लिगमा मच्छिन्द्रको विजय सुरुआत



नेपाल समाचारपत्र, काठमाडौं।

सानमिगेल मच्छिन्द्र क्लबले यस सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजय शुरुवात गरेको छ। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मच्छिन्द्रले बिगे्रड ब्वाइज क्लब (बीबीसी) लाई २–० ले हराएको हो।

टोलीको जितमा योगेश गुरुङले पहिलो हाफमा र दोस्रो हाफमा दीपक राईले गोल गरेका हुन्। जितसँगै मच्छिन्द्रले ५० हजार नगद सुरक्षित गर्यो।

एन्फाले प्रत्येक जितको लागि टोलीलाई ५० हजार दिइने प्रावधान राखेको छ। त्यस्तै बराबरी भएमा दुवै टोलीलाई १५÷१५ हजार दिइने प्रावधान रहेको छ।

योगेशले ३०औं मिनेटमा रिबाउन्ड बललाई गोलमा परिणत गरेर मच्छिन्द्रलाई १–० को अग्रता दिलाएका थिए। विशाल राईले गरेको फ्रिकिक प्रहार बीबीसीको क्रसबारमा ठोकिएको थियो।

सोही बल रिबाउन्ड हुँदा अनमार्कमा रहेका योगेशले हेड गरेर गोल गरेका थिए। यसअघि मच्छिन्द्रका लागि रन्जित धिमालले दुई वटा प्रहार गोलमा परिणत गर्न चुकेका थिए।

यस्तै ४९औं मिनेटमा दीपकले डिबक्सभित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो, जुन गोलले मच्छिन्द्रको जित सुनिश्चित गरेको थियो। यसपछि कुनै गोल नभएपछि मच्छिन्द्रले ३ अंक जोड्यो।

तर गत सिजनमा १३औं स्थानमा रहेकोले टोलीको यस सिजनमा १ अंक काटिएको छ। गत सिजनमा बिना रेलिगेसनको लिग सञ्चालन भएको थियो। खेलका म्यान अफ दि म्याच मच्छिन्द्रका विशाल राई घोषित भए। उनले १० हजार रुपियाँ प्राप्त गरे।

मच्छिन्द्रले यसपटक लिगका लागि ९ जना राष्ट्रिय खेलाडीलाई समावेश गरेको छ, जसमा अभिषेक रिजाल, विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, हेमन गुरुङ, रन्जित धिमाल, सुजल श्रेष्ठ, सूर्य अधिकारी र योगेश गुरुङ रहेका छन्।

त्यस्तै क्लबले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई कप्तानीको भूमिका दिइएको छ। महर्जन गत सिजनमा मनाङ मस्र्याङदी क्लबबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्