नेतृत्वमा त्यागको अभाव



लोकतान्त्रिक आन्दोलनमा सात दशकभन्दा लामो समय योगदान दिएको पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकसाथ कार्यकारी पदबाट बाहिर बसी सल्लाहकारको भूमिका निर्वाह गर्नु पार्टीको हितमा हुने अवस्था सिर्जना भएकोे छ।

नेपाली कांग्रेसलाई इतिहासमै सबैभन्दा कमजोर बनाएर पनि देउवाले पुनः १४औं महाधिवेशनमा सभापति बन्ने सपना देख्नु नैतिक दृष्टिकोणले मात्र होइन नेकालाई पुरानो प्रभावमा फर्काउनका लागि पनि पद त्याग्नु आवश्यक भएको छ। देउवाका ठाउँमा पौडेल आएर पनि पार्टीमा कायापलट हुने सम्भावना देखिन्न।

उहाँहरूमा दशकौंदेखि एक–आपसलाई अस्वीकार गर्ने रोग छ जो आजीवन रहने देखिन्छ। कार्यसमितिको बैठकमा पौडेल पक्षको लगातारको बहिष्करणले उहाँहरू आ–आफ्नो अडानमा कतिसम्म दृढ हुनुुहुन्छ, देखिएको छ। यसको उपचार भनेको उहाँहरू एकसाथ सल्लाहकारमा ‘पदोन्नति’ हुनु मात्र हो।

विवादको पछिल्लो चुरो बनेको छ १४औं महाधिवेशन। सभापति देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहेको देखिन्छ भने वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेका छन्।

महाधिवेशनको एजेन्डा नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेको पौडेल समूहले लगातार आइतबार आह्वान गरेको बैठकमा पनि सहभागिता जनाएन। बिहीबारको बैठकमा विभागको संख्या बढाउने एजेन्डा प्रस्तुत गरिएको थियो। वरिष्ठ नेता पौडेलसँगको छलफलमा सभापति देउवाले पहिला विभाग गठन गर्ने र भ्रातृ संघ–संस्था बनाउने योजना सुनाउनुभएको थियो।

दुई महामन्त्री अनुपस्थित भएका बेलामा प्रस्ताव ल्याउने देउवाले लोकतान्त्रिक संस्कार र समन्वयको राजनीतिक जिम्मेवारी पूरा गरेको भन्ने अवस्था रहेन। बिहीबारको बैठकमा महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का अनुपस्थित भएपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा विभागको संख्या बढाउनेलगायतको प्रस्ताव ल्याउनुभएको थियो। ब

ढ्दै गएको विवाद मिलाउन संस्थापन पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता टोली गठन गरिएको अवस्था छ। देउवाको दबाबपूर्ण व्यवहारका कारण पनि हुन सक्छ अथवा असन्तुष्टिको अभिव्यक्तिका लागि पनि हुन सक्छ पौडेल आइतबार नै विराटनगरतिर लाग्नुभएको छ।

नेपाली कांग्रेस बीपी कोइरालाजस्ता विशिष्ट क्षमताका व्यक्तिबाट प्रतिपालित पार्टी भएका कारण पनि हुन सक्छ, देउवा र पौडेलको यस प्रकारको खिचातानीलाई पुराना कार्यकर्ताले बालहठको संज्ञा दिने गरेका छन्। उनीहरू सबैलाई थाहा छ, दललाई अधोगति लगाउने काम यही हठले गरेको हो, तर नेता रिझाउने संस्कार त्याग्न नसकेर खुलारूपमा बोल्नुहुन्न।

पार्टी एकठिक्का भएर अघि बढ्न नसकेसम्म तीन वर्षपछि हुने संघीय संसद्को निर्वाचनमा विजयी बन्न सक्तैन। हालै सम्पन्न उपनिर्वाचनमा हात लागेको केही उपलब्धि नेकालाई स्याबासीका रूपमा प्राप्त भएको होइन, सत्ताधारी नेकपाप्रतिको असन्तुष्टिको अभिव्यक्ति मात्र हो भन्ने प्रमाणित भइसकेको छ।

यी सबै यथार्थलाई गम्भीररूपमा लिएर देउवा र पौडेल सक्रिय नेतृत्वबाट बाहिर आउने र एक साझा व्यक्तित्वलाई दुवैले सघाउने हो भने मात्र कार्यकर्ता र समर्थकहरूले राहतको अनुभव गर्नेछन् र लोकतान्त्रिक अभियानलाई पनि सघाउ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्