सडक दुर्घटना न्यूनिकरण गर्न सवारी चालकको स्वास्थ्य परिक्षण



किरन धामी, दार्चुला ।

सडक दुर्घटनालाई न्युनिकरण गर्न दार्चुलामा सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । जिल्ला आँखा अस्पताल दार्चुला र आँखा अस्पताल दार्चुलाको प्राविधिक सहयोगमा सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख हिक्मत सिंह महताले जानकारी दिनुभयो । पछिल्लो समय चालककै लार्पवाहीका कारण सवारी दुर्घटना बढेको भन्दै सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय दार्चुलाले महिनामा एक दिन अनिवार्य रुपमा सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गर्दै आइरहेको छ । गत आर्थिक वर्ष २०७५‐०७६ को असार देखी हाल सम्म ट्राफिक प्रहरीले सवारीहरु सडकमै रोकेर सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गरिरहेको छ । प्रहरीले आइतबार मात्रै ३० जना सवारी चालकहरुको स्वास्थ्य चेकजाँच गराएको छ ।

ट्राफिक प्रहरीले गत आवको असारमा २०, चालु आर्थिक वर्ष २०७६‐०७७ को साउनमा २१, भाद्रमा २३, असोेजमा २६ र कार्तिकमा २८ र मंसिरमा ३० जना गरी १ सय ४८ जना सवारी चालकको स्वास्थ्य चेकजाँच गराएको छ । सवारी चालकहरुको आँखा जाँच, रक्तचाप नापेर स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका प्रमुख महताले बताउनुभयो ।

सवारी चालकले आँखा कम देख्नु, रक्तचाप बढी वा कम हुनुले सवारी दुर्घटना बढ्ने गरेको पाइएको छ । चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे समेत चेकजाँच गरिएको उहाले जानकारी दिनुभयो । आइतबार स्वास्थ्य परिक्षण गरिएका ३० जना सवारी चालक मध्ये एक दुई जनामा रक्तचाप बढेको पाइएको उहाले बताउनुभयो । आइतबार जिप, ट्याक्टर र मोटरसाईकल चालकहरुको स्वास्थ्य चेकजाँच गरिएको उहाले बतानुभयो ।

प्रतिक्रिया दिनुहोस्