अभिनेता क्षत्रीको अज्ञात निधन



नाटकदेखि सानो–ठूलो पर्दाका विभिन्न सकारात्मक र नकारात्मक भूमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका अभिनेता दीपक क्षत्रीको शनिबार अज्ञात निधन भएको छ।

राजधानीका डिल्लीबजारस्थित डेरामा शुक्रबार राति सुतेका उनी शनिबार दिउँसो ढिलोसम्म नउठेपछि प्रहरीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन्। बेलुका ढोकामा चुक्कुल लगाएर आफ्नो कोठामा सुतेका क्षत्री शनिबार बिहान अबेलासम्म नउठेपछि छोराले प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत अवस्थामा भेटिएको जनाइएको छ।

लामो समयदेखि घाँटीको समस्याबाट पीडित अभिनेता तथा रंगकर्मी क्षत्रीको निधनका कारण खुलेको छैन। शनिबार उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो।

एक फिल्मको डबिङ गरेर घर फर्किएका दीपक बेलुका खानपिनपछि सुतेका थिए। दीपकको श्रीमती विपना बस्नेत (नक्कली हिसिला यमी) छोरीका साथ मलेसियामा थिइन् भने श्रीमान्को निधनको खबरपछि उनी आइतबार काठमाडौं फर्केकी छिन्।

केही समयअघि चलचित्र पत्रकार संघ नेपालको आह्वानमा विभिन्न संघ–संस्था र व्यक्तिहरूको पहलमा सहयोग पाएपछि नक्सालस्थित हिमाल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा क्यान्सरको पहिलो चरण पत्ता लागेको थियो। स्वर नलीमा मासु पलाएपछि स्वर गुमाएका उनको गत वर्ष स्वर नलीको शल्यक्रिया गरिएको थियो।

पछिल्लोपटक फिल्म छ माया छपक्कैमा अस्वस्थ वृद्ध नेताको भूमिकामा देखिएका दीपक करिब ३ दशकदेखि नाटक, सानो पर्दा र ठूलो पर्दाका फिल्ममार्फत कला क्षेत्रमा सक्रिय रहँदै आएका थिए। २०१७ सालमा ४ दिदी र एक दाइपछि छैटौं सन्तानका रूपमा इलाममा जन्मिएका उनको २ बहिनी र २ भाइ छन्। उनी सानैमा परिवारसँगै बसाइँ सरी दार्जिलिङ गएका थिए।

दाजिलिङमै हुर्के–बढेर प्लस टुसम्मको अध्ययनपछि हिरो बन्ने सपना बुनी मुम्बई गएका उनी आफ्नो सपना सहजै पूरा हुन नसकेपछि भवन निर्माणको काममा लागेका थिए।

पछि २०३८ सालमा दार्जिलिङबाट अमर राईको निर्देशनमा शुभकामना नामक नाटक लिएर नाट्य टोलीसँग काठमाडौं आई १ महिनासम्म नाचघरमा नाटक मञ्चन भएपछि टोलीका अन्य सदस्य दार्जिलिङ फर्किंदा दीपकचाहिँ काठमाडौंमै बसेका थिए।

प्रकाश सायमीको आधा पैसालगायतका नाटकमा अभिनय गर्दै ५ वर्षसम्म नाट्य क्षेत्रमा बिताएका दीपकले २०४३ सालमा प्रकाशले नै निर्देशन गरेको ब्रस इरेजर र क्यान्भास नामक नाटकमा एकल अभिनय गरी अवार्ड पनि जितेका थिए। अभिनय गर्दैगर्दा उनी अन्नपूर्ण होटलमा फ्रन्ट अफिसका जागिरे भएका थिए। होटेलमा जागिर गर्दै गर्दा अभिनयतिर पनि उत्तिकै सक्रिए थिए।

यसै क्रममा द रेड लामा नामक अंग्रेजी फिल्ममा क्यारेक्टर आर्टिस्टका रूपमा पहिलोपटक क्यामेरा फेस गरेका दीपकले निर्देशक प्रताप सुब्बाको फिल्म दिदीमा हिरोको भूमिकामा अभिनय गरेका थिए। चेतन कार्कीको विश्वासमा पनि काम गरेका दीपक प्रकाश सायमीकै फिल्म पृथ्वीबाट सशक्त खलनायकका रूपमा उदाउन पुगे।

सुनील थापा, पवन मैनाली, हेमन्त बुढाथोकीजस्ता एकसेएक खलनायकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने क्रममा दीपकले प्रकाश सायमीको हतियार र सिमाना, नारायण पुरीको आगो र शंकर राजकुमार राईको द कमान्डो, अशोक शर्माको नीरमायाका साथ माझीदाइ, झोला, बाटोमुनिको फूल, सेतो सूर्यलगायत २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

उनीलाई विशेष गरी खलचरित्रमा रुचाइएको थिए।नेपालमा टेलिभिजन भित्रिएपछि २०४२ सालबाट उनले टेलिफिल्महरूमा पनि अभिनय यात्रालाई अगाडि बढाएका थिए।

लय संग्रौलाको टेलिफिल्म युगको शिकारदेखि चेतना, देवी, थोरै भए पुगिसरी, जीवनचक्र, उद्घाटन, दशैंजस्ता चर्चित टेलिफिल्ममा सशक्त अभिनय गर्दै अगाडि बढेका उनले केही समयअघि नेपाल समाचारपत्रसँगको कुराकानीमा भनेका थिए– ‘अहिले पनि अभिनय नै मेरो क्षेत्र हो।

यो अस्वस्थताका बीच पनि अफर आए फिल्ममा काम गर्न तयार छु। फिल्म झोलामा मैले यस्तै स्वास्थ्य स्थितिका बीच काम गरेको हुँ। सहयोगी मन र हातहरूको सहयोगबाट अब त उपचार पनि पाउने भएको छु। त्यसैले स्वास्थ्य ठीक भए सिंगो जीवन यही क्षेत्रमा समर्पित गर्न चाहन्छु।’

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

 

प्रतिक्रिया दिनुहोस्