चलचित्र निर्देशक समाजमा हेटौंडेली



न्युज अफ नेपाल, हेटौंडा ।

चलचित्रका निर्देशकहरुको छाता संगठन चलचित्र निर्देशक समाजले नयाँ नेतृत्व पाउँदा पहिलोपटक हेटौंडेली निर्देशक पनि चुनिएका छन् । समाज सदस्यमा हेटौंडाका सुरेश न्यौपाने चयन भएका हुन् ।

मकवानपुरगढी गाउँपालिका मक्राञ्चुलीमा जन्एिका न्यौपाने हाल हेटौंडा–५, सानोपोखरामा बस्दै आएका छन् । ८ वर्षदेखि फिल्मी क्षेत्रमा लागेका न्यौपाने शनिबार चलचित्र निर्देशक समाजको केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका हुन् ।

न्यौपानेले २५ वटा चलचित्रमा निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । जसमा ‘छक्कापञ्जा’, ‘ड्रिम्स’, ‘क्री’, ‘यात्रा’, ‘ए मेरो हजुर–२’, ‘म यस्तो गीत गाउँछु’ उनका चर्चित चलचित्र हुन् ।

सदस्यमा चयन भएपश्चात् उनले मकवानपुरलाई फिल्मसिटीको रुपमा स्थापित गर्ने योजना रहेको जानकारी गराए । उनका अनुसार मकवानपुर क्षेत्र फिल्मका लागि भौगोलिक दृष्टिले सम्भावना रहेका कारण फिल्मसिटी बनाउन जरुरी रहेको न्यौपानेले बताए । उनले भने–हेटौंडा आउँदा मुख्यमन्त्री तथा अन्य सम्बन्धित निकायका व्यक्तिसँग यस विषयमा छलफल गर्नेछु । उनी ओस्कार अवार्डको लागि तयारी गरिरहेका छन् ।

‘चलचित्र क्षेत्रबाट नै म मेरो मकवानपुर र नेपाललाई चिनाउन चाहन्छु । यसका लागि सबै मकवानपुरबासीको साथ र सहयोग चाहिन्छ,’ उनले भने । उनले मेहनत र जाँगर पनि चलाए सफलता हात पर्ने बताए । निर्देशक समाज केन्द्रीय सदस्यका रुपमा आफूले यस क्षेत्रमा परिवर्तन गर्न सक्दो प्रयास गर्ने उनले बताए ।

चलचित्र सम्पादनबाट निर्देशनमा होमिएकी रक्षा राणा नयाँ अध्यक्ष निर्वाचित भएकी हुन् । निर्देशक समाजले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । यसअघि सुचित्रा श्रेष्ठले अध्यक्षको रुपमा कार्यकाल पूरा गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्