गम्भीरमान मास्केको सालिक अनावरण



नेपाल समाचारपत्र, काठमाडौं।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक अनावरण गरिएको छ।‘गुणस्तरीय शिक्षाका लागि हातेमालो’ भन्ने नारालाई आत्मसात् गर्दै स्थापित विश्व निकेतन–गम्भीरमान फाउन्डेसनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो। सालिकको शनिबार एक समारोह बीच अनावरण गरियो।

विद्यालयका पूर्वप्रधानाध्यापकहरू सत्यनारायण राजभण्डारी, कमला शाक्य, निर्मला गिरी तथा मास्केका समवयी मित्र डा. हेरम्बबहादुर राजभण्डारीले संयुक्त रूपमा सालिक अनावरण गर्नुभएको हो। स्वर्गीय मास्केको वार्षिकीको अवसर पारेर सालिक अनावरण गरिएको हो।

कार्यक्रममा पूर्वशिक्षिका मञ्जु अधिकारीले सरलता नै गम्भीरमान सरको परिचय भएको बताउनुभयो। ‘गम्भीरमान सरले अभिभावकत्व लिएर शिक्षक तथा विद्यार्थीलाई सदैव प्रोत्साहन गर्ने तथा प्रशासनिक प्रमुख भएर शिक्षक तथा कर्मचारीलाई मित्रवत् व्यवहार गर्नुहुन्थ्यो’ –अधिकारीले स्मरण गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल श्रेष्ठले शिक्षा क्षेत्रका अनुकरणीय तथा आदरणीय व्यक्तित्व गम्भीरमान सरका विद्यार्थीले सामाजिक संस्था गठन गरीकन उहाँको चिनो विद्यालयमा चिरस्थायी बनाएर प्रसंशनीय कार्य गरेको बताउनुभयो।

मास्केकी नातिनी डा. सफला मास्केले आफ्ना बाजेकाबारे स्मरण गर्दै भन्नुभयो– ‘उहाँले जहिल्यै पनि असल व्यक्ति बन्न प्रेरित गर्नुहुन्थ्यो। उहाँको त्यो गुण सबैका लागि अनुकरणीय छ।’संस्थाका तर्फबाट विन्द्रा कक्षपति प्रधानले गम्भीरमान सरको शिक्षाप्रतिको समर्पणलाई फाउन्डेसनले विस्तार गर्ने लक्ष्य राखेको बताउँदै आगामी दिनमा संस्थाले शिक्षाको उन्नयनमा विविध कार्य गर्ने बताउनुभयो। साथै उहाँले सालिक अनावरणको कार्यमा सहयोग पुर्याउने सँलग्न सबैलाई धन्यावाद पनि दिनुभयो।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना गुरुप्रति श्रद्धा अर्पण गर्न फाउन्डेसनमार्फत सालिक स्थापनको काम हुनु अनुकरणीय कार्य भएको बताउनुभयो। ‘विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्व निकेतन बुझिने जुन पर्याय बनेको थियो त्यसलाई सालिक स्थापनाले पूर्ण गराएको छ’– कँडेलले भन्नुभयो।

विद्यालयका पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारीले मास्केले सधैं राम्रो गरे राम्रै हुन्छ भन्ने गरेको स्मरण गर्नुभयो। ‘उहाँ राम्रो गरे, राम्रै हुन्छ भनिरनुहुन्थ्यो। सालिक स्थापना हुनु भनेको उहाँले भनेजस्तै राम्रै काम भएको हो। यसले सबैलाई विभोर गराएको छ’ –राजभण्डारीले भन्नुभयो।

फाउन्डेसनले यसअघि स्वर्गीय मास्केको जन्मदिन पारेर उहाँद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङगरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ।

मास्केको ८६ वर्षको उमेरमा गतवर्ष मंसिर १६ गते निधन भएको थियो। २०१७ सालमा अंग्रेजी विषय शिक्षकको रूपमा विश्व निकेतन प्रवेश गरी २०२३ देखि २०५१ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका मास्के एक अनुकरणीय शिक्षासेवी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्