चोरिएरै सकियो पोलका डस्टबिन



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाले करिब तीन वर्षपश्चात् हेटौंडा बजार क्षेत्रमा फेरि राखेको डस्टबिन चोरी भएका छन् । यो क्रम बढ्दो देखिएको छ ।

नगरपालिकाले डस्टबिन राख्ने योजनासहित नयाँढंगले बिजुलीको पोलमा झुण्ड्याएर ‘पैदलयात्रीको फोहोरमात्र मलाई’ भन्दै करिब ६ महिनाअघि सञ्चालनमा ल्याएको थियो । हाल पोलहरुमा डस्टबिनका अड्याउन बनाइएको फलामे रडमात्र भेटिन्छन् ।

करिब ३ वर्षअघि नगरपालिकाले हेटौंडा बजारमा व्यापारी तथा घरबेटीका कारण विभिन्न समस्या आइपरेपश्चात् डस्टबिन हटाएको थियो । जेठमा पैदलयात्रुले डस्टबिन माग गरेसँगै नगरपालिकाले उक्त माग सम्बोधन गर्दै नयाँढंगले डस्टबिन पुनः सञ्चालनमा ल्याएको हो ।

पहिला डस्टबिन बजार क्षेत्रका भुईंमा फलामे डण्डीमा राखेर ‘फोहोर मलाई’ भनिन्थ्यो भने हालको बिजुलीको पोलमा झुण्ड्याएर ‘पैदलयात्रीको फोहोरमात्र मलाई’ भनेर राखिएको छ ।

करिब ७० हजार लागतमा नगरपालिकाले हेटौंडाको कान्तिराजपथ, पारिजातपथ, सानोपोखरा, हुप्रचौर, बसपार्कलगायत बजारका भित्री सडकका पोलहरुमा पैदलयात्रुका लागि राखिएको डस्टबिन चोरी भएको उपमहानगरपालिकाका वातावरण महाशाखा शाखा अधिकृत ध्रव भुजेलले बताउनुभयो ।

दुई सय थान डस्टबिन त्यस बेला एक पोललाई छाडेर राखिएका थिए । तर, राखिएका पोलमा एक दर्जन डस्टबिन पनि देख्न मुस्किल छ । भएका डस्टबिन राम्ररी प्रयोगमा आएको देखिन्छ । पैदलयात्रुले मात्र नभएर व्यापारी तथा घरबेटीले डस्टबिन प्रयोग गरेको सहज अनुमान लगाउन सकिन्छ ।

अधिकृत भुजेलले भने–ब्यापारी आफंैले डस्टबिन राखे सहज हुने थियो । नगरपालिकाको प्रणालीमा ‘पैदलयात्रीको फोहोर मलाई’ भनेर स्लोगनसहित राखेको डस्टबिन प्रभावकारी हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । यस कार्यलाई नियमितरुपमा सफल पार्न महिनामा एकपटक डस्टबिन राखिएको ठाउँ अनुगमनका लागि जाने भनिएको थियो ।

तर, नगरपालिकाले अनुगमनमा लापरबाही गरेको पनि उहाँले स्वीकार गर्नुभयो । ‘अब हामी यसलाई सुधार्दै लानेछौं, अनुगमनसमेत हुनेछ । यसको लागि चोरी भएका ठाउँमा नयाँ डस्टबिन राख्छौं,’ भुजेलले भन्नुभयो ।

वैशाख २५ गते ‘सोच बदलौं, देश बदलिन्छ’ स्वच्छ हेटौंडा सफा हेटौंडा अभियानअन्तर्गत् साकार शिवाकोटीको नेतृत्वमा युवाले नगर उपप्रमुख मीना लामासँग डस्टबिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । त्यसकै पहलमा नगरपालिकाले डस्टबिन उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्