साग विजेता साइक्लिङका बुद्धि सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ। युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो।

बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दुरीमा स्वर्ण जितेका थिए। सागको साइक्लिङमा नेपालले एकैपटक ४ स्वर्ण जितेको छ। युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले बुद्धिलाई प्रशंसापत्र र नगद १० हजार रुपियाँ प्रदान गरी सम्मान गरे।

ललितपुरका खेलाडी सम्मानित

ललितपुर जिल्ला कराते महासंघले १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत कराँतेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ।

करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कांस्य जितेका थिए।

स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो। काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार नगद पुरस्कार दिइयो। सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो।

तेक्वान्दो खेलाडीलाई पनि सम्मान

नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित संघकै भवनमा एक कार्यक्रमबीच सागमा पदक विजेता आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ। स्वर्ण जित्नेलाई ५० हजार, रजत जित्नेलाई २५ हजार र कांस्य जित्नेलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको हो।

त्यस्तै जोडीतर्फ स्वर्ण जित्नेलाई २५ हजार र समूहगत स्वर्ण विजेतालाई २० हजार नगद प्रदान गरियो। नेपालले १३औं सागमा तेक्वान्दोतर्फ सर्वाधिक १२ स्वर्ण हासिल गरेको थियो, जसमा आयशा शाक्यले व्यक्तिगत र जोडीमा गरी दुई स्वर्ण हात पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्