यस्तो शोले नेता उत्पादन गर्ला र ?



अहिले टेलिभिजन प्रस्तोता रवि लामिछानेले रियालिटी शोबाट नेता छान्ने कार्यक्रम ‘द लिडर’ घोषणा गरेपछि सामाजिक सञ्जाल र मिडियामा यो निकै चर्चाको विषय बनेको छ। सामाजिक सञ्जालमा रियालिटी शोबाट नेता कसरी छान्न सकिन्छ ?

भनेर प्रश्न गर्नेको जमात धेरै देखिएको छ भने धेरैले शोमा निर्णायकको भूमिकामा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र रविन्द्र मिश्रको उपस्थितिका बारेमा समेत प्रश्न उठाएका छन्।

यो कार्यक्रमको घोषणासँगै अब नेता छान्ने बहस छेडिएको छ। केही महिनाअघि चितवनमा रवि लामिछानेको पक्षमा देखिएको जनमतलाई मानक बनाएर उनले राजनीतिमा योगदान गर्ने मनसायले अलि फरक बाटो अपनाएको सजिलै बुझ्न सकिन्छ।

धेरैको प्रश्न रियालिटी शोबाट नेता छानिन्छ त ? भन्ने छ। यसको सटिक उत्तर छानिदैन भन्ने नै हो। यसभन्दा अगाडि अहिलेको राजनीतिक पृष्ठभूमि राजनीतिप्रति वितृष्णा बढिरहेको देखिए पनि अहिलेको राजनीतिमा नयाँ विचार, पार्टी, नेताको इन्ट्री सजिलो देखिँदैन। अहिले राजनीतिमा खासगरी नेकपा र कांग्रेसको एक प्रकारको सिन्डिकेट नै रहेको छ।

कि त नेकपा, कि त कांग्रेस। भर्खरै सम्पन्न उपनिर्वाचनले पनि यसलाई प्रमाणित गरेको छ। यसभन्दा अघि हामीले लामो द्वन्द्व, मारकाट, अशान्ति र अस्थिरता भोग्यौं। त्यसपछि बिस्तारै स्थिरतातिर बढेको अहिलेको राजनीतिमा परम्परागत शक्तिभन्दा बाहिर रहेका शक्तिलाई खासै ठाउँ छैन अहिले।

किनकि संविधानअनुसार जनताको जनमत नै त्यस्तै छ। बेला–बेलामा सल्बलाउने वैकल्पिक शक्तिको राजनीतिलाई जनताले पत्याएका छैनन् र उनीहरूलाई पत्याउने ठोस कार्यक्रम र आधार पनि उनीहरूले तयार गर्न सकेका छैनन्। अब यस परिस्थितिमा देशलाई नयाँ नेता जन्माउने रविको यो रियालिटी शोको आवश्यकता किन र कसरी पर्यो ?

देशमा संघीय गणतन्त्र आएपछि अहिले स्थिरता हुने क्रममा छ। एउटा राजनीतिक अभ्यासमा छ देश अहिले। नयाँ छ, अलमल छ तर अगाडि त बढ्दै छ। अहिले यति सानो देशमा लगभग लाखको नजिक त निर्वाचित जनप्रतिनिधि नै छन्। भलै उनीहरूले ढंग पुर्याएका छैनन् तर शुरूवात त गर्दै छन्। अब प्रश्न आउँछ, रियालिटी शोमा प्रतियोगी आउँछन्, कहाँबाट ?

जितेपछि उसले कस्तो नेतागिरी गर्छ ? रविजीको ‘द लिडर’ मा आउने प्रतियोगिता त्यही कांग्रेसीको या नेकपाको छोरा–भतिजा नै हो या छोरी नै हो। त्यही राजपा या समाजवादीको छोराछोरी नै हो। त्यो उम्मेदवार जो नेता बन्छु भनेर यस शोमा आउनेछ, त्यो यही समाजको हो। अब तपाईंहरूले शोमा बोलाउनु हुनेछ, तालिम दिनु हुनेछ, प्रशिक्षण पनि दिनु हुनेछ, अनि पठाउनु हुन्छ कहाँ ?

त्यही कांग्रेस र नेकपाको भीडमा ? अर्को वैकल्पिक योजना छ भने अर्कै कुरा भयो। नत्र त ऊ कसरी नेता बन्न सक्छ अहिलेको परिस्थितिमा ? देशको नेता बन्न जनमतबाट चुनिनु अनिवार्य सर्त हो।

हो, यस शोबाट एउटा कुरा हुन सक्छ, त्यो प्रतियोगीको व्यक्तित्वमा निखार ल्याउन सक्नुहुन्छ। तर नेताको बिल्ला लगाउन सजिलो हुने देखिँदैन। यसको अर्थ शो नगर्नुस् भनेको होइन, शो गर्नुस् तर विज्ञापनदाताको सहयोगमा चल्ने टिभी कार्यक्रमले उत्पादन गर्ने नेता कस्तो नेता होला भन्ने प्रश्न मात्र हो।

यसै शोका जज बनेका डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकै हुन्, अर्थमन्त्री भएकै हुन्। अर्की जज प्रधानन्यायाधीशको कुर्सीबाट राजनीतिक दाउपेच हेरेकै हुन्। साझाका संयोजक रविन्द्र मिश्रजी पनि अहिले राजनीतिक दाउपेचको अभ्यास गर्दै छन्। सबैलाई प्रस्टसँग थाहा छ, समस्या कहाँ छ, औषधि के हो भनेर।

अब अहिले कस्तो देखियो भने रोग पनि थाहा छ, औषधि पनि थाहा छ तर फेरि डाक्टरको खोजीमा हिँडेको जस्तो देखिएको छ। यथार्थ धरातलबाट जन्मिएको नेतृत्वले समाज र आममानिसको सही प्रतिनिधित्व गर्न सक्छ। तर रियालिटी शोको मापदण्ड पूरा गरेर आउने नेता सैद्धान्तिकरूपमा राम्रै होलान् तर व्यावहारिक नेता खै कसरी उत्पादन होलान् र ?

– घनश्याम भुसाल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्