कालिञ्चोक : हेर्दा सुन्दर भोग्न कठिन



चिरञ्जीवी मास्के, दोलखा।

शुक्रबार बिहानैदेखि मौसममा बदलाब आएको थियो। कालिञ्चोकमा हिउँ फुसफुसाउन थाल्यो। काठमाडौं मूलपानीका अनिलमणि गजुरेल दम्पतीलाई यो एउटा रोमाञ्चक संयोग थियो।

कालिञ्चोक कुरीमा भेटिएका अनिलमणिले भन्नुभयो– ‘कालिञ्चोक आइपुग्दा अलौकिक आनन्द मिल्यो, जीवनमै पहिलोपटक हिमपातमा रमाउन पाउँदा थकाइ र चिसो सबै भुलेको छु।’

अप्सरा दंगाल गजुरेलले पनि कालिञ्चोक आइपुग्दा चारैतिर हिउँ देखेर साह्रै आनन्द लागेको बताउनुभयो। ‘पहिलोपटक हिउँसँग खेल्न पाएको छु, जीवनमा योभन्दा खुसी अरू केही हुँदैन जस्तो भएको छ।’ –अप्सराले भन्नुभयो।

भक्तपुरका सहदेव लामिछानेले पनि जीवनमा पहिलोपटक हिउँसँग खेल्ने मौका पाएका छन्। ‘यति धेरै हिउँ परेको पहिलोपटक देख्दा साह्रै खुसी लागेको छ, कालिञ्चोक त सुन्दर ठाउँ रहेछ।’ –सहदेवले भन्नुभयो।

३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको दोलखाको कालिञ्चोकमा शुक्रबार र शनिबार हिमपात भएपछि अहिले हिउँसँग खेल्दै हिमाल र रोमाञ्चक पहाडको दृश्यावलोकन गर्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न सयौंको संख्यामा पर्यटक कालिञ्चोक पुग्ने गरेका छन्।

यो वर्ष पहिलोपटक शुक्रबार बिहानदेखि रातभरि भारी हिमपात भएपछि कालिञ्चोकमा पर्यटकको चाप बढेको कुरीस्थित सुनपाती होटलका सञ्चालक हरि ओलीले बताउनुभयो।

काठमाडौंबाट चरिकोटसम्मको सडक बिग्रिएकाले केही महिनादेखि पर्यटक आवागमनमा मन्दी भएको तर शुक्रबारबाट हिमपातसँगै पर्यटकको संख्यामा समेत वृद्धि भएको कालिञ्चोक कुरीको होटल कन्ट्रिभिल्लाका सञ्चालक नवीन खड्काले बताउनुभयो। कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा ३ हजार ५ सय पर्यटक अट्न सक्ने क्षमताको ४० भन्दा बढी होटल रहेका छन्।

कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिन्छ। कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो। किम्बदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ।

कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान भएको जनविश्वास रहँदै आएको छ।कालिञ्चोक क्षेत्रमा भेडागोठहरू रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरू जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्बदन्तीसमेत प्रचलनमा रहेको छ।

धार्मिक मान्यताअनुसार दोलखा भीमेश्वरको दर्शन गरी कालिञ्चोकको दर्शन गर्यो भने मागेको कुरा पूरा हुने, रोगव्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वाससमेत रहँदै आएको छ।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया दिनुहोस्