बस दुर्घटनामा १५ तीर्थयात्रीको मृत्यु

‘चालकले ब्रेक लागेन भनेका थिए’



नानीराम नेपाल, सिन्धुपाल्चोक।

तीर्थ यात्राका लागि दोलखाको कालिञ्चोक पुगेर फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको यात्रुबाहक बस लामोसाँघु चरिकोट सडकखण्डको छकिलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

यात्रुसँग चालकले केही नभने पनि सँगै आएको अर्को बसका चालकसँग उनले ब्रेकमा समस्या देखिएको बताएका थिए। खाडीचौर झरेर मर्मत गर्ने मनसायले चालकले ब्रेक फेल भएको बस गुडाए। ‘हामी सँगै आएका थियौं, अलिमाथि पिसाब फेर्नका लागि रोकियौं’, उनीसँगै आएका अर्का बस चालकले भने– ‘ब्रेक लागेन भन्दै थियो, केही तल आएर दुर्घटना भयो।’

आइतबार बिहान पौने आठबजे सुनकोसी गाउँपालिका–७ स्थित छकिलोको मोडबाट बस खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुईको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। उपचारका क्रममा अर्का एक जनाको अस्पतालमै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सोही ठाउँकी ७ वर्षीया सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, बलेफी गाउँपालिका–७ की ३५ वर्षीया फूलमाया तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २४ वर्षीय महेश तामाङ रहेका छन्।

त्यसै गरी दोलखा शैलुङ गाउँपालिका–६ की १० वर्षीया रजिता बस्नेत, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गंगामाया लामा, दोलखा भीमेश्वर नपा–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा शैलुङ–६ की ३२ वर्षीया चिनु बस्नेत, काभ्रे बेथान–५ का ३६ वर्षीय रामशरण खत्री, सोही ठाउँकी ३५ वर्षीया मैयाँ केसी र रामेछाप सुनापति–६ की ४२ वर्षीया जुनुमाई तामाङको मृत्यु भएको छ। अर्का एक जनाको भने आइतबार अबेरसम्म सनाखत हुन सकेको छैन।

दुर्घटनामा परी घाइते भएकालाई तत्काल अस्पताल पुर्याइएको थियो। घाइतेहरूको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल, काभ्रेको धुलिखेल अस्पताल, काठमाडांैस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये चार जनाको अवस्था भने गम्भीर छ।

ब्रेक फेल भएको बस जबरजस्ती गुडाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनास्थलभन्दा करिब १ किलोमिटर माथि उक्त बस यात्रुलाई पिसाब फेर्नका लागि रोकिएको थियो। चालकले बसको ब्रेक फेल भएको बताएका थिए। यात्रुसँग चालकले केही नभने पनि सँगै आएको अर्काे बसका चालकसँग उनले ब्रेकमा समस्या देखिएको बताएका थिए।

खाडीचौर झरेर मर्मत गर्ने मनसायले चालकले ब्रेक फेल भएको बस गुडाए। ‘हामी सँगै आएका थियौं, अलिमाथि पिसाब फेर्नका लागि रोकियौं’, उनीसँगै आएका अर्का बस चालकले भने– ‘ब्रेक लागेन भन्दै थियो, केही तल आएर दुर्घटना भयो।’घुम्तीमा चालकले होस नपुर्याउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

‘ब्रेक फेल भएको पनि हुन सक्छ, तर चालकले होस नपुर्याउँदा दुर्घटना भएको देखिन्छ।’ –जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले भन्नुभयो। प्रत्यक्षदर्शीका अनुसार बस अन्दाजी एक सय मिटर तल खसेको थियो।

माथिल्लो मोडबाट चार बल्ड्याङ खाएर तल्लो मोडमा आइपुगेको थियो। दुर्घटनामा घाइते भएका जुगल गाउँपालिका–७ का धनकाजी तामाङका अनुसार मोड काट्नै लाग्दा ब्रेक लगाएजस्तो ठूलो आवाज आएको थियो।

अचानक बसभित्र धूवाँधूलोको मुस्लो उठ्यो, क्षणभरमै भीरबाट बल्ड्याङ खायो अनि तल्लो मोडमा बजारियो। ‘मर्नेहरूले ऐया भन्नसम्म पाएनन्, मलाई पनि बाँच्छुजस्तो लागेकै थिएन’, टाउकाबाट रगत बगाउँदै गरेको अवस्थामा घटनास्थलमा भेटिएका धनकाजीले भने– ‘दैवले बचाए, नयाँ जीवन पाएँ।’

उनका अनुसार चालकले स्टेरिङमा समस्या रहेको संकेत गरेका थिए। ‘ब्रेकमा पनि समस्या छ भनेको सुन्नासाथ बस त बल्ड्याङ खाइहाल्यो।’ –उनले भने।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8

प्रतिक्रिया दिनुहोस्