबित्तिकै धेरैले सम्झन्छन्– त्यहाँ बन्दुक मात्र पड्कन्छ। युद्धमा गोली चल्छ, रगत बग्छ, मार्ने र मर्ने काम हुन्छ। तर त्यति मात्र हुँदैन, युद्धमा कलम पनि चल्छन् र सिर्जना पनि कोरिन्छन्।

दाङको घोराहीमा ‘उदाहरण समूह दाङ’ले गरेको कार्यक्रममा पूर्वलडाकुले यस्तै उदाहरण देखाए। उनीहरूले आँसु र रगतले लेखिएका कविता सुनाए। युद्ध सिर्जनालाई उजागर गर्न आयोजित‘कम्ब्याड कविता’ कार्यक्रममा चार जना पूर्वलडाकु सर्जकले सिर्जनामार्फत आफ्ना सपना सुनाए।
धेरैका सिर्जनामा सपनाबीचमै तुहिएको र युद्ध गन्तव्यमा नपुगेको पीडा व्यक्त भयो। केहीले भने सपना कहिल्यै नतुहिने भन्दै हिजो बन्दुकबाट देखेको सपना आज कलम र सिर्जनाबाट देख्नुपर्ने राय राखे। सर्जक महेश मानवले रचनामार्फत आफूहरूले देखेको सपनाको बीउ नउम्रिएको भन्दै यति थोरै परिवर्तनका लागि युद्ध नगरेको बताउनुभयो। विचार छुटेपछि बन्दुक छुटेको औल्याउँदै उहाँले नेतृत्वले विचार छाड्नु मुख्य समस्या भएको बताउनुभयो।
त्यस्तै सर्जक डीएम निशारले क्रान्तिको नायक हराएको टिप्पणी सिर्जनामार्फत नै व्यक्त गर्नुभयो। ‘म काठमाडौं गइन्, काठमाडौं मलाई भेट्न आइन…’ यस्तै यस्तै भावनाका सिर्जना उहाँले सुनाउनुभयो। उहाँ रचना वाचन गर्दा भावविह्वल भएपछि हल नै स्तब्ध भएको थियो।

अर्का सर्जक पूर्वजनमुक्ति सेनाका कमान्डर क्षितिज मगरले आफूले युद्धकै मोर्चामा कविता लेख्ने गरेको सुनाउनुभयो। ‘प्रिय कमरेडको सम्झनामा’ कविता सुनाउँदै उहाँले यी कविता अब इतिहासको साक्षीका रूपमा बाँकी रहेको बताउनुभयो। अर्का सर्जक प्रेम प्रकाशले जनयुद्धमा देखिएका सपना अधुरै रहेको बताउनुभयो।
‘सपना अपुरो छ र त संघर्ष जारी रहन्छ, परिस्थिति बदलियो। हिजो बन्दुकबाट परिवर्तनको सपना देखियो। अबको समय कलम र कविताबाट परिवर्तनको सपना देख्ने हो’ –उहाँले भन्नुभयो। कम्ब्याट र नन्कम्ब्याटभन्दा पनि मुख्य विषय विचार भएको बताउँदै उहाँले सपना पूरा नभए पनि विचारमा विश्राम आउन नहुने बताउनुभयो।

युद्ध, कविता र सपनाबारे बोल्दै पत्रकार खेम बूढाले हिजो आमुल परिवर्तनको सपना देखेर युद्धमा होमिएका लडाकुहरू अहिले खाडीमा रहेको बताउनुभयो। त्यसमा पनि सिपाही जति खाडीमा र कमान्डरहरू विकसित देशमा रहेको औल्याउँदै उहाँले त्यतिबेला सपना सजाउनेहरू अहिले निराशामा रहेको टिप्पणी गर्नुभयो।

उहाँले अब परिस्थिति बदलिएकाले विचार पक्षीयभन्दा पनि देशपक्षीय भएर कमल चलाउनुपर्ने बताउनुभयो। कार्यक्रम सहजीकरण उदाहरण समूहकी अभियन्ता आशा ओलीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्