लगानीकर्तालाई उत्साह ल्याएको साता



नेपाल समाचारपत्र, काठमाडौं।

सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्दै गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि देखिएको छ। लगानीकर्ताले लाभांश सुरक्षित गर्न खोज्दा परिसूचकमा वृद्धि देखिएको हो।नेपाल स्टक एक्सचेन्जका अनुसार गएको साता परिसूचक ३७.२७ अंकले बढेको छ। साताभर २ अर्ब ५६ करोड रुपियाँभन्दा बढी कारोबार भएको छ।

लघुवित्त र बीमा कम्पनीका लगानीकर्ताले अन्य समूहका लगानीकर्ताले भन्दा धेरै कमाएका छन्। यी समूहका कम्पनीले उच्च लाभांश घोषणा गर्दै आएका छन्। नेप्सेमा करिब ४० अंकको वृद्धिसँगै समग्र परिसूचकमा पनि उच्च वृद्धि भएको छ।

एक सातामा लगानीकर्ताको सम्पत्ति करिब ५० अर्ब रुपियाँले बढेको छ। अघिल्लो साता १४ खर्ब ३७ अर्ब ५० करोड रुपियाँ रहेको समग्र पुँजीकरण यस साता बढेर १४ खर्ब ८९ अर्ब ५८ करोड रुपियाँभन्दा बढी पुगेको छ।

साताभरको कारोबार रकमका आधारमा एनएमबि बैंक अगाडि देखिएको छ। यस बैंकको १३ करोड ९३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस्तै डिप्रोक्स लघुवित्त र नेपाल बैंकको ९ करोड रुपियाँको कारोबार भएको छ।

तर, शेयर कारोबार संख्यका आधारमा यस साता माच्छापुच्छ्रे बैंक अगाडि देखिएको छ यस। बैंकको ४ लाख ७ हजार कित्ता शेयर किनबेच भएका हुँदा एनएमबी बैंकको भने ३ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ।

नेप्सेका अनुसार साताभर नेपाल दूरसञ्चार कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतका कम्पनी ठूलो पुँजीकरण भएको कम्पनीमा समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्