बर्षा र हिमपातले विमानस्थल कालोपत्रको काम ठप्प



विनोद सिंह विष्ट, बैतडी ।

बर्षा र हिमपातले गर्दा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको ३ दिनदेखि अवरुद्ध भएको छ । बर्षाले गर्दा विमानस्थल कालोपत्रेको काम शुक्रवारदेखि पूर्ण रुपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ ।

निर्माण कम्पनीका इन्जीनियर पुरन रावलका अनुसार कालोपत्रे गर्नको लागि आवश्यक पर्ने तापक्रम नपुग्दा काम ठप्प रहेको छ । कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्र चाहिन्छ उहाँले भन्नुभयो “चाहिने आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन लाग्न सक्छ । ”

कम्तीमा पनि बुधवारसम्म पर्खिनुपर्ने देखिएको उहाँको भनाई छ।

वि स २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य सहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछी मंसिर २५ गतेदेखि मात्रै सुरु भएको थियो ।

लामोसमयपश्चात कालोपत्रेको काम सुरु भएपनि बर्षाले गर्दा झनै काम प्रभावित भएको हो । लगातार रुपमा काम गर्न सकियो भने अबको २० दिनमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीको दाबी रहेको छ ।

ठेक्का भएको केही समय नेपाल बन्द र बर्षा भएकोले सुरुमा काम गर्न नपाएकोले ढिला गरि कालोपत्रेको काम सुरु भएको हो ।

बिमानस्थल कालोपत्रेपश्चात अन्य संरचना बनाउन अझै समय लाग्नेछ । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भईरहेको छ ।

विमानस्थल कालोपत्रेपश्चात छिट्टै सञ्चालनमा आए सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने स्थानीय बसन्त विष्टले बताउनुभयो । विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका पर्यटकिय गन्तब्यसम्म पर्याउन सहज हुने विष्टको भनाई छ ।

बैतडीका एसियाकै गहिरो गुफा पताल भुवनेश्वर, सरकारले घोषणा गरेको १०० पर्यटकिय गन्तब्यमा पर्न सफल त्रिपुरा सुन्दरी लगायत थुप्रै धार्मिक तथा पर्यटकियस्थलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्