अस्पतालमा बन्धक सुत्केरीलाई मदरल्याण्ड माविको सहयोग



टंकराज अधिकारी, पोखरा ।

पोखरा ७ मासवारमा रहेको मदरल्याण्ड माविले २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोहको शुभारम्भ गरेको छ । २०५१ सालमा स्थापित बिद्यालयले आईतवार सम्पूर्ण अभिभावक, विद्यार्थी तथा अन्य विशिष्ठ व्यक्तित्वहरूको समुपस्थितिमा रजत जयन्ती समारोहको शुभारम्भ गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने सो समारोहमा बिद्यालयले पोखराको शैक्षिक जगतमा उल्लेख्य योगदान पु¥याउनु भएका शिक्षाविद् जोर्ज जोन र नेपाली स्वर्णीम सङ्गीत अनि साहित्य सिर्जनामा क्रियाशील नारीप्रतिभा हरिदेवी कोइरालालाई सम्मान गरिएको थियो ।

सो अवसरमा बिद्यालयले विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा जुम्ल्याहा सन्तान जन्माएर पछि अस्पतालको उपचार खर्च वापतको रकम बुझाउन नसकी बन्धक भएकी सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका ८ तोपाकी ललीतादेवी खंगलाई ५० हजार ५ रुपैया सहयोग गरिएको बिद्यालयका प्रिन्सीपल नारायण बरालले जानकारी दिनुभयो ।

सोेहि समारोहमा विद्यालयको शैक्षिक उन्नयनमा लामो समयसम्म आफ्नोे अमूल्य श्रम गरी योगदान पु¥याउनु हुने शिक्षक शिक्षकाहरू इन्द्रप्रसाद पौडेल, अजय कुँवर, डिल्लीराम भट्टराई, कविराज सुवेदी, केशु शर्मा, विन्दा मल्ल, विन्ध्यश्वरी मल्ल, विष्णु पराजुली, देवकुुमारी गुरुङ तथा जमुना गुरुङ लगाएतलाई दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो । साथै मदरल्याण्डलाई ज्ञानार्जनको थलो बनाई अहिले विभिन्न विषयमा विशिष्टता प्राप्त गर्न सफल व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

 

कार्यक्रममा सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले विद्यार्थी, अभिभावक र विद्यालयको मधुर समन्वयबाट मात्रै शिक्षा र सिकाइ सम्भव हुने धारणा राख्नु भएको थियो ।

त्यस्तै कास्की क्षेत्र नं २ बाट भर्खरै भएको उपनिर्वाचनबाट निर्वाचित सांसद विद्या भट्टराईले मदरल्याण्डले शैक्षिक क्षेत्रमा जुन सफलता र ऐतिहासिक उपलब्धि हाँसिल गरेको छ त्यसमा अझै चुली थप्न सकोस् भनी शुभेच्छा प्रकट गर्नु भएको थियो ।

विश्वमा नै आँखा उपचारका क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व डा. सन्दुक रुइतले विद्यालयमा अध्ययनरत बालबालिकाहरूसँग अन्तरक्रिया गरी कार्यक्रमलाई अझ रोचक र सशक्त बनाउन रुइतले उल्लेखनीय भूमिका खेल्नु भएको थियो ।

विद्यालयका संस्थापक निर्देशक तथा रजत जयन्ती मूल समापन समारोहका संयोजक डा.त्रिभुवन शर्माको सभापतित्व पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, सिर्जना माविका प्राचार्य डोलराज पाण्डे तथा समग्र अभिभावकका तर्फबाट कमल पराजुलीले आ आफ्ना भनाई राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्